
२० असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनलाई ढाका टोपी र आँखीझ्याल उपहार दिएका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी एक सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका पूर्व महासचिव मुनलाई मन्त्री मोदीले ढाका टोपी लगाइदिँदै आँखीझ्याल उपहार दिएका हुन् ।
उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । ‘नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुँदा दिनुभएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु’ मन्त्री मोदीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक बुद्ध लामाले भने, ‘नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।’
संयुक्त राष्ट्र संघका पूर्व महासचिव मुनले नेपालले प्राप्त गरेको उपलब्धिबारे प्रशंसा गरेका थिए । उनले नेपाललाई आवश्यक परे सकारात्मक साथ दिन सदैव तयार रहेको पनि बताएका थिए ।
प्रतिक्रिया 4