+

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

२०८० असार  २० गते १३:२५ २०८० असार २० गते १३:२५
मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर  कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ ।

त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा. रविनबहादुर बस्नेतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

मिर्गौलामा पत्थरी के कारणले हुन्छ ?

सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निष्कासन गर्नु हो । तर कहिलेकाहीं शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिडलगायत विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्त्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।

‘क्याल्सियम अक्सालेट’ पत्थरी मिर्गौलाको पत्थरीको सबैभन्दा सामान्य प्रकार हो । शरीरमा क्याल्सियम र अक्सालेटको मात्रा चाहिने भन्दा बढी भयो भने पिसाबमा घुलेर बाहिर ननिस्किएर थिग्रिएर बस्छ र ढुङ्गा बन्छ ।

मिर्गौलाबाट आएको पिसाब मूत्रनली हुँदै पिसाबथैलीमा आउनुपर्छ । तर यदि मिर्गौला र मूत्र नलीको बनावट राम्रो छैन भने पिसाब थैलीमा आउन सक्दैन । जसले गर्दा पिसाब मिर्गौलामा नै रहिरहन्छ र नुन थिग्रिएर ढुङ्गा बन्छ ।

विभिन्न किसिमको पिसाबको इन्फेक्सन भयो भने कीटाणुहरूले पिसाबमा भएको युरियालाई टुक्राएर ढुंगा बन्न सक्छ । कुपोषित बच्चाहरूमा पिसाब थैलीमा ढुंगा बन्न सक्छ । साथै वृद्धावस्थाका पुरुषहरूमा प्रोस्टेट ठूलो भएर पिसाब थैलीबाट पिसाब निख्रिन सकेन भने पिसाब थैलीमै अड्किएर ढुंगा बन्छ ।

सुपारी खाने मान्छेको मिर्गौलामा पत्थरी हुन्छ भनिन्छ, यो कति सत्य हो ?

सुपारी खाएकै कारण मिर्गौलाको पत्थरी हुने होइन । तर पत्थरी गराउने कारणमध्येमा सुपारी पर्छ । सुपारीमा ‘एरकोलिन’ भन्ने केमिकल हुन्छ, जसले ढुंगा बनाउन मद्दत गर्छ । तर सुपारी धेरै खाने मानिसमा पत्थरी हुन्छ नै भन्ने पनि छैन । बरु रातो मासु, धेरै नुनिलो खानेकुरा खाने व्यक्तिमा पत्थरीको समस्या देखिन सक्छ । युरिक एसिड भएको व्यक्तिले युरिक एसिड बढ्ने खानेकुरा धेरै खायो भने ढुंगा बन्न सक्छ ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

पत्थरी भए बिरामीलाई अत्यधिक दुखाइ हुन्छ । धेरैजसो पत्थरी मिर्गौलामा नै बन्छ । मिर्गौला ढाड नजिक हुने भएको ढाड दुख्यो भने मिर्गौलामा पत्थरी छ कि भनेर शंका गर्न सकिन्छ । त्यो पत्थरी नलीमा अड्कियो भने त्यसले गर्दा मिर्गौलाबाट पिसाब निस्कन पाउँदैन अड्किन्छ, जसले गर्दा मिर्गौला फुल्छ र ढाड दुख्छ ।

पिसाब थैलीमा ढुंगा छ भने पेट दुख्छ । पिसाब पोल्ने, बारम्बार पिसाबको इन्फेक्सन हुने, पिसाब पोल्ने र पिसाबमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । कसैकसैमा पिसाबमा साना-साना ढुंगाको टुक्रा जाने पनि हुन्छ । यी लक्षणहरू देखिए पत्थरी हो कि होइन भनेर पत्ता लगाउन अल्ट्रासाउन्ड गर्नुपर्छ । अल्ट्रासाउन्डमा सबै प्रकारको ढुंगा देखिन पनि सक्छ त्यस्तोमा सिटिस्क्यान गरेर पत्थरी भए नभएको थाहा पाउन सकिन्छ ।

एउटा आम बुझाके छ भने मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् । यो सत्य हो ?

मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् भन्ने कुरा पूरा सत्य होइन र डाक्टरले त्यस्तो सल्लाह दिन पनि मिल्दैन ।

पिसाब कम बनेको अवस्थामा क्रिस्टल थिग्रिएर ढुंगा बन्छ । पिसाब उचित मात्रामा लाग्यो भने सानो साने ढुंगा पिसाबबाटै निस्कन सक्छ । त्यसैले उचित मात्रामा पिसाब बन्न प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ भन्ने सल्लाह चाहिं हामी दिन्छौं । पानी, दाल, दही, मोही लगायतका तरल पदार्थ दैनिक तीन लिटर खानुपर्छ ।

बियर पिउँदा अन्य तरल पदार्थको तुलनामा बढी पिसाब हुने भएकाले बियर पिउँदा ढुंगा मर्छ भन्ने कुरा आम मानिसले गरेका  हुन् । तर पत्थरीमा बियर पिउनु भनेर सल्लाह दिनु गलत हो ।

मिर्गौलामा पत्थरी भएको भन्दै बियर खाँदा त्यसले अरू अंगमा हानि गर्छ होला नि ?

मिर्गौलामा पत्थरी भएको भन्दै धेरै बियर पिउँदा अन्य अंगमा हानि गर्न सक्छ । पत्थरी निकाल्न भन्दै धेरै बियर पिएर ‘अल्कोहल पोइजनिङ’ भएर अस्पताल आएर आईसीयूमै भर्ना गर्नु परेको घटना पनि  छन् । त्यसैले पत्थरी निकाल्न भन्दै धेरै बियर पिउनु गलत हो ।

मिर्गौलाको पत्थरी भएमा के के छ उपचार ?

पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ । यदि पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ । अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरीकनै गरिने अप्रेसन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्यमबाट बगाइन्छ ।

छालाबाट प्वाल पारेर पनि पत्थरीको उपचार गरिन्छ । यस्तो उपचार विधिलाई पीसीएनएल भनिन्छ । यस्तो अप्रेसन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पीसीएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाहिं मिनी पीसीएनएल पाइप । खासगरी सानो खानको पत्थरको लाग मिनी पीसीएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्यमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।

अर्को शल्यक्रिया विधिलाई यूआरएस भनिन्छ । विशेषगरी पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउँदै अपनाइँदैन भन्ने चाहिं होइन । यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फ्लेक्जिबल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झिक्ने काम गरिन्छ ।

पत्थरी हुनै नदिन के गर्ने ?

पत्थरीको समस्याबाट जोगिन दैनिक तीन लिटर पानी पिउनुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । नुनको मात्रा कम गरेमा पत्थरी बन्न धेरै कम हुन्छ । योसँगै तौलमा नियन्त्रण हुनुपर्छ र प्रोटिनयुक्त खाना कम खानुपर्छ ।

ढुंगा सानो हुँदा नै पत्ता लाग्यो भने सामान्य उपचारबाट पनि निको हुन सक्छ । त्यसको लागि वर्षमा एक पटक पिसाबको रुटिन जाँच, भिडियो एक्सरे गर्नुपर्छ ।

डा. रविनबहादुर बस्नेत पत्थरी मिर्गौला
डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?