
१७ असार, काठमाडौं । शनिबार स्याङ्जाका छविलाल भण्डारीले फेसबुकमा लेखेको एक स्टाटसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, भन्सार कार्यालय, नेपाल एयरलाइन्स र नेपाल प्रहरीलाई समेत एक साथ सचेत गरायो । जसमा २ वटा मोवाइल नेपाल ल्याए वापत ४४ हजार ७३४ कर लिएको र २५ प्रतिशत लगेज हराएको उल्लेख थियो । आइतबार बिहान ती यात्रुले लेखेको स्टाटसलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समेत भावुक बने । उनको नामको ट्वीटर ह्याण्डिलबाट लेखिएको छ, ‘यो घटनाले दुःखित भए, परदेशमा दुःख गरेर घर फर्कंदा यस्ता कुसंस्कार अझै कतै भोग्नु पर्ने ?’ उनले ट्वीटमा घटना न्यूनिकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउने समेत उल्लेख गरेका छन् ।
तर, अनलाइनखबरले भण्डारीको स्टाटसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयसँग बुझ्दा उनको साथमा ४ वटा मोबाइल रहेको र सरकारले दिएको सुविधामा आउने २ वटा फोनमा भन्सार छुट दिइएको थियो । अन्य २ वटा फोनमा भने कानुन बमोजिम भन्सार महसुल लागेको हो ।
साथमा भण्डारीले अर्को इस्यू पनि उठाएका छन्, ‘त्यो हो ब्यागेज हराएको र सीसीटीभी हेर्न खोज्दा राम्रोसँग कुरा गर्न नदिएको ।’ यस सन्दर्भमा नेपाल एयरलाइन्सले एक ‘ध्यानाकर्षण’ प्रकाशित गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । जसमा भनिएको छ, ‘ब्यागेज हराएको सम्बन्धमा नियमानुसार ब्यागेज क्लेम डेक्स तथा सम्बन्धित एयरलाइन्ससँग दाबी/रिपोर्ट नगरेको पाइएको छ ।’
भण्डारीले आफ्नो ब्यागेज हराएको विषय सम्बन्धित स्थानमा लिखित जानकारी नगराई सामाजिक सञ्जालमा लेखे । तर, यात्रुले आफ्नो ब्यागेज हराउँदा वा टुटफुट हुँदा सहजै तोकिएको स्थानमा उजुरी गरेमा छिटो समस्या समाधान गर्न सहज हुने नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल बताउँछन् ।
कहाँ गर्ने उजुरी (विमानस्थल भित्र) ?
पौडेलका अनुसार अन्तर्राष्ट्रिय उडानबाट यात्रु आउने क्रममा आगमनतर्फ ब्यागेज क्लेम एरियामा देब्रेपट्टी एउटा डेस्क राखिएको छ । जसमा त्रिभुवन विमानस्थल सञ्चालनमा रहेको समयसम्म नेपाल एयरलाइन्सको कार्ड भिरेका कर्मचारी तैनाथ रहन्छन् ।
आफ्नो ब्यागेज लिएर भन्सारतर्फ अगाडि बढ्ने बाटैमा देखिने यो डेस्कमा गएर हरेक यात्रुले आफ्नो ब्यागेज हराएको सम्बन्धमा उजुरी गर्न सक्छन् । त्यसपछि प्रणाली भित्रबाटै यात्रुको ब्यागेजको खोजी सुरु हुन्छ ।
पौडेल भन्छन्, ‘ब्यागेज मिसिङ हुने छिटपुट घटना संसारभर हुन्छ, तर उजुरी गर्यो भने प्रणालीबाटै खोजी कार्य सुरु हुन्छ ।’
विमानस्थलबाट बाहिर आएपछि कहाँ गर्ने उजुरी ?
त्रिभुवन विमानस्थलको अपरेशन विल्डिङ (पानीको फोहरा भएको स्थान अगाडि)भित्र पनि अर्को एक डेस्क सञ्चालनमा रहेको छ । प्रवक्ता पौडेलका अनुसार यो स्थानसम्म पुग्न यात्रुले कुनै पास पनि देखाउनु पर्दैन । सो स्थानमा समेत विमानस्थल सुचारु हुने समयसम्म डेस्कमा कर्मचारी बसेका हुन्छन् ।
यात्रुले अध्यागमन, ब्यागेज क्लेम र भन्सार पनि पास गरी बाहिर आएपछि आफ्नो सामान हराएको थाहा पाएमा पुनः ब्यागेज क्लेम एरियामा जान सम्भवः हुँदैन । यस्ता यात्रुले सोही अपरेशन बिल्डिङमा पुगेर आफ्नो ब्यागेज हराएको उजुरी दिन सक्छन् ।
सीसीटीभी क्यामेरा यात्रुले चाहना साथ हेर्न पाइन्छ ?
विमानस्थल भित्र सुरक्षा प्रवन्धका कारण सीसीटीभी क्यामेरा जडान गरिएको छ । जसको कमाण्ड नेपाल प्रहरीसँग रहेको छ । सोहीकारण यात्रुले चाहेकै समयमा सीसीटीभी क्यामेरा देखाइँदैन ।
‘ब्यागेज हराएको उजुरी परेपछि खोज्नु पर्यो भने प्रहरी आफैले वा वायुसेवा कम्पनीका कर्मचारीले सीसीटीभी क्यामेरा हेरेर पत्ता लगाउनले प्रयास गर्छन्, यात्रु स्वयंले हेरेर कसरी पत्ता लाग्छ र ?,’ उनले भने ।
प्रतिक्रिया 4