+
+

८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १३:५३

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आठ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर काठमाडौंको गोंगबुमा आयोजित समारोहमा अग्रज लोक स्रष्टा कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व, रामप्रसाद खनाल र हरिदेवी कोइरालालाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो ।

यसअघि सदस्यता दिने भनिएका पाका कलाकार बमबहादुर कार्कीले भने सदस्यता लिएनन् । गायक रामप्रसाद खनाल अमेरिकामा रहेको र हरिदेवी कोइराला प्रतिकूल मौसमका कारण पोखराबाट काठमाडौं आएर समारोहमा सहभागी हुन नसकेको जनाइएको छ । अन्य ६ जना लोक स्रष्टालाई स्वागत गर्दै सम्मानमा उनीहरूका गीत अन्य गायक-गायिकाले प्रस्तुत गरेका थिए ।

कुमार बस्नेतको गीतलाई रामजी खाँडले प्रस्तुत गरे । प्रेमराजा महतको गीतलाई पशुपति शर्मा र शिरीष देवकोटाले गाए । नन्दकृष्ण जोशीको गीतलाई राधिका हमालले, कृष्ण गन्धर्वको गीत पूर्णकला बिसी र रेशम निर्दोषले, प्रेमदेव गिरीको गीत कृष्ण रेउलले र शम्भु राईको गीत रमेशराज भट्टराईले प्रस्तुत गरे । सम्मानार्थ सदस्यहरूले पनि आफ्ना चर्चित गीतहरू लाइभ बाजामा प्रस्तुत गरेका थिए ।

सम्मानार्थ सदस्यता पाउने अग्रज स्रष्टाले प्रतिष्ठानको सदस्य बन्न पाउँदा खुसी लागेको बताए । उनीहरूले दोहोरीगीत प्रतिष्ठानलाई लोक संगीत क्षेत्रको ठूलो संस्थाको रुपमा हेरेको भन्दै संस्थाले गरेका कामको समेत प्रशंसा गरे ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङले ‘सम्मानार्थ सदस्य’लाई प्रतिष्ठानले सांगीतिक गुरुका रुपमा सम्मान गर्ने बताए । प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले अग्रजहरूको मेहनतले यहाँसम्म ल्याएको संस्थालाई थप व्यवस्थित बनाउन आफूहरूको पुस्ताले काम गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?