+
+

सडक बने ‘सकस मार्ग’ : पहिरो पन्छाउने मात्रै कि रोक्ने पनि ?

सडकमा खस्न सक्ने पहिरोहरू रोक्न सिन्को नभाँच्ने सरकार वर्षायाममा बाटो रोकिरहेका पहिरो पन्छाउन पनि सुस्त गतिमा काम गरिरहेको छ। यसले यात्रीका लागि सडकहरु ‘सकस मार्ग’ बन्न पुगेका छन्।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असार १७ गते २३:५५

१७ असार, काठमाडौं । वर्षायाम लागेदेखि नै देशका विभिन्न भागमा राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकहरु अवरुद्ध छन् । राजधानी काठमाडौं, पर्यटकीय शहर पोखरा लगायत क्षेत्रका लागि लाइफलाइन सडक खण्डका रुपमा परिचित ‘मुग्लिन–नारायणगढ सडकखण्ड’ पटक–पटक घण्टौंसम्म अवरुद्ध भइरहँदा सार्वजनिक तथा निजी सवारीका यात्री प्रभावित छन् ।

मालवाहक सवारीहरु पनि राजमार्गमा नै रोकिंदा काठमाडौंको आपूर्ति प्रणालीमा समेत असर गरिरहेको छ । ४ वर्षअघि डेडिकेटेड २ लेनमा विस्तार गरेसँगै वर्षै साल यो सडकखण्डका नयाँ–नयाँ ठाउँमा पहिरोहरु खसिरहेका छन् । यो खण्डमा जानसक्ने पहिरोहरुबारे विश्व बैंकले अध्ययन गरिरहँदा पहिरोले चरम सास्ती दिएको छ । करिब ४० करोड खर्च गरेर भएका काम पहिरो रोक्न पर्याप्त भएको छैन ।

यो खण्डबाहेक कान्तिराजपथ बाढी पहिरोले पूर्वपश्चिम राजमार्गसहित मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग, मदनभडारी राजमार्गका विभिन्न खण्डहरुमा पटक–पटक पहिरोले अवरोध पुर्‍याइरहेको छ । सिद्धबाबा क्षेत्रको पहिरोले यात्री  अलपत्र पर्ने क्रम कम भएको छैन ।

सडकमा खस्न सक्ने पहिरोहरू रोक्न सिन्को नभाँच्ने सरकार वर्षायाममा बाटो रोकिरहेका पहिरो पन्छाउन पनि सुस्त गतिमा काम गरिरहेको छ। यसले यात्रीका लागि सडकहरु ‘सकस मार्ग’ बन्न पुगेका छन्।

सडकहरुमा पहिरो खसेपछि पन्छाउन ढिलाइ गरिएको गुनासो यात्रीहरुले गर्ने गरेका छन् । तर, सडक विभागले भने निरन्तर वर्षा भइरहँदा पहिरो पन्छाउन नसकिएको बताइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारी सकेसम्म छिटो पहिरो हटाएर सडक खुलाउन खोजिए पनि निरन्तरको भारी वर्षाले काम रोकेको बताउँछन् । ‘पहिरो पन्छाउन पर्याप्त हेभी मेसिनहरु ठाउँ–ठाउँमा राखिएका छन्’ उनले भने, ‘अनुमान नै नगरिएका नयाँ–नयाँ ठाउँमा पहिरो खस्दा समस्या परेको हो ।’

घण्टौं जाममा पर्दा धेरै यात्री चिउरा र चाउचाउ खाएर भोक मेटिरहेका छन् । स्थानीय होटलहरुमा छोइनसक्नुको महँगी छ । जाममा गाडी रोकिंदा कसैको परीक्षा छुटिरहेको छ भने कसैको विदेश जाने फ्लाइट । कोही बिरामी सडकमै रोकिएका बसमा औषधि अभावले छटपटाइरहेका छन् । महिला, बालबालिका र वृद्धवृद्धा यात्रीलाई थप सास्ती छ ।  यसका कारण देशको सार्वजनिक सडकहरू व्यवस्थापनमा प्रश्न उठेको छ ।

सार्वजनिक सडक पूर्वाधारका विज्ञहरु भने वर्षा अगावै सडक र सडक तल–माथिका भागहरुकाे अवस्थाबारे अनुगमन नगर्दा यस्ता पहिरो रोकथाम हुन नसकेको बताउँछन् । यसैका कारण वर्षायाममा सडकमार्ग भएर यात्रा गर्दा ठूलो सकस भोग्नुपर्ने अवस्था आइपरेको छ ।

सडक पक्की बनाउन ध्यान दिने सरकारले सडकको सुरक्षा र प्रबलीकरणमा पटक्कै चासो नदिंदा सडकमार्गहरु सवारी र यात्रीका लागि ‘सकस मार्ग’जस्तै बनिरहेकाे उनीहरुको टिप्पणी छ ।

सडकलाई सुरक्षित बनाउने सहायक संरचना तयार गर्नुभन्दा सडक सञ्जालको लम्बाइ बढाउँदा बढी राजनीतिक लाभ प्राप्त हुने भएकाले पनि सडकको मर्मतसम्भार र सुरक्षा पक्षको मजबुती प्राथमिकतामा पर्न नसकेको बताउँछन् भौतिक पूर्वाधार मन्त्रालयका पूर्व सहसचिव शिव नेपाल ।

‘अहिले त हाम्रोमा सडकको पहुँच पुर्‍याउने कुरा प्राथमिकतामा छ, त्यसैकारण सडक सुरक्षाको कुराले धेरै महत्व पाएका छैनन्’ उनी भन्छन्, ‘वर्षाअघि नै सडक र राजमार्गका तल–माथिको भौगोलिक अवस्थालाई हेरेर मर्मतसम्भारको काम गर्न सकियो भने यस्ता पहिरो कम हुन्छन्, तर त्यसका लागि बजेट नै राख्ने वातावरण बनेको छैन ।’

उनको भनाइमा सडक बनाउन राखिने एक करोड खर्च गर्न गाह्रो छैन । तर, मर्मतका लागि स–सानो कामहरु धेरै गर्नुपर्ने भएकाले त्यति नै रकम खर्च गर्न पनि धेरै श्रम, शक्ति र सयम खर्चिनुपर्छ । त्यसैका कारण बिग्रिएपछि मात्रै सडक मर्मत गर्ने परिपाटी बसेको उनको भनाइ छ ।

‘पहिरो रोक्ने गरी मर्मत र सम्भारका लागि बजेट राखियो भने दुरुपयोग हुन्छ भन्ने आशंका जनाउने कार्यशैली पनि छ, सम्बद्ध पक्षहरुले यस्ता मर्मतसम्भारको महत्व नबुझ्दा पनि समस्या भएको हो’ उनी भन्छन्, ‘मर्मतसम्भारको महत्व बुझेर सडकहरुको सुरक्षा अवस्थाबारे अनुगमन गर्ने संयन्त्रहरु नै परिचालित गर्ने वातावरण तयार गर्न जरुरी छ ।’

वर्षामा बढी समस्या

पछिल्लाे समयमा सरकारले कालोपत्रे सडकको तथ्यांक बढाउँदै लगेको छ, त्योभन्दा ठूलो दरमा सडकको गुणस्तर र सडक सुरक्षासम्बद्ध समस्या बढ्दै गएको देखिन्छ । अहिले देशभरका धेरै राजमार्ग, प्रादेशिक मार्ग र स्थानीय सडकहरुमा सवारी चल्न सकेका छैनन् । वर्षायाम भर्खरै सुरु भएकाले सडकमा हुने क्षतिको आँकडा बढ्ने अनुमान छ ।

नेपालमा राजमार्गमा खाल्डा टाल्ने कामका लागि हरेक वर्ष ठूलो बजेट खर्च हुन्छ । तर, सडकमाथिका भित्ता र तलका कान्लामा समस्या नपरेसम्म फर्केर पनि हेर्ने गरिएको छैन ।

पुराना राजमार्गका तल–माथिका भित्ताहरु जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएका छैनन् । प्राकृतिक प्रकोपबाट मात्रै हैन, सवारी दुर्घटनाबाट जोगाउन आवश्यक पर्खाल, साइनबोर्ड, तारबार, संकेत चिह्नहरु नराख्दा पनि सडक असुरक्षित बनेको छ ।

सडक सुरक्षालाई महत्व नदिइँदा वर्षैपिच्छे बाढी र पहिरोको चपेटामा अर्बौं लगानीका सडकहरु बग्ने र भत्किने गरेका छन् । सडकको सुरक्षातर्फ ध्यान नदिंदा धेरै व्यक्तिले दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।

सडक अवरुद्ध हुँदा हुने आर्थिक नोक्सानीको हिसाब नै गरिंदैन । काठमाडौंको लाइफलाइन सडकहरु नै पहिरोबाट ग्रसित छन्, जसले यात्रीलाई घण्टौं जाममा बस्न बाध्य मात्रै बनाउँदैन, कृषिजन्य तथा खाद्य समग्री बाटैमा कुहिने अवस्था समेत आउँछ ।

‘१० हजार गाडी गुड्ने राजमार्ग केही घण्टा रोकिंदा मानौं कि २ करोडको नोक्सान हुने होला, तर त्यसलाई एक करोडको मर्मत गरेको भए त्यस्तो अवस्था नआउन सक्थ्यो भन्ने कुरै बुझिंदैन’, पूर्व सहसचिव नेपाल भन्छन् ।

२०३१ सालमा खुलेको पृथ्वी राजमार्ग २०४८ सालमा आवधिक मर्मत गर्दा भित्तातर्फ सुधारको काम भएनन् । सवारीको अत्यधिक चाप झेलिरहेको पूर्व–पश्चिम राजमार्ग २०४२ सालमा बनेपछि भत्किंदा टाल्नेबाहेक पुनर्निर्माण (रिह्याब) भएको छैन ।

कतिपय खण्ड भत्किंदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माणमा चासो दिएको छैन । अब चार लेनमा सडक विस्तार गर्दा पनि राजमार्गका दयाँ–बायाँ प्रकोपबाट हुने जोखिम घटाउने गरी बलिया पूर्वाधार बनाउनेतर्फ खासै योजना बनेका छैनन् ।

विज्ञका अनुसार राजमार्गहरुलाई खाल्डामुक्त र सुरक्षित बनाउने हो भने निश्चित समयको अन्तरालमा पुनर्निर्माणको काम गर्नु अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रत्येक राजमार्गलाई ७ देखि १० वर्षमा पुनर्निर्माण गर्नुपर्छ ।

तर, नेपालमा अहिलेसम्म नयाँ सडक बनाउनु नै प्राथमिकतामा रहेकाले यस्तो महत्वपूर्ण विषयलाई ध्यान दिन नपाइएको बताउँछन् सडक विभागका अधिकारीहरु । यसैकारण वर्षामा सडकहरुमा हुने क्षतिको दर पनि हरेक वर्ष बढ्दै जान थालेको छ ।

राजमार्गहरुमा पछिल्ला वर्षहरुमा बाढी र पहिरोले विगतको भन्दा ठूलो क्षति पुर्‍याएको छ । नयाँ–नयाँ ठाउँमा प्रकोपबाट बढी क्षति भइरहेको छ । विभागका अनुसार वर्षाको समयमा मात्रै हैन, हिउँदमा पनि सडकहरुमा सुख्खा पहिरो खस्ने समस्या छ ।

मर्मतमा छैन ध्यान

विज्ञहरुका अनुसार मर्मतका नाममा सडकमा वर्षौंदेखि राजमार्गमा पिचमाथि पिच थप्ने काम हुँदै आएको छ । तर, सडकलाई बाढी र पहिरो जस्ता जोखिमबाट जोगाउन भने पर्याप्त बजेट विनियोजन नै गरिंदैन ।

राजमार्गको खाल्डा टाल्न समेत बजेट अभाव भएको बताउने विभागले नभत्किई र नबिग्रिई सडकका दयाँबायाँ नयाँ पर्खाल लगाउने काम अपवाद हो । राजमार्गहरुमा माथिबाट पहिरो खस्ने, सडकमै भासिने लगायत समस्या यसै कारण बढ्दै गएको विज्ञहरुको भनाइ छ ।

विगतमा बनेका संरचना जीर्ण भएकाले अब मर्मतका लागि विशेष योजना नै आवश्यक भएको सडक विभागका अधिकारीहरु नै बताउँछन् ।

सडकको आडैमा बगिरहेका र सडकबाट ‘क्रस’ हुने नदी, खोला र खोल्सा र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । वर्षामा ठूलो भेल आउँदा त्यसले पुल र कल्भर्टमा सीधै क्षति पुर्‍याउने गरेको छ ।

बिग्रिएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडकहरुमा यसखालका समस्या आउने गरेको बताउँछन् पूर्वाधारविद् सूर्यराज आचार्य । ‘नेपालको चुरे र महाभारत पर्वत जस्ता संवेदनशील भूबनोटमा बन्ने सडकमा समस्या रहनु स्वाभाविक हो, तर हामी समस्या आउन नदिन पूर्वसावधानी र तयारी गर्ने पक्षमा काम नै गर्दैनौं’ उनी भन्छन्, ‘ट्रयाक खोलेर साधारण पर्खाल लगाउने र ग्राभेलमाथि पिच हालेपछि हात बाँधेर बस्ने प्रवृत्तिले नै समस्या बढाइरहेको छ ।’

सडक खन्दा र बनाउँदा खल्बलिएका भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग गर्ने प्रयत्न नै नहुने समस्या पनि देखेका छन् विज्ञ आचार्यले । तोकिएको भारभन्दा गह्रुङ्गा मालसामान बोकेर गाडीहरु गुड्दा हुने कम्पनले राजमार्गका पर्खाल लगायत संरचना कमजोर बनेका हुन्छन् । तर, त्यसलाई समय–समयमा जाँच गरेर बलियो बनाउने गरी काम हुन नसकेको विज्ञहरुको भनाइ छ ।

नेपालका राष्ट्रिय राजमार्ग बनाउँदा भू–गर्भको अध्ययन गरेर सडकको माथि र मुनिका ‘स्लोभ’ भागलाई मजबुत राख्न ठोस योजना नबन्नु दुःखद् भएको बताउँछन् पूर्वाधारविद् आचार्य ।

‘सडक निर्माणको काममा लापरबाही हुन्छ, राष्ट्रिय राजमार्गहरुको डिजाइनको मापदण्ड नै बाढी र पहिरोबाट जोगाउने खालको छैन, भएका कतिपय मापदण्ड पनि मिचेर लापरवाहीपूर्वक सडक बनाइन्छ’ उनी भन्छन्, ‘हाम्रो जस्तो भू–बनोट र मौसम भएको मुलुकमा हाइड्रोलोजिकल र जिओलोजिकल अध्ययन तथा इन्जिनिरिङ विना बन्ने सडकहरुमा कालान्तरमा आउने समस्या यस्तै त हुन् ।’

सडक विभागका पूर्व उपमहानिर्देशक राजेन्द्र शर्मा अयोग्य क्षेत्रको पहिचान गरेर मात्रै सडक बनाउन सके समस्या कम हुने बताउँछन् । ‘प्रकोपबाट प्रभावित हुनसक्ने क्षेत्रबाट सडक नलैजाने हो भने यो समस्या धेरै कम हुन्छ’ उनले भने, ‘यसका लागि त पर्याप्त अध्ययन अनुसन्धान नै हुनुपर्छ ।’

शर्माका अनुसार अहिलेसम्म सडक बनाउँदा भूगर्भशास्त्री र भूगर्भप्रविधि इन्जिनियरको सल्लाह लिने प्रचलन बसेको छैन । बजेटको अभावका कारण यसतर्फ ध्यान दिन सरकार चुकिरहेको उनी बताउँछन् । ‘खर्चिलो हुन्छ भनेर सडकको सुरक्षातर्फ खासै ध्यान दिइँदैन’ उनले भने, ‘तर त्यसको महँगो मूल्य भने राज्यले पटक–पटक चुकाइरहनुपर्छ ।’

सडक संरचनालाई स्थिर र बलियो राख्न आवश्यक थप संरचनाहरु बनाउन आवश्यक रहेको उनको मत छ । बीपी राजमार्गमा जापानले प्रयोग गरेका प्रविधिलाई पछ्याउने हो भने पनि सडकमा बाढी र पहिरोबाट हुने ठूलो क्षति कम गर्न सकिने शर्मा बताउँछन् ।

मुग्लिन–नारायणगढ सडक खण्डमा ३६ ठाउँमा सडकमाथिबाट पहरो झर्न नदिने प्रविधि प्रयोग गरिएको छ । तर, ती बाहेकका अन्य ठाउँमा पहिरो खसिरहेका छन् ।

अन्य राजमार्गमा त्यस्ता वैज्ञानिक प्रविधिको प्रयोग भएको छैन । तर, अत्यावश्यक देखिएका स्थानमा मात्रै पहिरो रोक्न काम गर्दा नयाँ–नयाँ ठाउँमा प्रकोपको असर देखिने गरेको छ ।

यसै पनि धेरैजसो सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, लगाएको पर्खाल ढलिहाल्ने, पुलहरुमा समस्या आइहाल्ने, सडकमा ढिस्को उठ्ने लगायत समस्याको दोष नागरिकले सरकारमाथि लगाउँछन् र सरकारले ठेकेदारमाथि । अनि, ठेकेदार सरकारलाई नै दोष दिएर उम्किन्छन् ।

यसरी एक–अर्कालाई हिलो छ्याप्ने गरिए पनि यसको मूल कारण भने सडकको पुनर्निर्माण नगर्नु नै भएको बताउँछन् पूर्वयातायात सचिव तुलसीप्रसाद सिटौला । ‘राजमार्गहरु मात्रै हैन, शहरी सडकको हाल पनि उही हो । पुराना सडकलाई पुनर्निर्माण (रिह्याब) नगरेसम्म समस्या बल्झिरहन्छ’, उनी भन्छन् ।

विज्ञहरुका अनुसार कालोपत्रे नटिक्ने र पहिरो खसिरहने समस्याले सडकको कन्तबिजोग हुँदा दुर्घटनाको जोखिम बढ्दो छ । अहिले सडक मर्मत गर्दा पर्खाल लगायतका सहायक संरचनातर्फ आँखा नलगाउने प्रवृत्ति छ ।

यसैकारण विस्तार र स्तरीकरणको नाममा कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसावबाट कमजोर बन्दैछन्, जसले करोडौं लगानी खेर जाने जोखिम बढ्दो क्रममा छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारी वर्षै साल नयाँ नयाँ क्षेत्रमा ठूलो वर्षात् भएर सडकमार्गहरुमा समस्या आइरहेको बताउँछन् । यसपालि पूर्वको ताप्लेजुङ, पाँचथर, संखुवासभा लगायत क्षेत्रका सडकमा बढी समस्या देखिएका छन् भने विगतमा मेलम्ची, साँफेबगर, मनाङ क्षेत्र जोड्ने सडकमा बढी समस्या देखिएका थिए ।

‘बाढी–पहिरो सम्भावित क्षेत्रलाई ध्यानमा राखेर ९३ ठाउँमा पहिरो यन्त्र उपकरणहरु राख्दा पनि चुनौती थपिएका छन्’ उनी भन्छन्, ‘वर्षाअघि पहिरो सम्भावित क्षेत्र पहिचान गरेर रोकथामका लागि सडक विभागले बायोइन्जिनियरिङ गर्दै नगरेको हैन, तर अस्वाभाविक खालका वर्षाहरुका कारण नतिजा आएन ।’

पूर्वसहसचिव नेपाल नेपालमा सडक बनाउने सुरुआती चरणकै प्रक्रियामा समस्या देख्छन् । सडक विभागले प्राविधिक रुपमा योग्य एलाइनमेन्ट छनोट गरेर ‘भर्जिन ल्यान्ड’मा विरलै सडक बनाउन पाएको उनको भनाइ छ ।

‘स्थानीयवासी, स्थानीय तह र अन्य निकायले ट्रयाक खोलिसकेका सडकमा हामी स्तरोन्नति गर्न र पक्की बनाउन पुग्छौं, हाम्रा प्राविधिकले नै सर्भे गरेको सडक भए पनि न्यून बजेटमा काम गर्नुपर्छ’ उनी भन्छन्, ‘भूप्राविधिक रुपमा अनुपयुक्त देखिए पनि लगानी भइसकेको सडकको एलाइनमेन्ट परिवर्तन गर्न सहज हुँदैन, त्यसमाथि नयाँ रुटमा जाँदा जग्गा पाइने सम्भावना पनि हुँदैन ।’

विभागका अनुसार यसरी बनेका सडकहरुबाट पनि मनलाग्दी शाखा सडकहरु खोल्ने क्रम बढेको छ । यसले पनि राजमार्ग र सडकहरुमा जोखिमलाई बढाइरहेको पूर्वसहसचिव नेपाल बताउँछन् ।

‘स्थानीय तहसँग आफ्नै डोजरहरु छन्, जहाँ मन लाग्यो त्यहींबाट जथाभावी शाखा सडक निकाल्दा राजमार्गहरुमा जोखिम बढ्दो छ’ नेपाल भन्छन्, ‘यस्तो कामलाई रोक्न सम्भव भएको छैन ।’

अहिले विभागले आकस्मिक अवस्थामा आउनसक्ने आकलन गरेर बनाएको योजनाअनुसार मात्रै सडक सुरक्षाको व्यवस्थापन गरिरहेको छ । त्यसअनुसार विगतमा समस्या आएका क्षेत्र वरपर वर्षा लागेपछि मेसिन र अपरेटर लगेर राख्ने र बाढी पहिरो आएमा तुरुन्तै काममा खटिने योजना विभागले बनाएको हुन्छ ।

त्यसैगरी पहिले बाढी र पहिरोले दुःख दिएका स्थानमा पनि रोकथामको प्रयत्न हुन्छ । तर, आर्थिक स्रोतको अभावमा यो काम पनि प्रभावकारी ढंगले हुन पाउँदैन ।

विभागका अधिकारीहरुका अनुसार अहिलेसम्म सडक पक्की बनाउने र नयाँ–नयाँ सडक तयार गरेर सञ्जालको लम्बाइ बढाउने कुरा नै अहिलेसम्म मुख्य प्राथमिकतामा छ । त्यसैकारण सडक सुरक्षाको सवाल ओझेलमा परेको उनीहरु बताउँछन् ।

‘महत्वपूर्ण लगानी गर्दा पनि सडक सुरक्षाका सवालमा काम गर्न हाम्रो क्षमता पुगेको छैन, यस सम्बन्धी पर्याप्त जनशक्ति, पर्याप्त ज्ञान, सीप, तालिम र प्रविधिको अभाव विभागदेखि ठेकेदारसम्मलाई छ’ पूर्व सहसचिव नेपाल भन्छन्, ‘हामी सडक सुरक्षाको सवालमा सुरुआती चरणमा छौं, अब विस्तारै सडक, सवारी र यात्रुको सुरक्षाले पनि महत्व पाउनुपर्छ ।’

समाधान के ?

विज्ञहरु यस्तो समस्या समाधान गर्न अन्य देशमा भएका अभ्यासहरुलाई आत्मसात् गर्नुपर्ने सुझाव दिन्छन् । जापान लगायतका मुलुकले यस्ता सडकमा जाने पहिरोहरु रोक्न बायोइन्जिनियरिङ (साबो टेक्नोलोजी)को व्यापक अभ्यास गर्ने गरेका छन् ।

बाँस, बाबियो लगायत घाँस तथा बुट्यानहरु रोपेर पहिरो रोक्ने प्रयास पृथ्वी राजमार्गको कृष्णभीरमा सफल भएको थियो । यस्तो अभ्यास गर्न ठूलो बजेट पनि नचाहिने र त्यसले प्राकृतिक रुपमा नै सडकलाई संरक्षण गर्न सकिन्छ । तर, यसमा सडक विभागको यथेष्ट ध्यान गएको छैन ।

त्यसैगरी सडकमाथिका भिरालो भागमा ग्राउटिङ (क्रंक्रिटिङ) गरेर पनि पहिरो रोक्न सकिन्छ । मुग्लिन–नारायणगढ खण्डका केही ठाउँमा त्यस्ता प्रयास भएका छन् । त्यसलाई अरु राजमार्गमा विस्तार गरेर पुराना र जोखिमयुक्त बनेका पर्खालहरुलाई विस्थापित गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

जोखिमयुक्त स्थानको भूगर्भको अध्ययन गरेर सडकलाई संरक्षण गर्न सकेमा ठूलो क्षति नहुने बताउँछन् पूर्वाधारविद् आचार्य ।

‘सडकको डीपीआर बनाउँदा र ठेक्का लगाएर काम गर्दा नै कालोपत्रै मात्रै हैन, सडकमा दायाँबायाँका भागलाई सुरक्षित राख्ने विषयलाई उत्तिकै प्राथमिकता दिनुपर्छ’ उनी भन्छन्, ‘सडक भनेको पिच भएको भाग मात्रै हैन, सडकमा गुड्ने, सवारी र यात्रा गर्ने यात्रुको सुरक्षाको प्रत्याभूति गर्ने सबै संरचनाको एकीकृत स्वरुप हो । त्यस्तो मर्मलाई ख्याल राख्नुपर्छ ।’

त्यसैगरी वर्षा अगावै सडकमा पर्ने सक्ने बाढी र पहिरोको जोखिमलाई मूल्यांकन गरेर समय–समयमा मर्मतको काम हुनुपर्ने उनी बताउँछन् । सडक विभागका पूर्व उपमहानिर्देशक शर्मा भूगर्भसँगै आउन सक्ने बाढी र पहिरोको पूर्वानुमानमा आधारित भएर सुरक्षात्मक संरचना निर्माण गर्नुपर्ने बताउँछन् ।

‘सडक बनाएर दायाँ–बायाँ जमिनलाई नाङ्गै छाड्दा पनि प्रकोपका घटना बढेका छन्’ उनी भन्छन्, ‘रुख बिरुवा, पर्खाल, कंक्रिट जे–जे हुन्छ लगाएर भए पनि सडकलाई असर पार्ने भागलाई स्थिर राख्नुपर्छ ।’

पूर्व सहसचिव नेपाल ‘नेशनल हाइ–वे स्ट्यान्डर्ड’ अनुसार मात्रै पनि सडक बनाउन सके धेरै समस्या समाधान हुने बताउँछन् । ‘अहिले लागत कम गर्न स्ट्यान्डर्डलाई राम्रोसँग पालना गर्ने गरिएको छैन’ उनी भन्छन्,‘कम्तीमा मर्मतसम्भारका लागि बजेट छुट्याएर खर्च गर्न कन्जुस्याइँ गरिएन भने धेरै हदसम्म सडकमा सकस कम हुन्थ्यो ।’

तस्वीर : मुग्लिन बजार (फेसबुक पेज)

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?