
१९ असार, दाङ । कर्मचारी कुटेको आरोपमा पक्राउ परेका शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वलीले अनियमितता रोक्न खोज्दा आफूलाई फसाएको आरोप लगाएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेयमाथि कुटपिट गरेको आरोपमा ८ असारमा पक्राउ परेका वडाध्यक्ष वली सोमबार बेलुकी धरौटी बुझाएर रिहा भएका थिए ।
रिहा भएपछि पत्रकार सम्मेलन गरी उनले वडा नं २ स्थित सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको पुस्तकालय भवनको विषयमा चासो राख्दा शिक्षा शाखा प्रमुखसँग सामान्य विवाद भएको बताए । आफूले चासो राख्दा वडाध्यक्ष को हो भनेर अपमान गरेपछि वाद भएको वलीले बताए ।
‘वडामा हुने अधिकांश विकास निर्माणका कामहरु वडा अध्यक्षको सिफारिसमा हुने गरेका छन्, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजना कसरी पर्यो भनेर बुझ्न मात्रै खोजेको थिएँ’ वडाध्यक्ष वलीले भने, ‘तर कर्मचारीले नै वडा अध्यक्ष भनेको को हो भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो ।’
सामान्य विषयलाई लिएर राजनीतिक पहुँचका आधारमा आफूलाई फसाइएको वलीले आरोप लगाए । उनी २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र हैसियतमा वडाध्यक्ष निर्वाचित भएका थिए । अध्यक्ष वलीले वडामा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले पटक पटक जनप्रतिनिधि र कर्मचारीहरुले आफूलाई हतोत्साहित बनाउने गरेको बताए ।
प्रतिक्रिया 4