
काठमाडौं । निर्देशक अविनाशविक्रम शाहको आगामी फिल्म ‘एलिफेन्ट्स इन द फग’ विश्वप्रतिष्ठित भेनिस फिल्म फेस्टिभलको ‘लगानी बजार’मा छनोट भएको छ । ‘भेनिस ग्याप फिनान्सिङ मार्केट’ नाम दिएको उक्त बजारमा उक्त नेपाली फिल्मसहित संसारका ६२ कथानक फिल्म छानिएको हलिउड म्यागजिन डेडलाइनले उल्लेख गरेको छ ।
उक्त फिल्मलाई शाहले लेखेका हुन् भने लेस भर्ल्सेस र अन्डरग्राउण्ड टाकिज नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । इटालीको भेनिस फिल्म फेस्टिभलको एक महत्वपूर्ण हिस्सा मानिने लगानीसम्बन्धी यो सम्मेलन आगामी सेप्टम्बर १ देखि ३ सम्म हुने जनाइएको छ । भेनिस फेस्टिभल चाहिं अगस्ट ३० सेप्टेम्बर ९ सम्म आयोजना हुँदैछ ।
भेनिसको यो बजारले विकासको अन्तिम चरणमा पुगेका कुल २८० फिल्मबाट ६२ फिल्मलाई छनोट गरेको हो । प्यालेस्टिनी निर्देशक एनेमारी जासिर, आयरल्याण्डका आइलिङ्ग वाल्श र जिम शेरिदानका साथै रोमानियाली फिल्म निर्माता आन्का डेमियनका फिचर फिल्म पनि भेनिस बजारमा छानिएका छन् ।
भेनिस बजारमा छनोटका लागि योग्य हुन ७० प्रतिशत लगानी सुनिश्चित भइसकेको र बाँकी ३० प्रतिशतको आवश्यकता भएको हुनुपर्नेछ । शाह लिखित उक्त फिल्मले नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले पहिचानका लागि गर्नुपरेको संघर्षको कथा पेश गर्छ । यो फिल्म यसअघि सनडान्स स्क्रिप्ट ल्याबमा समेत छनोट भइसकेको छ ।
प्रतिक्रिया 4