
२० असार, काठमाडौं । नेपाल उद्योग परिसंघले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्थाले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सरकारसँग माग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालसँग बुधबार भेटेर परिसंघले यस्तो माग गरेको हो ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मन्त्री रिजाललाई भेटेर अर्थतन्त्र, औद्योगिक उत्पादन वृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा सुझाव समेत दिएका छन् ।
अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको र त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए ।
ठूला उद्योग तथा व्यावसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाइ गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानुन ल्याउनुपर्ने सुझाव परिसंघले दिएको छ ।
औद्योगिक क्षेत्र सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि परिसंघले आग्रह गरेको छ ।
छलफलमा मन्त्री रिजालले निजी क्षेत्रले उठाएका विषयमा सरकारले सहजीकरण गर्ने आश्वासन दिए ।
छलफलमा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे लगायत सहभागी थिए ।
प्रतिक्रिया 4