+
+

कोशीमा राप्रपाको साथ पाउन कांग्रेसलाई ‘सम्बन्ध’को तगारो

संघमा सिटौला–लिङ्देन, प्रदेशमा थापा–सिटौलाको टकराव

हरि अधिकारी हरि अधिकारी
२०८० असार १९ गते २१:०१

१९ असार, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसँग सोमबार साँझ कोशी प्रदेशको सरकार निर्माणमा सहकार्यको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुबीच कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहमति जुटेपछि देउवाले लिङ्देनसँग सम्वाद गरेका हुन् ।

तर लिङ्देनले ठोस् जवाफ दिएनन् । कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको कांग्रेसलाई राप्रपा मनाउनैपर्ने चुनौती छ । प्रदेशसभामा ६ सिटको राप्रपाको साथ नपाए मुख्यमन्त्री नियुक्त भएपनि थापालाई सत्ता टिकाउन कठिन छ ।

किनकि थापालाई कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी (जसपा) को १ सांसदको मात्रै समर्थन छ । त्यो भनेको सभामुखसहित ४७ जनाको समर्थन हो ।

सभामुखले मत व्यक्त गर्न प्रदेशसभामा सभामुखको मत निर्णायक बन्ने परिस्थिति सिर्जना हुनुपर्छ, अर्थात् कुनै प्रस्तावको पक्ष र विपक्षमा मत बराबर भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउँछन् ।

त्यसकारण अब बन्ने सरकारका लागि सहज बहुमत पु¥याउन राप्रपाको साथ लिन गठबन्धनका नेताहरु लागिपरेका छन् । तर कांग्रेसकै नेताहरु राप्रपाको साथ पाउनेमा ढुक्क छैनन् ।

त्यसको कारण भने राप्रपाले एमालेलाई दिइरहेको साथ मात्रै नभएर झापाको राजनीतिमा कांग्रेस र राप्रपा नेताहरुबीचको तिक्ततापूर्ण सम्बन्ध समेत हो । राप्रपाका अध्यक्ष लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच जस्तो प्रतिस्पर्धात्मक सम्बन्ध छ, त्योभन्दा बढी कांग्रेस नेताहरुसँग राप्रपा प्रदेशसभा संसदीय दलका नेता भक्ति सिटौलाको तिक्ततापूर्ण सम्बन्ध छ ।

कृष्णप्रसाद सिटौला र उद्धव थापाको पेलानमा परेको भनेरै भक्ति सिटौलाले २०७० सालमा कांग्रेस छाडेका थिए । यही बुझेर कांग्रेसभित्र प्रदेश संसदीय दलको नेता फेरेर भएपनि मुख्यमन्त्री लिनुपर्ने आवाज उठेको थियो । उद्धव थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट भएकाले कांग्रेसभित्रको समीकरणमा त्यस्तो विकल्प सहज भएन ।

अन्ततः उद्धव थापा मुख्यमन्त्रीको उम्मेदवार बन्दैछन् । एमाले नेता हिक्मतकुमार कार्की पदमुक्त भएकाले प्रदेश प्रमुखले दिएको समयसीमा २१ असारभित्र थापाले मुख्यमन्त्रीको दाबी गर्ने तयारी गरिरहेका छन् । तर राप्रपासँग प्रदेश तहमा कांग्रेस नेताहरुले अहिलेसम्म औपचारिक सम्वाद सुरु गरेका छैनन् ।

अनौपचारिक सम्वादमा राप्रपा नेता भक्ति सिटौलाले उद्धव थापालाई सहयोग गर्न नसकिने बताउने गरेका छन् । यसको कारण अहिलेको राजनीतिक सम्बन्ध भन्दा बढी व्यक्तिगत टकराव नै हो ।

‘भक्ति सिटौलालाई कृष्णप्रसाद सिटौलाले पेलेर राखेका थिए, सिटौला पक्षकै भएका कारण उद्धव थापाले पनि पेले’, कांग्रेस झापाका एक नेताले भने, ‘पार्टीमा पेलिएपछि राप्रपा प्रवेश गरे ।’ उनका अनुसार, ३५ वर्षसम्म कांग्रेसको राजनीति गरेका भक्तिले पेलाइलाई नै कारण देखाएर २०७० मा राप्रपा प्रवेश गरेका थिए ।

अझ उद्धव थापासँग त भक्ति सिटौलाको राजनीति सँगसँगै र नेविसंघको पृष्ठभूमिबाटै अगाडि बढेको थियो । २०३५ सालदेखि नेविसंघको झापा जिल्ला समिति हुँदै थापा र सिटौलाले राजनीति अगाडि बढाए । सिटौला नेविसंघको महामन्त्रीसम्म भए । नेविसंघबाट बाहिरिएर पार्टी राजनीति गरे ।

तर २०४५ सालदेखि झापाको राजनीतिमा कृष्णप्रसाद सिटौला र उद्धव थापाहरुको पेलाइले अवसर पाउन नसकेको भक्ति सिटौलाको अनुभव छ । उनले पेलाइकै कारण राप्रपाको राजनीति रोज्नु परेको खुलेरै बताउने गरेका छन् ।

‘राजनीतिमा त्यस्तो आग्रह पूर्वाग्रह राख्नुहुँदैन, नेताहरुले जानी नजानी जुन किसिमको व्यवहार गरे, उहाँहरुको त्यो खालको व्यवहारले मलाई अवसरका ढोकाहरु ढकढक्याउने बनायो’, भक्ति सिटौला भन्छन् । कांग्रेस छोडेपछि आफूलाई राजनीतिक उपलब्धि भइरहेको उनी बताउँछन् ।

प्रदेशको राजनीतिमा उद्धवसँग भक्तिको तिक्तता जस्तै राप्रपा अध्यक्ष लिङ्देनसँग कांग्रेस नेता सिटौलाको प्रतिस्पर्धात्मक सम्बन्ध छ । कांग्रेसको केन्द्रीय नेतृत्वमै दाबी गर्ने सिटौलालाई २०७४ र २०७९ को चुनावमा लिङ्देनले झापा–३ बाट पराजित गरेका थिए ।

त्यसअघि पनि यी दुई नेताबीच प्रतिस्पर्धा चल्दै आएको थियो । अर्थात्, संघमा सिटौला र लिङ्देन झापामा थापा र सिटौलाबीच सम्बन्धले कोशीको नयाँ सरकार निर्माणका लागि राप्रपाको साथ पाउन कांग्रेसलाई सजिलो भइरहेको छैन ।

राप्रपाका नेता भक्ति सिटौला भने गठबन्धनबाट सहकार्यको प्रस्ताव नै नआएको बताउँछन् । ‘गठबन्धनले निर्णय गरिहाल्यो, निर्णय गर्नुअघि बसेर यसरी जाने भनेर छलफल गरेको भए हुन्थ्यो’, उनले भने, ‘हामी तपाईलाई भोट हाल्छौं भनेर जाने खालको परिस्थिति बनाए, त्यसरी जाने कि नजाने भनेर हामी छलफल गर्छाै ।’

अर्कातिर सरकारको नेतृत्वमा कायमै रहने प्रयत्न एमालेले पनि गरिरहेको छ । एमालेको विश्वास राप्रपाले साथ दिन्छ भन्ने नै छ । त्यसमा एक सिट रहेको जसपालाई मनाउन सके प्रदेशसभामा बहुमतको लागि आवश्यक ४७ सिट पुग्ने एमाले नेताहरुको आशा छ । त्यस्तो अवस्थामा राप्रपाको मत कांग्रेस नेतृत्व गठबन्धनले पाउन थप कठिन हुनेछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?