+

नेपालद्वारा यूएई पराजित

२०८० असार  १७ गते २०:१५ २०८० असार १७ गते २०:१५
नेपालद्वारा यूएई पराजित

१७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।

जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४४औं ओभरमा भेट्टायो ।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबाबमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् ।

ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे । ८५ बल खेलेका ऐरीले ७ चौका र २ छक्का हाने ।

यसअघि कुशल भुर्तेल ३५,  ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

आइतबार बिहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।

नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त हुँदा ओपनिङ गरेका  यूएईका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्वाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए ।

त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे । मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे ।  सन्चित शर्माले १२ रन बनाए ।

बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

आजको खेलमा यसअघि नियमित टिममा रहेका आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीलाई आराम दिइएको छ । उनीहरुको स्थानमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसीले सुरुवाती टिममा स्थान पाएका थिए ।

नेपाल भर्सेस युएई विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय