+
+

धान–चामल आयातमा लाग्यो ‘ब्रेक’

चालु आर्थिक वर्षमा नेपालको आयात नै १६ प्रतिशतले घटेकाले धान–चामल पनि कम आएको छ । तर, भारतले धान–चामल निर्यातमा लगाइदिएको २० प्रतिशत भन्सार नै यिनको आयात घट्नुको प्रमुख कारण भएको व्यवसायीहरू बताउँछन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार १५ गते १९:५५

१५ असार, काठमाडौं । लामो समयपछि नेपालमा धान चामल आयात ठूलो परिमाणले घटेको छ । सरकारी तथ्याङ्‍कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको जेठसम्म ४४ करोड ७५ लाख किलो कम धान चामल र कनिका आयात भएको पाइएको हो । आयात परिमाण घटेसँगै धान चामलका लागि विदेशिने रकमसमेत ११ अर्ब ६६ करोड रुपैयाँले घटेको छ ।

चालु आर्थिक वर्षको जेठसम्म नेपालमा ३३ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको ७२ करोड ४५ लाख किलो धान चामल र कनिका आयात गरेको छ । गत वर्ष यसै अवधिमा ४५ अर्ब २९ करोड ७५ लाख रुपैयाँबराबरको १ अर्ब ०८ करोड किलो धान चामल नेपाल भित्रिएको थियो ।

चामल आयातमा ठूलो गिरावट

भन्सार विभागका अनुसार यस अवधिमा चामलको आयातमा ठूलो गिरावट आएको छ । गत वर्षको ११ महिनाको तुलनामा चामलको आयात १४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीले घटेको हो ।

गत वर्ष जेठसम्म २८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको ५३ करोड किलो चामल नेपाल भित्रिएकामा चालु आवको जेठसम्म १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल नेपाल भित्रिएको छ । परिमाणका हिसाबले चामलको आयात गत वर्षको तुलनामा ३२ करोड ९७ लाख किलो भन्दा धेरैले घटेको देखिन्छ ।

धान आयात उस्तै, बिउ आयात घट्यो

विभागका अनुसार चामलसँगै धानको बिउको आयात पनि घटेको छ । गत वर्षको तुलनामा धानको आयात भने करिब करिब उस्तै देखिएको छ । यस अवधिमा १८ अर्ब ९० करोड रुपैयाँ बराबरको ५० करोड ६७ लाख किलो धान नेपाल भित्रिएको छ । गत वर्ष १६ अर्ब ७९ करोड रुपैयाँका धान नेपाल भित्रिएको थियो । यस्तै, चालु आवमा ७५ करोड ६३ लाखको धानको बिउ आयात गरेको छ । गत आवमा ८७ करोड ५ लाख को बिउ आयात भएको थियो ।

यस्तै कनिकाको आयातमा पनि गिरावट आएको छ । चालु आवमा २८ अर्ब ३० करोडको ८८ लाख किलो भन्दा धेरै कनिका आयात भएको छ । गत आवको यसै अवधिमा एक अर्ब ३८ करोड रुपैयाँको ४ करोड ५६ लाख किलो कनिका आयात भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले ३३ अर्ब ६५ करोडको धान–चामल आयात गरेको थियो । आव २०७७/७८ मा ५० अर्ब ७८ करोडको धान चामल आयात भएकामा आव २०७८/७९ मा ४६ अर्ब ५७ करोड रुपैयाँको धान–चामल आयात भएको थियो ।

किन घट्यो आयात ?

चालु आर्थिक वर्षमा नेपालको आयात नै १६ प्रतिशतले घटेको छ । धान-चामलको आयात तुलनात्मक रुपमा धेरैले घट्नुमा भारतको व्यापार नीति प्रमुख कारण भएको व्यवसायीहरू बताउँछन् ।

नेपाल धान-चामल संघका अनुसार भारतले धान र चामल निर्यातमा २० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेपछि नेपालमा आयात घटेको हो ।

संघका अध्यक्ष सुबोध गुप्ताका अनुसार भारतले धान, चामलको निर्यातमा २० प्रतिशत भन्सार लगाउने र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । त्यही भएर आयातमा कमी आएको हो । तथापि, भारतले नेपाललाई ६ लाख मेट्रिक टन धान भने शून्य भन्सार महसुलमा उपलब्ध गराउने निर्णय गरेको र सो धान अहिले नेपाल भित्रिरहेको गुप्ताले बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार नेपालको बढ्दो जनसंख्याअनुसार धानको उत्पादन हुन नसकेकाले यसमा परनिर्भरता बढेको हो ।

केन्द्रका धानविज्ञ डा. सुशील सुवेदीका अनुसार नेपालको धानमा उत्पादकत्व बढ्दै गए पनि बढ्दो जनसंख्यालाई भात नै खुवाउन भने यो उत्पादन वृद्धिले थेग्न सक्ने अवस्था देखिंदैन ।

एउटा अध्ययनले नेपालको विगत ५४ वर्षमा धान उत्पादन वृद्धि र जनसंख्या वृद्धि हेर्दा धान वृद्धि १.५ प्रतिशत छ भने जनसंख्या वृद्धि २.३ प्रतिशत छ । धान अपुग हुँदै जाने पहिलो आधार यही हो । सुवेदीका अनुसार नेपालमा प्रतिव्यक्ति चामल खपत वार्षिक १३७.५ केजी छ ।

नेपाललाई धानमा आत्मनिर्भर हुन करिब ७९ लाख ३७ हजार मेट्रिक टन चाहिने देखिन्छ । त्यसमध्ये ६८ लाख ९० हजार मेट्रिक टन धान चामल नै बनाउन आवश्यक छ ।

यस्तै, १० लाख ४७ हजार टन धान अन्य प्रयोजन जस्तै पेय पदार्थ, पशु आहारा र बिउको रूपमा प्रयोग भइरहेको छ । नेपालमा वार्षिक करिब ४ सय २० लाख लिटर मदिरा बनाइने गरेको तथ्याङ्‍क छ, जसमध्ये २० प्रतिशत चामलबाट बन्ने अनुमान छ ।

नेपालमा वार्षिक ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ भने करिब २४ लाख मेट्रिक टन अपुग देखिन्छ । यो भनेको करिब १२ देखि १४ लाख मेट्रिक टन चामल अपुग हुनु हो ।

नोट : यसअघि समाचारमा प्रस्तुत तथ्याङ्‍क अन्यथा पर्न गएकोमा सच्याइएको छ । सं‍.

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?