+
+

वाग्नर समूहका नेपाली युवा रुसी सेनामा समायोजन होलान् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते २१:०१

१७ असार, काठमाडौं । भाडाका सैनिक लिएर काम गर्ने निजी कम्पनी वाग्नरका प्रमुख प्रिगोजिन रुसबाट बेलारुस शरणमा गएसँगै पछिल्लो तनाव हाललाई साम्य भएको छ ।

योसँगै युक्रेनविरुद्ध रसियाले आफ्नो आक्रमण फेरि थालेको छ । एउटा प्रश्न भने बाँकी छ ः वाग्नरको समूहमा भर्ना भएका नेपाली युवाहरुको हैसियत अब के हुन्छ ?

रुसमात्रै नभई विभिन्न देशमा भाडाका सैनिक भर्ना गर्ने कम्पनी वाग्नर समूहमा नेपालीहरु सामेल भएसँगै टेलिग्राम, टिकटक, फेसबुकमा भिडियो सार्वजनिक भएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध छेडेको घोषणापछि त्यहाँ सैनिकहरु थप आवश्यक परेको थियो । पुटिनले त्यसै क्रममा वाग्नर समूहलाई आफ्नो तर्फबाट आक्रमणमा सहभागी हुन लगाएका थिए ।

त्यसपछि वाग्नर समूहले विभिन्न देशका नागरिकलाई भर्ना खुलाएको थियो । संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, ओमान लगायत देशमा भएका नेपाली युवाहरु रुसमा भर्ती खुलेको, त्यहाँ आफ्ना लागि आकर्षक तलब र सेवा सुविधा रहेको थाहा पाएसँगै जान तयार भएका थिए ।

रुसका लागि नेपालका राजदूत मिलन तुलाधर वाग्नर समूहमा कति नेपाली युवा छन् भन्ने यकिन जानकारी दूतावाससँग नभएको बताउँछन् । मस्कोबाट अनलाइनखबरसँग कुरा गर्दै तुलाधरले भने, ‘विभिन्न ठाउँबाट सूचना पायौं, यकिन संख्या नभए पनि नेपालीहरु त्यहाँ सहभागी रहेको हामीलाई थाहा छ । थप सूचनाहरु लिँदैछौं ।’

औपचारिक कूटनीतिक जानकारीभन्दा बाहिर रहेकाले वाग्नर समूहका नेपाली युवाबारे आफूहरुलाई सूचना प्राप्त गर्न कठिनाइ परेको उनले बताए । संख्या बढाइचढाइ गरे पनि समूहमा २५ हजार लडाकु रहेको सुनेको, तीमध्ये कति संख्यामा नेपाली छन् भन्ने बुझ्न समय लाग्ने नेपाली दुतावासले बताएको छ ।

राष्ट्रपति पुटिनले वाग्नर समूहका लडाकुहरुलाई रुसी सेनामा मिलाउने वचन दिएका छन् । त्यसो भए के नेपाली युवाहरु रुसी सेनामा भर्ना हुन्छन् ?

तुलाधरले वाग्नर समूहका सबै लडाकु रुसी सेनामा भर्ना नहुने सूचना आफूले पाएको बताए । त्यसैले भर्ना हुने समूहमा नेपाली लडाकुहरु पर्छन् कि पर्दैनन् भनी अहिले यकिन भन्न नसकिने उनको भनाइ छ ।

खासमा नेपाली युवाहरु रुसको पक्षबाट मात्रै होइन, ऊसँग युद्धरत युक्रेनको पक्षबाट समेत लडिरहेको सूचनाहरु सार्वजनिक भएका छन् । युक्रेनको पक्षबाट लड्ने युवाहरु पनि टिकटकमा भेटिन्छन् । रेडियो स्भोबोदासँग कुरा गर्दै प्रताप बस्नेत भन्छन्, ‘म नेपालबाट पढ्नलाई युक्रेन आएकै बेला यहाँ रुसले अमानवीय आक्रमण गर्‍यो । त्यसपछि मैले युक्रेनबाट लड्ने निर्णय गरें । रुसले यहाँ आक्रमण गर्न पाउँदैन । त्यसैले युक्रेनको मानवताका पक्षमा मैले गरेको निर्णयबाट म खुसी छु र गौरव गर्छु ।’

काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले भने नेपाली युवाहरुले गरेका यस्ता घोषणाहरुप्रति आपत्ति जनाएको छ । उसले यसरी अर्को देशका लागि भाडाका सैनिकका रुपमा नेपाली युवा पठाउने नीति नेपाल सरकारको नभएको प्रष्ट पारेको छ ।

रुसी सेनामा नेपाली युवाहरुको प्रवेशलाई वैधानिक मान्न नसकिने परराष्ट्रका उच्च अधिकारीले बताए । यो कुरा युक्रेन लगायत अन्य देशका लागि लड्ने लडाकुहरुका हकमा समेत लागु हुने उनले जानकारी दिए । ‘फ्रान्स, अजरबैजान, अर्मेनिया लगायत देशमा त्यसरी नेपाली युवाहरु लडाकु भएको हामीले सुनेका छौं’, परराष्ट्रका ती उच्च अधिकारीले भने, ‘यसरी अर्काको देशमा भाडाको सैनिक भएर लड्ने लडाउने न त हाम्रो नीति हो, न त त्यो वैधानिक हो ।’

फ्रान्सको ‘फ्रेन्च फरेन लेजियन’ भन्ने सैनिक इकाइमा समेत नेपाली युवाहरु रहेको जानकारी आफूहरुसँग रहेको भन्दै ती अधिकारीले यसबारे थप कुरा गर्न राजनीतिक तत्परता नै चाहिने खुलाए । संयुक्त राष्ट्रसंघले खटाएको शान्ति मिसनबाहेक नेपालीहरुलाई अर्को कुनै ठाउँमा लड्न अनुमति नरहेको उनको भनाइ छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रुसमा लड्न गएका नेपाली लडाकुहरुबारे प्राप्त सूचनाहरुलाई अध्ययन गरेको बताए । जंगी अड्डा यसबारे अवगत रहे पनि कुनै खास कदम चाल्न नमिल्ने भन्दै उनले प्रतिक्रिया दिए ।

‘एउटा नेपाली संसारको जुनसुकै देशका लागि लड्दैछ भन्ने सूचना आइसकेपछि नेपाली सेनाको पनि चासो हुने नै भयो’, उनले भने, ‘जहाँसुकै भए पनि उनीहरु सुरक्षित होउन् । बाँकी कुरा सरकारी औपचारिक च्यानलबाट होला नै ।’

तर त्यहाँ गएका नेपाली लडाकुहरुले भने आफूहरुको निर्णयलाई नेपाल सरकारले अवैधानिक भन्न नपाउने भन्दै आक्रोश व्यक्त गरे । नेपालमा रोजगारीका अवसर पाएको भए आफूहरु यसरी अर्को देशमा लड्ने बाध्यतामा नहुने उनीहरुले भने । अनलाइनखबरसँग रुसबाट ह्वाट्सएपमा कुरा गर्दै वाग्नर समूहमा आबद्ध एक नेपाली लडाकुले भने, ‘रुसको सेनाले लिन्छ भने खुसी खुसी काम गर्ने हो । किनभने हामीलाई काम चाहिएको छ । नेपालमा काम पाएको भए यो सबै गर्नुपथ्र्यो र ?’

उनले नेपालमा पुलिस, कर्मचारी वा जे काम पाए पनि फर्केर गर्न तयार रहेको भन्दै आफ्नो निर्णयलाई अवैधानिक नभन्न सरकारलाई आग्रह गरे । ‘हामीलाई यहाँ चाहिएजति पैसा दिएको छ, खाना तीनपल्ट दिएको छ, चिसोमा जति पनि लुगा छ, सुत्ने प्रबन्ध छ’, ती युवकले भने, ‘नेपालमा हामीलाई त्यस्तो के छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?