+
+
सहकारी संकट-९ :

कान्तिपुर सहकारीमा बेथिति : जनताको साढे ६ अर्ब रुपैयाँ निजी जग्गा र रिसोर्टमा

कान्तिपुर सहकारीको स्रोत प्रयोग गरी पूर्वअध्यक्ष सीबी लामा तथा वर्तमान सञ्चालकहरूले कान्तिपुर अस्पताल, दुई कलेज, दुई क्रसर, चार वटा रिसोर्ट तथा रेष्टुराँ र सयौं रोपनी जग्गामा लगानी गरी निजी सम्पत्ति बढाएका छन् ।

विजय पराजुली जनार्दन बराल विजय पराजुली, जनार्दन बराल
२०८० असार २० गते २१:०५

२० असार, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको खुलेको छ ।

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको मध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ । सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ ।

यो ऋणको ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो ।

सहकारी सञ्चालकहरूका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो । एक सञ्चालक भन्छन्, ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’ कतिपय सञ्चालकहरूले घरजग्गा व्यवसायीसँग मिलेर आफैं प्लटिङमा समेत लागेको खुलेको छ ।

‘राम्रा जग्गा आउँदा सहकारीको नाममा खरिद गर्न नमिल्ने भएपछि सहकारीको विश्वासिलोे कर्मचारीको नाममा समेत खरिद भएको छ । जुन सहकारीकै सम्पत्ति हो’, सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले अनलाइनखबरसँग भने ।

२०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी लामा अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाए । काभ्रेको धुलिखेल र पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, मकवानपुरको चित्लाङ, मोरङको कानेपोखरी, खोटाङको हलेसी लगायत स्थानमा ४०० रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

सहकारी विभागमा पेश गरेकै विवरणमा ३२ स्थानमा घरजग्गा छ, जसमध्ये केही सम्पत्ति ऋण लगानी नउठेपछि धितो सकारेको दाबी गरिएको छ ।

काठमाडौंको फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठमा २ रोपनी बढी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घर समेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना जग्गा छ ।

विभागमा पेश भएको बाहेक सहकारीका सञ्चालकहरूले काभ्रेको भुम्लु गाउँपालिकामा ७०० रोपनीभन्दा बढी जग्गा किनेका छन्, जहाँ बाख्रा तथा कृषि फार्म चलाइएको छ ।

काभ्रेकै पनौतीमा १२६ रोपनी जग्गा छ । यहाँ सहकारीका सञ्चालकहरूले उडुवादेवी रोडाढुंगा उद्योग नामक क्रसर उद्योग खोलेका थिए । पछिल्लो समय क्रसर उद्योग बन्द गरेर धमाधम जग्गा प्लटिङ भइरहेको छ । यहाँ २८२ टुक्रा जग्गा निकालिएको छ, जसमध्ये २०८ सञ्चालकहरूसँग छ भने बाँकी प्लानिङ गर्ने कम्पनीलाई दिइएको छ । क्रसर पूर्ण रूपमा बन्द भई जग्गा प्लटिङ भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले पनि पुष्टि गरे ।

काभ्रे पनौतीको जग्गा

काभ्रेकै मण्डन देउपुर १२ मा ३ रोपनी ५ आना बढी जग्गा छ भने मंगलटारको सुप्रिम स्टोन सहकारी सञ्चालक प्रेमध्वज लामाको नाममा छ ।

भक्तपुरको साँगामा २८ रोपनी १२ आना, गुन्डुमा ७ आना बढी, धादिङको धुनीबेंसीमा २ रोपनी, तनहुँमा १६ रोपनी र खोटाङको हलेसीमा १८ रोपनी जग्गा छ । सहकारीमा आबद्ध ५ जना सहित ६ जनाको नाममा हलेसीको जग्गामा जाम्बला रिसोर्ट प्रालि सञ्चालनमा छ ।

मोरङको झोडाहाटमा ९ कट्ठा, बखरीमा १० धुर, सर्लाहीको हरिवनमा ५ कट्ठा १० धुर, चितवनमा २० कट्ठा र हेटौंडामा ११ कट्ठा जग्गा छ ।

सहकारी सञ्चालकहरूको नाममा थुप्रै स्थानमा किनिएको जग्गाको विवरण अझै लुकाइएको छ । स्रोतले भन्यो, ‘सहकारीका सञ्चालकहरूले नाफामा रहेका र बढी मूल्य पर्ने सम्पत्तिको विवरण विभागमा बुझाएका छैनन्, कम गुणस्तरका सम्पत्तिको विवरण मात्रै बुझाएका छन् ।’ कान्तिपुर सहकारीका अध्यक्ष मल्ल ठकुरीले मकवानपुर चित्लाङको १३ रोपनीलगायत अन्य केही विवरण छुटेको दाबी गरेका छन् । तर, ती सम्पत्तिको विवरण दिन भने उनले आनाकानी गरे ।

सहकारीका अध्यक्ष मल्ल ठकुरी भने यो जग्गा खरिदमा सहकारीको रकम प्रयोग नभएको, तर अहिले संस्थालाई अप्ठ्यारो पर्दा काम चलाउन मञ्जुरीनामा दिएको दाबी गर्छन् । तर, त्यो जग्गा राखेर सहकारीले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) बाट ऋण लिएकाले मल्लको दाबी खण्डन हुन्छ ।

कर्मचारीको नाममा जग्गा

सहकारी सञ्चालकहरूले आफ्नो नाममा मात्र होइन, कर्मचारीको नाममा समेत जग्गा किनेर राखेको पाइएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–२ (साविक नाला गाविस–९) मा सुभाषभक्त मल्ल र श्यामकृष्ण केसीको नाममा ७६ रोपनी जग्गा किनिएको छ । मल्लको नाममा झापामा ८ कट्ठा जग्गा किनेको पाइएको छ ।

यस्तै सहकारीका कर्मचारीद्वय मुक्त लामा र सुरेन्द्र यादवको नाममा मोरङको कानेपोखरीमा २ बिघा ६ कट्ठा जग्गा किनेर राखिएको पाइएको छ । यो जग्गा सहकारीले प्रयोग गर्न सक्छ भनेर कर्मचारीको मञ्जुरीनामा सहकारी विभागमा बुझाएको छ, जसले बचतकर्ताको रकम दुरुपयोग गरेर कर्मचारीको नाममा जग्गा किनेको पुष्टि गर्छ ।

अनलाइनखबरको सम्पर्कमा आएका सहकारीका अध्यक्ष मल्ल ठकुरी भने यो जग्गा खरिदमा सहकारीको रकम प्रयोग नभएको, तर अहिले संस्थालाई अप्ठ्यारो पर्दा काम चलाउन मञ्जुरीनामा दिएको दाबी गर्छन् ।

तीमध्ये धेरैजसो जग्गा किन्न सहकारीको स्रोत प्रयोग नभएको दाबी अध्यक्ष मल्ल ठकुरीले गरे । ‘तत्काल बिक्री गरेर समस्या समाधान गर्न सक्ने जग्गाको विवरण मात्र सहकारी विभागमा पेश भएको हो’ अध्यक्ष मल्ल ठकुरीले अनलाइनखबरलाई भने, ‘सञ्चालक र व्यवस्थापकको नाममा भएको जग्गा मात्रै नभई एकाघर परिवारको नाममा रहेको सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्छाैं भनेर सहकारी विभागमा मञ्जुरीनामा दिएका छौं ।’

तर, त्यो जग्गा राखेर सहकारीले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) बाट ऋण लिएकाले मल्लको दाबी खण्डन हुन्छ । उक्त ऋण चुक्ता नभएसम्म मञ्जुरीनामा दिए पनि सहकारीले जग्गा भोगचलन गर्न पाउने अवस्था छैन ।

निजी अस्पतालदेखि कलेजमा लगानी

कान्तिपुर सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम कान्तिपुर अस्पतालमा पनि खर्चिएका छन् ।

तीनकुनेस्थित ४३ आना जग्गामा सञ्चालित कान्तिपुर अस्पताल प्रालिमा सीबी (लामा) तामाङ अध्यक्ष छन् भने हिमालय विक्रम मल्ल ठकुरी कार्यकारी निर्देशक । सहकारीका सञ्चालक प्रेमध्वज लामा र नारायण रिमाल पनि अस्पतालको सञ्चालक रहेका छन् ।

यो अस्पतालमा कान्तिपुर सहकारीकै नाममा १ करोड शेयर पूँजी राखेर लगानी गरिएको थियो । सहकारी ऐन २०७४ ले प्राइभेट कम्पनी (प्रा.लि.) मा सहकारीले लगानी गर्न नपाउने व्यवस्था भएपछि सहकारीको नाममा रहेको शेयर सञ्चालकहरूको नाममा सारिएको छ ।

कान्तिपुर अस्पताल सञ्चालन भएको जग्गा सहितको भवन सहकारीकै सम्पत्ति भएको अध्यक्ष मल्ल ठकुरीले बताए । उनका अनुसार कान्तिपुर अस्पतालले अहिले पनि जग्गा र भवनको भाडा समेत गरेर मासिक ४ लाख २५ हजार रुपैयाँ सहकारीलाई बुझाउने गरेको छ ।

अस्पताल परिसरमै सीटीईभीटी, पूर्वाञ्चल विश्वविद्यालय लगायतको सम्बन्धनमा नर्सिङ, ब्याचलर इन फार्मेसी, पब्लिक हेल्थ लगायत सञ्चालन गरिरहेको कान्तिपुर कलेज अफ हेल्थ साइन्सेजमा सीबी लामा नै अध्यक्ष छन् । कलेजमा पूर्वअध्यक्ष लामा, सहकारीका अध्यक्ष हिमालय विक्रम, प्रबन्ध सञ्चालक प्रेमध्वज लामा, नारायणप्रसाद रिमाल लगायत सबै सञ्चालकको समान साढे ३ प्रतिशत शेयर रहेको अध्यक्ष मल्ल ठकुरीले नै स्वीकार गरे ।

कान्तिपुर कलेज अफ हेल्थ साइन्सेज चलाउने समूहले नै तीनकुनेकै पेन्टागन कलेजमा पनि लगानी गरेको पाइएको छ । ‘त्यसमा सहकारीको संस्थागत संलग्नता छैन, तर बचतकर्ताको स्रोत प्रयोग गरी व्यक्तिहरूले लगानी गरेका छन्’, अध्यक्ष मल्लले बताए ।

यसैगरी भक्तपुरको राधेराधे र काठमाडौंको बिजुलीबजारमा सञ्चालित रेस्टुरेन्ट ‘रोयल थाई हस्पिटालिटी’मा पनि कान्तिपुर सहकारीका सञ्चालक र कर्मचारीहरूको लगानी छ । सहकारीका सञ्चालक सहित १४ जनाको साझेदारीमा तीनकुनेको बागमती करिडोरमा ‘द मसरुम हेड लाउन्ज एण्ड बार’ खोलेको पाइएको छ ।

त्यस्तै, यही समूहले निजी लगानीमा नगरकोटमा स्तूपा रिसोर्ट पनि सञ्चालन गरिरहेको पाइएको छ । साथै, खोटाङको हलेसीमा रहेको जाम्बला रिसोर्टमा सहकारी संस्थाका पाँच सञ्चालकको लगानी छ ।

सहकारीले आफ्नो वेबसाइटमा नै कान्तिपुर अस्पताल तथा कलेज, द मसरुम हेड, स्तूपा रिसोर्ट, रोयल थाई रेष्टुराँ र जाम्बला रिसोर्ट आफ्ना साझेदार रहेको उल्लेख गरेको थियो । तर, अहिले संस्थाको वेबसाइट बन्द गरेर राखिएको छ ।

सहकारी सञ्चालकहरूका अनुसार बचतकर्ताले जम्मा गरेको रकम घरजग्गादेखि निजी कम्पनीमा दुरुपयोग गर्दा तत्कालीन सीबी लामा हर्ताकर्ता थिए । २०७७ सालमा कान्तिपुरको सञ्चालकबाट बाहिरिएका उनी अहिले पनि सल्लाहकार छन् भने सञ्चालक समितिमा पनि उनी निकटहरूको बाहुल्य छ ।

सञ्चालक समितिमा रहेका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सदस्य देवराज पराजुली बाहेक अधिकांश तिमाल गाउँका छन् । प्रबन्ध सञ्चालक प्रेमध्वज लामा उनका गाउँले दाजुभाइ हुन् भने जोगलाल लामा र सानुकान्छा लामालाई सीबीले नै सहकारी सञ्चालक बनाएका हुन् । हिमालय स्वयं सहकारी स्थापना भएदेखि नै सीबीका साझेदारका रूपमा रहँदै आएका छन् ।

देवराज पराजुली भने २०७८ माघमा कान्तिपुरमा मर्ज भएको कुपण्डोलको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । त्यो बेला हेटौंडाको मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्था र कोटेश्वरको कुटीर बचत तथा सहकारी संस्था पनि कान्तिपुरमा गाभिएको थियो । पराजुली भने मर्जरभन्दा अगाडिदेखि नै हिमालयविक्रम र प्रेमध्वजहरूको व्यापारिक साझेदार भएको पाइएको छ ।

सहकारीले पछिल्लो ६ महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । आफूहरूको रकम फिर्ता दिलाइपाऊँ भनेर करिब एक हजार हाराहारी बचतकर्ताले सहकारी विभागमा उजुरी समेत दिएका छन् ।

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामाले भने पछिल्लो समय पशुपति बचत तथा ऋण सहकारी चलाएका थिए । कान्तिपुर नछाड्दै सीबीले खोलेको यो सहकारीमाथि पनि बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागेको छ र सीबीलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र लेखेको छ ।

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय पनि कान्तिपुर सहकारी संस्थाले बचतकर्ताको रकम दुरुपयोग गरेको पाइएको बताउँछन् ।

सहकारी संस्थाले कुल लगानीको ५ प्रतिशतभन्दा बढी स्थिर सम्पत्ति लगानी गर्न पाउँदैन । सहकारी ऐन २०७४ को दफा ५० को उपदफा ६ मा पनि सहकारी संस्थाले स्थिर सम्पत्ति लगानी गर्न नपाउने व्यवस्था छ ।

सहकारीले घरजग्गामा ठूलो लगानी नगरुन् भनेर नै यो व्यवस्था राखिएको भए पनि सहकारीहरूमा महँगो ब्याजदरमा निक्षेप लिएर जथाभावी घरजग्गामा लगानी गर्ने प्रवृत्ति देखिएको प्रवक्ता उपाध्याय बताउँछन् । ‘सहकारीले सर्वसाधारणबाट पैसा संकलन गर्ने र त्यो पैसा सञ्चालक र कर्मचारीले आफ्नो नाममा घरजग्गामा लगानी गर्ने गरेको देखियो’ उनले भने, ‘अहिले जग्गा नबिक्ने अवस्था भएपछि बचतकर्ताले पैसा फिर्ता माग्दा दिन नसकेको अवस्था हो ।’

कौडीको जग्गा महँगोमा भिडाउने प्रयास

सहकारीले पछिल्लो ६ महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । आफूहरूको रकम फिर्ता दिलाइपाऊँ भनेर करिब एक हजार हाराहारी बचतकर्ताले सहकारी विभागमा उजुरी समेत दिएका छन् । विभागले सहकारीका सञ्चालक र व्यवस्थापकलाई बोलाएर सोधीखोजी गरेपछि सञ्चालकहरूले बचतकर्ताले जग्गा सकार्न प्रस्ताव गरेका छन् ।

कान्तिपुर सहकारीका बचतकर्ता काभ्रेको तेमाल गाउँपालिकाका रमेश त्रिपाठी भन्छन्, ‘सहकारी बचत निकाल्न जाँदा पैसा थपेर जग्गा पास गर्नु भन्छ । मैले कहाँबाट पैसा ल्याएर जग्गा पास गर्नु ?’

उनका अनुसार दुबईमा वैदेशिक रोजगारी गरेर कमाएको २० लाख रुपैयाँ आमाले कान्तिपुरको मीनभवन र चाबहिल शाखामा राखेकी थिइन् । व्यवसाय गर्ने सोचका साथ त्रिपाठी नेपाल फर्किएको केही महिना मात्र भयो । ‘सहकारीमा राखेको पैसाले कुनै व्यवसाय गरौंला भन्ने सोचले नेपाल फर्किएको थिएँ । अहिले सहकारीबाट आफ्नो पैसा फिर्ता नपाएपछि मर्नु न बाँच्नु भएको छ’, उनले भने ।

पैसा माग्दा जग्गा लिन आग्रह गरेपछि उनी सहकारीले खटाएको दलालसँग काभ्रेको धुलिखेल पुगे । ‘धुलिखेलबाट ५/७ किलोमिटर माथि डाँडोमा प्लटिङ गरेको जग्गा रहेछ । चलनचल्तीको भन्दा धेरै मूल्य भनेपछि त्यस्तो जग्गामा थप पैसा फसाउन्न भनेर फर्किएँ’, उनले भने ।

काभ्रेमै शिक्षण पेशा गरिरहेका एक बचतकर्तालाई पनि सहकारीले भक्तपुरको चाँगुनारायण नगरपालिकामा जग्गा पास गरिदिएको छ । ‘बचत र ब्याजसहित करिब ५० लाख थियो । सहकारीले एउटा जग्गा देखाएर ९० लाख मूल्य भन्यो’ नाम खुलाउन नचाहेका ती बचतकर्ता भन्छन्, ‘त्यो जग्गालाई ७०/७५ लाख मात्रै पर्ने हो । तर ५० लाख डुबाउन हुन्न भनेर ४० लाख थप गरेर त्यही जग्गा भए पनि पास गरें ।’

बचत फिर्ता गर्न नसकेपछि सम्पत्ति लिन चाहनेहरूलाई जग्गा पास गरिरहेको सहकारीका महाप्रबन्धक प्रेम लामाले पनि स्वीकार गरे । उनले भने, ‘सहकारीमा भएको बचत रकममा अपुग हुने पैसा थपेर जग्गा पास गर्छु भन्ने बचतकर्तालाई हामीले पास गरिरहेका छौं ।’ तर, जग्गा पास गर्दा बचतकर्ताले थप ५ देखि १० लाख रुपैयाँ सहकारीमा बचतका रूपमा राख्नुपर्ने नियम बनाएको पनि मल्लले बताए ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?