+
+

भन्सार जाँच पासका लागि पहिलो पटक १० वटा गाडी चोभार सुख्खा बन्दरगाह आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:४५

२० असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधन आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यवसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो ।

इन्टरमोडल यातायात विकास समितिका अनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका हुन् । फ्रान्सेली कम्पनीको उक्त गाडी गोल्छा समूहले काठमाडौं ल्याएको हो ।

बन्दरगाह व्यवस्थापन गरिरहेको विकास समितिका अनुसार वीरगञ्जमा भन्दा सस्तो मूल्यमा भन्सार यार्ड उपलब्ध गराएका कारण भन्सार जाँचपासका लागि यी सवारी साधन काठमाडौं ल्याइएको हो । कम्पनीले ३४ वटा गाडी काठमाडौं ल्याउने जानकारी विकास समितिलाई गराएको छ ।

वीरगञ्जमा भन्सार यार्डमा गाडी पार्क गर्दा प्रतिदिन ५ सय  रुपैयाँ शुल्क लाग्ने गर्दछ । काठमाडौंमा प्रतिदिन ३ सय रुपैयाँ सस्तोमा गाडी पार्किङ गराउन सकिने भएकाले गाडी व्यवसायीका लागि चोभार राम्रो भन्सार विन्दु भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

‘अहिले वीरगञ्जमा ५ सय भन्दा धेरै गाडी पार्किङमा छन् । ती गाडीलाई पनि काठमाडौं ल्याए हुन्छ,’ गजुरेलले भने, ‘हामीले नाडा (अटोमोवाइल डिलर) लाई पनि यो कुरा भनेका छौं, काठमाडौंबाट गाडीको भन्सार जाँच पास सजिलो पनि र सुरक्षित पनि हुन्छ ।’

गोल्छा समूहले गाडी भित्र्याएपछि चोभारसम्म गाडी ल्याउन सकिन्छ र चोभार बन्दरगाह चल्छ भन्ने पुष्टि भएको गजुरेलको दाबी छ । २२ चैत २०७८ मा चोभार बन्दरगाह सञ्चालनमा आएको थियो । चालु आर्थिक वर्षको ११ महिनामा चोभार बन्दरगाह भएर ५८ करोड ८० लाख ४२ हजार रुपैयाँको माल वस्तु आयात भएको छ ।

यस्तै एक करोड ४४ लाख २८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । आयातमा चोभारको हिस्सा ०.०४ प्रतिशत छ भने निर्यातमा ०.०१ प्रतिशत हिस्सा ओगट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?