
१९ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा साढे ३५ हजार करदाता घटेका छन् । अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म ३५ हजार ३ सय ८९ जना करदाताको दर्ता खारेज भएको हो ।
व्यवसाय दर्ता खारेजी भएको अवस्था वा व्यक्तिको मृत्यु भएको अवस्थामा करदाताको दर्ता खारेजी हुने गरेको छ । व्यवसाय बन्द, बिक्रि वा हस्तान्तरण भई अस्तित्वमा नरहँदा उनीहरुको दर्ता खारेज हुने गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६ करदाताको दर्ता खारेज भएको छ । यो अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर थपिएको संख्या भने १ लाख २३ हजार ७६० रहेको छ । वैशाखसम्म कुल १८ लाख ७० हजार ४५७ वटा व्यवसायिक स्थायी लेखा नम्बर कायम रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।
वैशाखसम्म १२ हजार ६३५ जनाको व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेजीमा परेको छ । वैशाखसम्म ४ लाख ९९ हजार ५७९ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । यस अवधिमा कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ३५ लाख ३७ हजार २४८ जना पुगेको छ । वैशाखसम्म करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २ वटा दर्ता खारेज भएको छ । यस आवमा कुल ८ हजार २७ वटा नयाँ स्थायी लेखा नम्बर जारी भएको छ । देशभर २६ हजार ११९ वटा स्थायी लेखा नम्बर यस्तो जारी भएको छ ।
कुल दर्ता खारेज भएका करदातामध्ये स्थायी लेखा नम्बरको संख्या मात्र २८ हजार ३५३ वटा रहेको छ । मूल्य अभिवृद्धि करतर्फ वैशाखसम्म ४ हजार ६०७ वटा दर्ता खारेज भएका छन् । वैशाखसम्म नयाँ मूल्य अभिवृद्धि कर लिनेको संख्या २० हजार १०३ रहेको छ । अब देशभर ३ लाख ७ हजार १२७ वटा मूल्य अभविृद्धि करमा दर्ता भएको तथ्याङ्क छ ।
अन्तःशुल्कतर्फ वैशाखसम्म २ हजार ४२९ दर्ता खारेज भएको छ । वैशाखसम्म ९ हजार १५९ वटा अन्तःशुल्कमा दर्ता भएका करदाता थप भएका छन् । देशभर अन्तःशुल्कमा १ लाख १८ हजार ९६१ करदाता दर्ता भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।
प्रतिक्रिया 4