
१५ असार, काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ ।
अघिल्लो वर्ष प्रकाशित मध्ये प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरुमध्ये निर्णायक समितिले गरेको सिफारिस अनुसार पहिलो चरणको उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूचि सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ ।
विस्तारित पुस्तकको सूचीमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानी घट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सुन्धुलीयको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा. नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून छन् ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गर्दै पहिलो चरणको उत्कृष्ट यिनै १५ पुस्तकहरुमध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने जानकारी दिएका छन् ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।
प्रतिक्रिया 4