
१५ असार, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाएको छ भने १८ करोड रुपैयाँ विगा तथा जरिवाना भराउने आदेश गरेको हो ।
२ चैत २०६९ चैतमा आयल निगमका कार्यकारी निर्देशक भएका खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार, खड्कालाई दोषी ठहर गर्दै १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । उनलाई विगो बमोजिम ९ करोड १९ लाख ६ हजार ६३४ रुपैंया ६४ पैसा र त्यति नै जरिवाना हुने आदेश भएको छ ।
प्रवक्ता योगीले भने, ‘अख्तियारले खड्काको घर, जग्गा, बैंकमौज्दात र शेयर जफत गर्न मागदाबी लिएको थियो । त्यो सबै जफत गर्ने आदेश भएको छ ।’
खड्काले श्रीमती शर्मिला खड्का र अर्का अनिता लामा सोदेम्बाको नाममा सम्पत्ति लुकाएको दाबी गरेको थियो । उनीहरुको नाममा ३ कित्ता घरजग्गा रहेकोमा विगोको हदसम्म जफत गर्ने आदेश भएको विशेष अदालतका प्रवक्ता योगीले बताए ।
प्रतिक्रिया 4