
२० असार, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा आवेदन दिएका लगानीकर्ताले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् । सो कम्पनीको आईपीओमा फर्जी आवेदन परेको पुष्टि भएसँगै यसअघि धितोपत्र बोर्डले आईपीओ निस्कासनलाई बीचमै रोक लगाएको थियो। स्वार्थ बाझिने गरी भएको क्रेडिट रेटिङका आधारमा प्रिमियम निर्धारण भएकोसमेत आरोप लागेकाले त्यो मूल्यमा आवेदन दिन नचाहने लगानीकर्ताले आवेदन फिर्ता लिनसक्ने निर्णय नेपाल धितोपत्र बोर्डले गरेको छ ।
यससँगै बोर्डले यसअघि स्थगित गरेको सार्वजनिक निष्कासन पनि पुनः शुरु गर्ने निर्णय गरेको छ । अनलाइन प्रणाली सी-आस्वामा दर्ता भएका आवेदनहरूमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय भएको धितोपत्र बोर्डले जनाएको छ ।
आईपीओमा फर्जी निवेदन दिने लगानीकर्ताहरू निस्कासनकर्ता कम्पनी घोराही सिमन्टसँग सम्बन्धित नदेखिएकाले यो प्रक्रियालाई पुनः शुरु गर्ने निर्णय भएको बोर्डले जनाएको छ । ‘आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारबाही सेयर निष्कासनकर्ता कम्पनीको कामकारबाहीभन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरूको निष्कासनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको’ निष्कर्ष बोर्डले निकालेको छ ।
आवेदन गरेका सर्वसाधारणहरूको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको सेयर बाँडफाँट भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैयाँ कम्पनीको खातामा रकमान्तर भइसकेको अवस्थालाई मध्यनजर गर्दै यो प्रक्रियालाई खुला गरेको बोर्डले बताएको छ । आर्थिक वर्षसमेत समाप्त हुन लागेकाले फर्जी आवेदन, विक्री प्रबन्धकले मागभन्दा बढी अवेदन पर्दा पनि म्याद थप गरेको र एनआईसी एशिया बैंकले खातामा रकम नहुँदासमेत आईपीओ स्वीकृति गरेको विषयमा थप छानबिन गर्नेगरी आईपीओ निष्कासन अगाडि बढाउने निर्णय भएको बोर्डले जनाएको छ ।
आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको बोर्डले जनाएको छ । तीन दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप सात दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको हो ।
तर, फर्जी निवेदनका विषयमा थप छानबिनका लागि प्रहरीकहाँ पठाउने निर्णय पनि बोर्डले गरेको छ । सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले बैंक खातामा पर्याप्त रकम नहुँदा नहुँदै फर्जी निवेदन हालिएकाले जालसाजीका विषयमा छानबिनका लागि प्रहरीलाई पठाउने निर्णय भएको बोर्डले जनाएको छ ।
एनआईसी एशिया बैंक र विक्री प्रबन्धकहरूमाथि पनि छानबिन हुने
घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन परेको विषयमा धितोपत्र बोर्डले एनआईसी एसिया बैंकमाथि पनि छानबिन गर्ने भएको छ । आवेदनको खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन स्वीकृत गरेको भन्दै बोर्डले बैंकमाथि पनि छानबिन अघि बढाउने भएको छ ।
घोराही सिमेन्ट र एनआईसी एसिया बैंक दुवैमा विशाल र सांघाई ग्रुपको प्रमुख लगानी छ । कम्पनीको आईपीओमा केही लगानकर्ताहरूले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरूलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएको थिए ।
उक्त आवेदकहरूसँग निष्काशनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरूसँग कुनै सम्बन्ध नदेखिएको बोर्डले जनाएको छ । तर, ती आवेदन सर्वसाधारणहरूलाई भ्रमित पार्ने उद्देश्यले गरेको देखिएकाले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनको लागि सिफारिस गर्ने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानबिन गर्ने निर्णय धितोपत्र बोर्डले गरेको छ । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कम्पनीको बिक्री प्रबन्धक छन् । दुईवटै कम्पनीमाथि पनि बोर्डले छानबिन गर्ने भएको हो ।
हेर्नुहोस् घोराही सिमेन्टबारे बोर्डले जारी गरेको विज्ञप्तिः
प्रतिक्रिया 4