+
+

समितिका सभापति चयनका लागि शीर्ष नेताले मागे पाँच दिन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १८:२०

१९ असार, काठमाडौं । संघीय संसदको संसदीय विषयगत समितिका सभापति चयनका लागि शीर्ष नेताहरुले थप पाँच दिन समय मागेका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलको नेता केपी शर्मा ओली, प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बोलाएर संसदीय समितिको सभापतिका विषयमा छलफल गरेका थिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गुरुङका अनुसार सभामुख घिमिरे संसदीय समितिले लामो समयसम्म सभापति पाउन नसक्दा त्यसको प्रभाव संसदमा देखा परेको र यसतर्फ गम्भीर रहेको बताएका थिए । आफूले विगतमा पटक–पटक गरेको आग्रह अनुसार पनि समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने वातावरणका लागि दलहरुबाट आग्रह नआएको भनी शीर्ष नेताहरुको ध्यानाकर्षण गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दलका नेता ओली र कांग्रेस सभापति देउवाले छिटो समिति सभापति चयन गरौं भन्ने विषयमा आफूहरु समेत सहमत रहेको बताए । दलहरुका बीचमा एक चरण छलफल गर्नका लागि केही समय भन्दै उनीहरुले थप पाँच दिनको समय माग गरेका छन् ।

‘शीर्ष नेताहरुले थप चार÷पाँच दिनमा मिलाउँछौं भन्नुभएको छ’ भेटपछिको ब्रिफिङ सुनेका एक नेताले भने । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक काठमाडौंमा नभएकाले उनीहरुले पाँच दिन समय मागेका हुन् ।

नेकपा एमालेका सचेतक महेश बर्तौला पनि अब छिट्टै संसदीय समितिले सभापति पाउने वातावरण तय भएको बताउँछन् । ‘मेरो बिचारमा यो महिनाभरीमा सबै समितिका सभापतिहरु पाइन्छ’, सचेतक बर्तौलाले अनलाइनखबरसित भने ।

तीन दलका शीर्ष नेतृत्वबीच प्रतिनिधिसभामा रहेका १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखा समिति सहित थप एक समिति पाउने सहमति भइसकेको छ ।

दुई वटा संयुक्त समितिमध्ये ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति’ को सभापति पनि एमालेले लिने सहमति छ ।

विगतको यो सहमति अनुसार नै जाने तय भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले जानकारी दिएका छन् ।

शीर्ष तहमा पटक–पटक छलफल भएपनि गत १५ वैशाखमा गठन भएको प्रतिनिधिसभा संसदीय समितिले अझै नेतृत्व पाउन सकेको छैन ।

४ मंसिरको चुनावबाट आएको प्रतिनिधिसभामा पाँच महिनापछि विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई महिना बितिसक्दा पनि संसदीय समितिले नेतृत्व पाउन सकेको छैन ।

संसदीय समितिको सभापति चयन भइसकेपछि खाली भए पहिलो बैठक बसेको १५ दिनभित्र सभापतिको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, पहिलो पटकका लागि सभामुखले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । सभामुखले मिति नतोकेका कारण समित सभापति चयनको प्रक्रिया अगाडि नबढेको भनी आलोचना बढेपछि सभामुखले सक्रियता बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?