
१५ असार, पोखरा। १८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखरा-१३, कसेरी फाँटमा गरिएको छ।
स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो।
पर्यटनको ‘अफसिजन’ मानिने बर्खामासमा पनि विदेशी पाहुनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम अहिले महोत्सवकै रुपमा अघि बढेको महोत्सवका संयोजक कृष्ण भण्डारीले बताए।
‘कृषि उत्पादनलाई बढावा एकातिर छ। अर्कोतिर यसको मुख्य उद्देश्य भनेकै पर्यटन प्रवद्र्धन हो। पोखरा सबै मौसमका लागि भन्ने नारासहित हामीले यो महोत्सव गरेका हौं,’ भण्डारीले भने, ‘अफसिजनमा पनि पर्यटक तान्ने गरी पहिचान बनाउन महोत्सव सफल छ।’
आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बर्सेनि फरकफरक ठाउँमा महोत्सव गर्दै आएकोमा यसपटक ‘रोयल ट्रेक’को प्रवेशद्वारमा आयोजना गरिएको बताए। उनले बर्सेनि गरिने रोपाइँ महोत्सवले विदेशी पाहुना तान्न सफल भएको बताए।
पोखरा महानगर मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहे पनि महोत्सवले उत्पादनसहित पर्यटनलाई टेवा पुर्याइरहेको बतए।
उनले पोखरा महानगरको अधिकांश भाग अझै पनि कृषि भूभाग रहेकाले कृषिमै आत्मनिर्भर बनाउने गरी महानगरले कार्यक्रम ल्याएको सुनाए।
‘कुनैबेला पोखराका फाँटहरुमा धान उत्पादनमा चर्चित थिए। अहिले घटिरहेको छ। तर, खेती गर्ने जमिन नै नभएको भने सत्य होइन,’ मेयर आचार्यले भने, ‘महानगरले पनि पोखरेली जेठो बुढो, चैते धानलगायत उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याएको छ। कम्तिमा कृषिमा पोखरालाई आत्मनिर्भर बनाउने योजना छ।’
महोत्सवका अवसरमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो भने आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता आदि गरिएको थियो ।
रोपाइँ सकिनेबेला बल्ल ३० प्रतिशत धान रोपाइँ
मनसुन ढिलो भित्रिएका कारण अघिल्लो वर्षको तुलनामा यसवर्ष कम क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र कास्कीले जानकारी दिएको छ। असार १५ गतेसम्म कास्कीमा जम्मा ३० प्रतिशतमात्रै रोपाइँ भएको ज्ञान केन्द्रकी सूचना अधिकारी मञ्जु अधिकारीले जानकारी दिइन्।
अघिल्लो वर्ष असार १५ गतेसम्म कास्कीका करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको अधिकारीको भनाइ छ। ‘यो वर्ष पानी नै ढिलो पर्यो। अहिले बल्ल पर्न थालेको छ। कतिपय ठाउँमा त अझै पनि पर्याप्त पानी नहुँदा रोपाइँ नै सुरु हुन सकेको छैन,’ अधिकारीले भनिन्, ‘अघिल्लो वर्षभन्दा यो वर्ष अल्लि ढिलो हुने भयो।’
हेर्नुहोस् थप तस्वीरहरु :
प्रतिक्रिया 4