
स्व. गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्ति निकै चर्चित भएको छ । महामन्त्री थापाको अभिव्यक्ति प्रशंसित र चर्चित हुँदै गर्दा हाम्रो राजनीतिक स्मृति कति छोटो रहेछ भन्ने यथार्थ पनि यही परिघटनाले देखाउँछ ।
महामन्त्री थापाले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राखौं भनेर ओजपूर्ण तरिकाले भन्नुभएको छ । दलको झोला बोकेर कुनै पनि शिक्षक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनिरहँदा आफ्नो निकट विगतको गतिविधि कति सहजै नजरअन्दाज गर्न सक्नुभएको हो महामन्त्रीज्यूले ।
धेरै विगतमा गयौं भने त उहाँको राजनीतिक यात्राकै सुरुवात विद्यार्थी राजनीतिबाटै भएको पाउँछौं हामीले तर केही महिना अगाडिकै आफ्नै गतिविधि र अहिलेको अभिव्यक्ति बीच सामञ्जस्य खोज्न पर्दैन र ?
हाम्रो राजनीतिमा भाष्य एक र कार्य अर्को चर्को रूपमा देखिने गरेको छ । गगन थापाको हकमा समेत यही देखिन थालेको छ । २०७९ चैत ८ गते यिनै गगन थापाले गर्वका साथ नेविसंघलाई स्ववियु चुनावमा प्रथम भएकोमा बधाई दिएको समाचार हेर्न/पढ्न पाइन्छ । केही महिना अघिसम्म नेपाली विश्वविद्यालयलाई अध्ययनको भन्दा चन्दा र गुण्डागर्दीको थलो बनाउन उद्यत राजनीतिक दलकै भ्रातृ संगठनलाई प्रथम भएकोमा बधाई दिने अनि केही महिना पछाडि नै विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्छ भन्नुलाई भूल स्वीकार मान्न सकिन्नँ । बरु यो अर्को राजनीतिक तिकडमबाजी र धोकाधडी हो भनेर ठोकुवा गर्न सकिन्छ ।
विगतदेखि नै राजनीतिक बेइमानी पुरातन दलले देखाउँदै आएकै हुन् । भन्ने एउटा र गर्ने अर्को चरित्रले गर्दा नै राजनीति आजको यस्तो विषम स्थितिमा पुगेको हो र समाज कोल्टे फेर्न छट्पटिरहेको विदितै छ ।
गगन थापालाई अर्को प्रसंग त सायद याद नै छैन होला, त्रिविमा एक सहप्राध्यापक छन् प्रेम चलाउने नाम गरेका । ती शिक्षक यिनै गगनहरूले नेतृत्व गर्न मरिहत्ते गर्ने नेविसंघको अगाडि कति निम्छरो देखिए भने आफ्नै चेलाबाट गुण्डामा परिणत विद्यार्थी नेताले कुटेको उजुरी समेत राज्यले दरपिठ गर्न उद्यत हुँदा अनशन बस्न पुगे ।
महामन्त्रीज्यू राजनीतिक इमानदारी हुन्थ्यो त यो बेला तपाईँको आवाज सुनिनुपर्थ्यो कि ती गुण्डा मेरो राजनीतिक दर्शनका व्यक्ति हैनन्, तिनलाई कारबाही हुनुपर्छ । तर अफसोच विश्वविद्यालय थलिंदा तपाईंहरूको आवाज सुनिएन तर आफूलाई राजनीतिक लाभ हुन्छ भने कुनै तिकडम बाँकी राख्नुहुन्न ।
यदि साँच्चै यो देशको खस्कँदो शैक्षिक स्तरले पिरोलेको हो भने तपाइँ गर्न सक्ने स्थानमा हुनुहुन्छ, पहलकदमी लिनुहोस् तर संचार खपतको लागि अभिव्यक्ति दिने कार्य मात्र गरेर युवा नेतृत्वको उपहास उडाउने काम नगर्नुस् ।
तपाईंहरूले आरोप लगाउने सिद्धान्त नभएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले त दृष्टान्त पेश गरिसक्यो । राजनीति प्रत्यक्ष गर्ने हो, विश्वविद्यालयलाई दलगत खिचातानीबाट टाढा राख्न भ्रातृ संगठन निर्माण नगर्ने निर्णय तपाईंले पक्कै थाहा पाउनुभएको होला । यदि पुरातन दलमा थोरै पनि राजनीतिक इमान बाँकी छ भने भ्रातृ संगठन खारेजीको लागि निर्मम रूपमा प्रस्तुत हुन जरुरी छ ।
आज प्रेम चलाउनेहरूको घाउभन्दा बढी नेपाल छाडेर पढ्न विदेशिने विद्यार्थी संख्याले यो देशलाई चहराउने गरेको छ । हाम्रो सार्वजनिक शिक्षा ध्वस्त हुनुमा सबैभन्दा बढी हात विद्यार्थी संगठन र शिक्षक संघ/संगठनहरूको छ । यो दाबी नभएर तथ्य हो, सार्वजनिक र निजी शैक्षिक संस्था तुलना गरी हेरौं, हामीले थप केही खोज्नै पर्दैन ।
गगनजी अब राजनीति केवल अभिव्यक्तिले चल्दैन, इमानदारीपूर्वक व्यवहारमा उतार्न जरुरी छ । साँच्चै गिर्दो शैक्षिक वातावरणले पोलेको हो भने तपाईंकै दलबाट सुरुवात गर्नुस्– भ्रातृ संगठन खारेजीको शुभकार्य । नेविसंघ खारेजीको बहस चलाउने हिम्मत पुग्दैन भने रास्वपा जस्ता वैकल्पिक राजनीति र सुसंस्कृत शासन व्यवस्थाका परिकल्पनाकारहरूको एजेन्डा केवल तिकडमको लागि प्रयोग नगरेकै बेस हुन्छ ।
राजनीति जति सङ्लिंदै जान्छ उति आम मानिसले अभिव्यक्ति हेरेर हैन व्यवहार जाँचेर मत दिने समय र परिस्थिति निर्माण हुँदै जान्छ । समाज कोल्टे फेरिरहेको यो अद्भुत समयमा साँच्चै यो समाज र राष्ट्रको माया लाग्छ भने नयाँ पुरानो भन्ने संकीर्णता त्यागेर जायज एजेन्डाहरूलाई समर्थन गर्न जरुरी छ ।
हिम्मत गर्नुस् महामन्त्रीज्यू कांग्रेसभित्र भ्रातृ संगठन विघटनको मुद्दा उठाउने प्रयास गर्नुस् । यो गर्न सकिंदैन भने राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता सृजनात्मक र फरक दललाई प्रोत्साहित गर्नुस् ।
तपाईँको व्यक्तिगत हार–जित र महत्वाकांक्षाले समग्र समाज र राष्ट्रलाई फरक पर्दैन तर समाजलाई सकारात्मक दिशा प्रदान गर्न सक्ने एजेन्डाहरूको स्थापनाले युग परिवर्तनलाई द्रुतता प्रदान गर्छ ।
(लेखक चिकित्सक हुन् ।)
प्रतिक्रिया 4