
१५ असार, काठमाडौं। शुक्रबार संसद भवन नयाँ वानेश्वरमा ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रम थियो। अतिथि थिए कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ ।
करिब १० मिनेट सम्बोधन गरेका उनले दुई वटा शब्द पटक-पटक उच्चारण गरे। पहिलो -विद्यार्थी हुँ। दोस्रो-गुरुआमा ।
तीन पटक सांसद भइसकेका कानुनमन्त्री गुरुङले आफू संसदीय भूमिका र अभ्यासमा विद्यार्थी नै रहेको बताए। नयाँ नयाँ विषयहरु आइरहने र नयाँ सांसदहरुको भूमिका कारणले पनि आफूलाई विद्यार्थीका रुपमा आफूले पाउने बताए।
आफूलाई विद्यार्थीका रुपमा प्रस्तुत गरेका कानुनमन्त्री गुरुङले पटक-पटक महिला सांसदहरुलाई गुरुआमा भनेर सम्बोधन गरे। उमेरमा आफू भन्दा कम उमेरको भएपनि प्रस्तुती परिपक्क देखेका कारण गुरुआमा भनेको उल्लेख गर्दै उनले अन्यथा नलिन पनि आग्रह गरे।
‘हेर्दा उमेरमा मभन्दा कान्छी माननीय हुनुहोला। तैपनि तपार्इंहरुको अभिव्यक्ति अत्यन्त पाको आउँछ। त्यस्तो अभ्यास म पनि कसरी अभ्यास गरौं जस्तो लाग्छ। त्यसो भएर मैले गुरुआमा भनेँ’ कानुनमन्त्री गुरुङले थपे, ‘माफ गर्नुहोला फेरि ए हामी माननीयहरुलाई गुरुआमा भन्यौ नभन्नुहोल । सम्मान भावले गुरुआमा भनेको हुँ।’
जन्मदिने आमा, जन्म दिने पितालाई पहिलो भगवान मान्ने गरेको उल्लेख गर्दै उनले त्यसपछिको सम्मान गुरुलाई गर्ने गरेको बताए ।
संसदमा पुरुष सांसदहरुको तुलनामा महिला सांसदहरुको प्रस्तुती अध्ययनपूर्ण रहने गरेको पनि उनले बताएका छन्। उनी भन्छन्, ‘संसदमा महिला माननीयहरुको मेहनत बढी छ। बरु हामी जानेर/नजानेर छेउ न टुप्पो नमिलाएर बोल्छौं। यस विषयमा महिला माननीयहरु गम्भीर हुनुहुन्छ।’
संविधान त महिलालाई उपसभामुख बनाउनुपर्ने बाध्यता रहेकाले त्यसो हुने गरेको उल्लेख गर्दै उनले आगामी दिनमा सभामुख र राष्ट्रियसभा अध्यक्ष दुवैमा महिला माननीय भएको हेर्ने चाहना रहेको पनि उनले बताए।
प्रतिक्रिया 4