+
+

बागमती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १८:५०

२० असार, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले कामाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले बागमती नदी र यसका सहायक नदीहरुको जलाधार क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरु ६ महिनाभित्र व्यवस्थापन गरी खाली गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदयकुमार भण्डारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन पटक पटक प्रयास गरेको छ । १२ मंसिर २०७९ मा महानगरपालिका थापाथलीको सुकुम्बासी बस्ती खाली गराउन डोजर लिएर पुगेको थियो । तर बस्तीका बासिन्दाले प्रतिकार गरेपछि फर्केको थियो । त्यस क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए ।

महानगरपालिकाले त्यसपछि २४ चैत २०७९ मा गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । त्यहाँ पनि बस्तीका बासिन्दाले सडकमा टायर र काँडेतार लगाएर प्रदर्शन गरेपछि फर्किएको थियो ।
काठमाडौं महानगरपालिले नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन सार्वजनिक सूचना निकालेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा पनि मुद्दा परेको थियो । २७ चैत २०७९ मा उच्च अदालतले उचित विकल्प दिएर मात्र सुकुम्बासी बस्ती खाली गराउन आदेश दिएको थियो ।

उपत्यकामा ३ हजार ४९६ अव्यवस्थित घर

काठमाडौं उपत्यकाका नदी किनारमा अव्यवस्थित घरधुरीको संख्या ३ हजार ४९६ वटा छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा २ हजार २४५ घरधुरी अव्यवस्थित बसोबासी अर्थात सुकुम्बासी छन् ।

काठमाडौं महानगरपालिका–१० को देवीनगरमा ४०, शान्ति विनायकमा, ३६, शंखमुलमा १५० घरधुरी अव्यवस्थित बसोबासी छन् । वडा नं ११ अन्तर्गत थापाथलीमा १४३, वंशीघाटमा १९३, वडा नं ४ को धुम्बाराहीमा ६ र बालुवाटारमा १४ घरधुरी अव्यवस्थित बसोबासी छन् ।

वडा नं ३ को खाडी पाखामा १४७, नारायणटोलमा ३२ र रानीबारीमा १० घरधुरी सुकुम्बासी छन् । वडा नं २९ को अनामनगरमा २३, वडा नं १४ को बल्खुमा ४०१, वडा नं ३२ को जडिबुटी चोकमा ११४, वडा नं १६ का बुद्धज्योतिमा ७५, वडा नं २ को ढिकुरेमा १९, वडा नं ३१ को शान्तिनगरमा ४७६, वडा नं २६ को संगमटोलमा ३५, वडा नं ९ को सिनामंगल/गैरीगाउँमा १६२, वडा नं १५ को स्वयम्भूमा ४६ घरधुरी सुकुम्बासी रहेका छन् ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ को कागेश्वरी मनोहरा टोलमा १३ र वडा नं ८ को गोठाटार बुद्धचोकमा ७७ गरी ९० घरधुरी सुकुम्बासी छन् । बुढानिलकण्ठ नगरपालिकाको कपनमा १४ र पाथीभरमा १४२ गरी १५६ वटा अव्यवस्थित घरधुरी छन् ।

ललितपुरको ललितपुर महानगरपालिकाको बालकुमारी क्षेत्रमा १७ वटा र गोदावरी नगरपालिकाको नहर क्षेत्रमा २१५ वटा घरधुरी अव्यववस्थित बसोबासी छन् । भक्तपुरमा ७७३ घरधुरी अव्यस्थित बसोबास रहेको समितिको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?