
१६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसदमा सभामुखको मात्र नभई पूर्वसभामुखहरूको पनि फोटो राख्नुपर्ने बताएकी छन् ।
६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पूर्वसभामुखहरूको फोटो नराख्नुमा पूर्वाग्रह हो कि भन्ने आशंका पनि गरेकी छन् ।
आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।
‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ?’ उनले प्रश्न गरिन् ।
उपसभामुख रानाले अगाडि भनिन्, ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । पूर्वसभामुखहरूको हाम्रोमा त छैन । वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।”
* यसअघिको समाचारमा उपसभामुखले संसदमा आफ्नो फोटो नराखेकामा असन्तुष्टि जनाएको भनी भुलवश उल्लेख भएकोले सच्याएका छौं ।
प्रतिक्रिया 4