+
+

दुई महिनामा बस्नुपर्ने कांग्रेस केन्द्रीय बैठक एक वर्षसम्म बस्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १४:२०

१७ असार, काठमाडौं । विधानतः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । विधान अनुसार केन्द्रीय समिति बैठक नियमित बस्दै आएको भए महाधिवेशन पछि दशपटक बैठक बस्नुपर्ने बेला भइसक्यो ।

कांग्रेसमा महाधिवेशन र महासमिति बैठक पछिको सर्वोच्च निकाय केन्द्रीय समितिमा आफ्नो धारणा राख्न नपाउँदा केन्द्रीय सदस्यहरुको औचित्य र भूमिकालाई नेतृत्वले बेवास्ता गरेको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

महाधिवेशन सकिएपछि भएका दुई बैठकमा मात्रै केन्द्रीय सदस्यले धारणा राख्न पाएका छन् । अरु तीन बैठक औपचारिकता लागि बोलाइएको थियो । जसमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बसेको थियो ।

पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको थियो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन ।

केन्द्रीय सदस्यहरुले बैठक बस्न माग गर्दै आए पनि सभापति शेरबहादुर देउवाले टार्दै आएका छन् ।

केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै कार्यालयमा पत्र नै दर्ता गरेका छन् । ‘पार्टीका लागि विगतको ११ महिना निकै आरोह अवरोहपूर्ण रह्यो । नीतिगत एवं राजनैतिक अध्ययन अनुसन्धानका दृष्टीले पेचिलो मात्र होइन, सैद्धान्तिक वैचारिक स्खलन एवं छवि विघटनका दृष्टिले समेत निकै पिडादायी रह्यो,’ आचार्यले बैठक माग गर्दै ११ असारमा दर्ता गरेको पत्रमा लेखिएको छ ।

गत माघमा देउवा पक्षका केन्द्रीय सदस्यहरुकै छलफलमा जुटेर बैठकको माग गरेका थिए । केन्द्रीय सदस्यद्वय नैनसिंह महर र मीन विश्वकर्माको अगुवाइमा उक्त बैठक बसेको थियो ।

विश्वकर्मा हाल पार्टीको शक्तिशाली प्रचार विभागको प्रमुख छन् । ‘केन्द्रीय समितिको बैठक नहुँदा पार्टीले गति लिन सकेको छैन । पदाधिकारीबाट पनि केन्द्रीय समिति बैठक बोलाउन आवाज नउठाएको जस्तो लाग्छ,’ केन्द्रीय सदस्य महर भन्छन्, ‘पार्टी रुपान्तरणको विषय होस् वा नीति महाधिवेशन बोलाउने कुरा होस् । छलफल गर्ने सर्वोच्च निकाय केन्द्रीय समिति हो ।’

पछिल्लो घटनाक्रम विश्लेषण, नीति महाधिवेशन, महासमिति बैठक, विभाग गठनका लगायतमा छलफल गर्न केन्द्रीय सदस्यहरुले बैठकको माग गर्दै आएका छन् ।

महाधिवेशन पछि ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशनको मिति हालसम्म टुंगो लाग्न सकेको छैन । नीति महाधिवेशन गर्ने मिति तय गर्न केन्द्रीय समितिको बैठक बस्नुपर्दछ । चुनावी गठबन्धनले पार्टीले तिन तहमा पहिलो सरकार भएपनि मनोवैज्ञानिक क्षति व्यहोर्नु नेताहरु टिप्पणी गर्छन् । कार्यकर्ता तहबाट आउने अनेक प्रश्नबाट केन्द्रीय सदस्यहरु घेरिएको आचार्य बताउँछन् ।

पार्टीभित्र उठेका अनेक सवालको समीक्षा गर्ने थलोको बैठक नै एक वर्षदेखि बस्न नसकेकोमा उनले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

चुनावी समीक्षा गर्न भन्दै बोलाइएको बैठक स्थगित गरेपछि पुन बोलाउने सुरसार सभापति देउवाले गरेका छैनन् । पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारेर अनिश्चितकालका लागि रोकिएको थियो । तत्कालीन समयमा बैठक स्थगित गर्नुको उद्देश्य पुरानो गठबन्धन ब्युँताउनका लागि थियो । पुस १० मा सत्ता गठबन्धन टुटेको थियो । माओवादीलाई पुरानै गठबन्धनमा फर्काउन कांग्रेसका नेताहरु तल्लिन रहेपछि केन्द्रीय समिति बैठक रोकिएको थियो । पुरानो गठबन्धन ब्यँुतिएपनि केन्द्रीय समितिको बैठक डाकिएन ।

नेताहरुका अनुसार पछिल्लो समय २८ बैशाखमा केन्द्रीय समिति बैठक बोलाउने सभापति देउवाले तयारी गरेको थिए । २७ बैशाखमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि बैठक झनै अनिश्चित बनेको थियो ।

अर्कोतर्फ, भ्रातृ संस्थाको तदर्थ समिति गठन नहुँदै केन्द्रीय समिति बैठक बोलाउँदा पार्टी कार्यालयमा नाराबाजी हुने भय पनि छ ।

यसबीचमा महिला संघ र तरुण दलको तदर्थ समिति बनाइएको छ । नेपाल विद्यार्थी संघले भने पूर्णता पाउन सकेको छैन ।

प्रचार विभाग प्रमुख विश्वकर्मा असार मसान्त आसपास केन्द्रीय समिति बैठक बस्ने बताउँछन् । ‘बैठक नबस्नुपर्ने कारण त केही थिएन । यो भएपछि बसौँला । त्यो भएपछि बसौँला भन्दै पर पर स¥यो । अब बस्छ,’ विश्वकर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?