
काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को कार्यशाला आइतबारदेखि सुरु भएको छ । वर्कसपमा दयाहाङ राई र उपासना सिंह ठकुरी जोडिएका छन् । आगामी बिहीबारदेखि छायांकन थाल्ने योजना रहेको निर्माता किरण नेपालीले जानकारी दिए ।
गत वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि निर्माता नेपालीले यी दुई शीर्ष कलाकारसँग पुनः सहकार्य गरेका हुन् । यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । यो फिल्मलगत्तै सुनुवार ‘हिमालय रोडिज सिजन ५’ को छायांकनमा व्यस्त हुनेछन् भने दयाहाङ बाँसुरी फिल्म्सको नयाँ फिल्म ‘राजागञ्ज’मा जोडिनेछन् ।
सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको ‘हात्तीछाप’को पटकथा प्रदीप भारद्वाजको छ । लेखक भारद्वाजका अनुसार फिल्मको बटमलाइन ‘जे कर्म गर्यो परिणाम त्यहीअनुसार प्राप्त हुन्छ’ भन्ने रहेको छ । फिल्ममा दयाहाङले गाउँको एक जागरुक युवाको भूमिका निर्वाह गर्नेछन् भने उपसानाले दयाको पात्रलाई साथ दिने चरित्र निभाउनेछिन् ।
सोसल ड्रामा जनरामा राखिएको यो फिल्मलाई कास्कीको ल्वाङ गाउँ र काठमाडौंमा छायांकन गरिने भएको छ । फिल्ममा सौगात मल्लको पनि शीर्ष भूमिका छ । तर सौगात भने साउनपछि मात्र छायांकन सेटमा जोडिने जनाइएको छ । ‘फिल्मलाई लिएर उत्साहित छु । ग्रामीण युवामा ऊर्जा र प्रेरणा भर्ने खालको रोल मैले गर्नेछु,’ दयाहाङले फिल्मले संक्षिप्त प्रतिक्रिया दिए ।
फिल्ममा विल्सनविक्रम राई, गौरव पहारी, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङलगायतको अभिनय हुनेछ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् ।
प्रतिक्रिया 4