+
+
ललितानिवास प्रकरण :

गेहनाथ भण्डारी : सीआईबीको राडारमा नपरेका पर्दापछाडिका खेलाडी

ललितानिवास जग्गा प्रकरणका सिलसिलामा भएका विभिन्न निर्णय र पत्राचारहरूमा कतै पनि नजोडिने तर पर्दापछाडि सक्रिय रहेका कर्मचारी हुन्, सुधीरकुमार शाह र गेहनाथ भण्डारी । शाह पक्राउ परेर अनुसन्धानमा तानिंदा समेत भण्डारी भने बाहिरै छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० असार २० गते २१:२२

२० असार, काठमाडौं । करिब चार वर्षअघिको कुरा हो, ललितानिवास जग्गा अनियमितता छानबिन गर्न गठन भएको पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि अख्तियारले अनुसन्धान थाल्यो ।

अख्तियारको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललितानिवासको जग्गा लिने र किनबेच गर्नेहरूको सूची तयार पारेको थियो । सूचीमा रहेकाहरूमध्ये भुवनकुमारी चापागाई र सोदाकुमारी चापागाई को हुन् भन्ने खुल्न निकै समय लाग्यो ।

उनीहरूले उर्मिला शाहसँग मिलेर जग्गा किनेका थिए । अनुसन्धान हुँदै जाँदा उर्मिला पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहकी पत्नी भएको खुल्यो । साझेदारीमा जग्गा लिने भुवनकुमारी पूर्वसहसचिव गेहनाथ भण्डारीकी पत्नी भएको पत्ता लाग्यो ।

जग्गा पाउने दुवैका पति निजामती सेवामा भए पनि उनीहरू प्रत्यक्ष रूपमा ललितानिवासको जग्गा अनियमिततामा जोडिएका थिएनन् । उनीहरू संलग्न भएको पुष्टि हुने कागजात र विवरण कतै भेटिंदैनथ्यो । २०४९ सालमा राणा परिवारको नाममा ११२ रोपनी जग्गा आएपछि करिब २२ रोपनी जग्गा घुसबापत बाँडिएको र त्यो जग्गा कतिपय कर्मचारीहरूले आफन्तको नाममा लुकाएको खुल्यो ।

राणा परिवारको नामबाट जग्गा बकस पाउनेको सूचीमा उर्मिला शाह, भुवनकुमारी चापागाई र सोदाकुमारी चापागाईको नाम थियो । करिब ८० आना जग्गामा कतै भुवनकुमारी चापागाईको नाम थियो त कतै सोदाकुमारी चापागाईको ।

जग्गा किन्ने सूचीमा रहेकी सोदाकुमारी चापागाई को हुन् भन्ने त्यतिबेला खुलेन, निकै पछि मात्रै उनी गेहनाथकी सासू भएको भेद खुल्यो ।

गेहनाथ अर्थात् पर्दापछाडिका खेलाडी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३ वर्षअघि विशेष अदालतमा दायर गरेको आरोपपत्रमा पूर्वसहसचिव गेहनाथ भण्डारीको नाम पाँच ठाउँमा मात्रै भेटिन्छ । त्यो पनि भ्रष्टाचारमा संलग्न भएको आरोपितको रूपमा होइन, जग्गा पाउने भुवनकुमारी चापागाईको पतिको रूपमा उनको नाम आरोपपत्रमा समावेश छ ।

‘राणा परिवार र मालपोतका कर्मचारीहरूबीच सम्पर्क गराउने र सबै व्यवस्थापन गर्ने काममा पर्दापछाडि उनको भूमिका देखिन्छ’ तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्बद्ध स्रोत भन्छ, ‘कुनै पनि भूमिका र निर्णयमा उनी संलग्न भएको कागजात भेटिंदैन ।’

ललितानिवासको जग्गा अनियमितताबारे जानकार एक पुराना कानुन व्यवसायीका अनुसार, २०४९ सालताका गेहनाथ भण्डारी राष्ट्रिय योजना आयोगका शाखा अधिकृत थिए । सुधीरकुमार शाह मालपोत कार्यालय भक्तपुरका प्रमुख थिए ।

शाहसँग राणा परिवारको टाढाको नाता जोडिन्थ्यो । गेहनाथको खलक राणा परिवारमा जजमानी गर्थे । उनले राणा परिवारको जग्गाको विषय र विवाद मेसो पाएका थिए ।

कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले प्रजातन्त्रको आन्दोलनका दौरान राज्यबाट जफत भएको सम्पत्ति जाँचबुझ गरेर फिर्ता गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । यही निर्णयमा खेल्ने मेसो मिलाएका भण्डारीले राणा परिवार र मालपोतका कर्मचारीहरूबीच सम्पर्कसूत्रको भूमिका खेले ।

यो कामको प्रक्रिया मिलाउन र कागजी प्रारूप तयार गर्न सुधीरकुमार शाह पनि सक्रिय भए । भक्तपुर मालपोतमा रहेका उनी निर्णय प्रक्रियामा संलग्न हुनुपरेन । तर, जग्गा प्रशासनमा पोख्त उनले सारा प्रक्रियामा सघाए । २०४९ सालमा ललितानिवासको जग्गा राणा परिवारका नाममा फिर्ता हुँदा डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी संलग्न थिए । पर्दापछाडि शाखा अधिकृतद्वय भण्डारी र शाहले सबैतिर मिलाउन मिहिनेत गरे । अहिले भूमाफिया भनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी यो प्रकरणमा जोडिइसकेका थिएनन् ।

डिल्लीबजार मालपोत कार्यालयबाट राणा परिवारको नाममा जग्गा सारेको एक साताभित्रै कर्मचारीहरूले २२ रोपनी जग्गा ‘घुस’ पाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ भने सीआईबीले पनि यही निचोड निकालेको छ । २२ रोपनीमध्ये तत्कालीन शाखा अधिकृतहरू गेहनाथ भण्डारी र सुधीरकुमार शाहले ८० आना (पाँच रोपनी) जग्गा पाए ।

गेहनाथका बाबु रुकुममा पञ्चायत विकास अधिकारी भएर काम गर्दा सुधीरकुमारको ससुरालीमा भाडामा बसेका थिए । यिनीहरू बीचको सम्बन्ध पारिवारिक स्तरकै थियो । उनीहरूले पत्नी र सासूको संयुक्त नाममा जग्गा लिए । जग्गा पाएपछि चुपचाप बसेका यिनीहरू पछिका घटना र निर्णयहरूमा जोडिएनन् । अलग्गै रहे । त्यतिबेला उनीहरूले ‘बालुवाटारमा सँगै घर बनाउने योजना बनाएकाले मिलेर जग्गा किनेको’ भन्ने गर्थे ।

सुवर्णशमशेरका नाति एवं ललितानिवासको जग्गा पाएका हकवाला हाटकशमशेरले यसबारेमा अख्तियारमा मुख खोलेका छन् । पञ्चायतकालमा जफत भएको जग्गा फिर्ता हुने भएपछि ‘मैले सबै काम गरिदिन्छु’ भनी धेरै मान्छेहरू आफ्नी आमा शैलजा राणालाई भेट्न आएको उनले बताए । त्यतिबेला रामनाथ अधिकारी र रामकल्याण अधिकारीको सिफारिसमा आमाले केही व्यक्तिलाई जग्गा बेचेको उनको बयान थियो ।

राणा परिवारले कर्मचारीहरूलाई २२ रोपनी जग्गा बेचेको भनी दाबी गरेपछि अख्तियारले घुसबापत जग्गा बकसपत्र गरेर दिएको दाबी गरेको छ । त्यतिबेला जग्गा मिलाउने काममा रामनाथ अधिकारी र रामकल्याण अधिकारी बिचौलियाको भूमिकामा थिए । उनीहरूलाई सबै काम सिकाउने गेहनाथ भण्डारीबारे अख्तियारले केही बोलेको छैन । तर, उनकी पत्नी भुवनकुमारीले घुसको जग्गा लिएको आरोप लगाएको छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘दाता भनिएका राणाहरूबाट जग्गा बकस पाउनुपर्ने आधार र कारण खुलाउन नसकी गोलमटोल जवाफ लेखे–लेखाएको देखिएकोले बकस मार्फत जग्गा प्राप्त गर्नेहरू निर्दोष हुन् भनी परिस्थितिजन्य प्रमाणहरूबाट विश्वास गर्न सक्ने अवस्था देखिएन ।’

कानुनमा स्नातकोत्तर र अधिवक्ता समेत रहेकी गेहनाथकी पत्नी भुवनकुमारीले अहिले भ्रष्टाचार मुद्दा खेपिरहेकी छन् । पति गेहनाथले पाएको ‘घुस’ बापतको जग्गा आफ्नो नाममा लिएकी उनले त्यो जग्गा किनेकै दाबी गरिरहिन् । उनले विशेष अदालतमा बयानमा भनेकी थिइन्, ‘ससुराले सञ्चयकोषबाट रकम निकालेपछि एक लाख ५५ हजारमा राणा परिवारबाट जग्गा किनिएको हो ।’

अहिले ७६ वर्ष पुगेकी सोदाकुमारी चापागाई ज्वाईं गेहनाथका कारण भ्रष्टाचार मुद्दा खेपिरहेकी छिन् । किनभने गेहनाथले आफूले पाएको जग्गा सासूका नाममा राखेका थिए । उनले विशेष अदालतमा बयान गर्दै, ‘छोरी भुवनकुमारीले नै जग्गा किनेको र उनले भनेअनुसार नै बिक्रीका लागि मञ्जुरीनामा दिएको’ बताएकी थिइन् ।

उनको दाबी आफैंमा अपत्यारिलो छ । कसैले पनि फिल्डमा नहेरी जग्गा किन्दैन, फिल्डमा हेर्न जाँदा जग्गा भेटिंदैनथ्यो । किनभने त्यतिबेला उनीहरूको नाममा आएको जग्गा प्रधानमन्त्री निवासभित्र थियो । सुधीरकुमार शाह प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निजी सचिव हुँदा पर्खाल भत्काएर आफ्ना जग्गाका टुक्राहरू बाहिर पार्न लगाएका थिए ।

राणा परिवारले २०४९ सालमा ललितानिवासबाट जग्गा फिर्ता पाएपछि एकाएक मोही भनिएकाहरू पनि सक्रिय भए र मुद्दामामिला गर्न थाले । त्यसक्रममा जोडिएका रामकुमार सुवेदी र शोभाकान्त ढकालले २०५६÷५७ सालदेखि मोहीले पाएका जग्गा सस्तोमा हात पार्न थालिसकेका थिए । २०६० सालमा उनीहरूले सुधीरकुमार शाह र गेहनाथ भण्डारीको परिवारका नाममा भएको सबै जग्गा किने ।

पाएको जग्गा समेत बेचिसकेपछि सुधीरकुमारका साथै गेहनाथ भण्डारी ललितानिवास जग्गा अनियमिततामा आफ्नो नाम नमुछिनेमा विश्वस्त थिए । कुनै पनि निर्णयमा संलग्न नभएकाले आफ्नो नाम नमुछिनेमा उनी निश्चिन्त देखिन्थे ।

‘चार वर्षअघि ललितानिवास जग्गा अनियमितताको छानबिन सुरु भएपछि उहाँ (गेहनाथ भण्डारी) बारम्बार अख्तियार आउनुभएको थियो । अनुसन्धान अधिकृतहरूलाई भेटेर सूचना दिने र जाने गर्नुहुन्थ्योे’ त्यतिबेला अख्तियारमा रहेको स्रोतले भन्यो, ‘पहिले गृह प्रशासनमा बसेकाले अख्तियार प्रमुख नवीनकुमार घिमिरेसँग पनि उहाँको भेट भएको थियो । कसैले पनि शंका गर्ने कुरा भएन ।’

अनुसन्धान अघि बढाउँदै जाँदा अख्तियारले राणा परिवारबाट घुसबापत जग्गा नै बाँडिएको सूचना पायो । मालपोत कार्यालयबाट जग्गा किन्ने र बेच्नेहरूको फेहरिस्त निकाल्यो । त्यसक्रममा गेहनाथ भण्डारी र सुधीरकुमार शाहले पत्नी र सासूको नाममा राणा परिवारबाट जग्गा बकस पाएको र पछि बेचेको खुल्यो ।

‘त्यो सूचनापछि नयाँ कोणबाट अनुसन्धान गर्दा सुधीरकुमार शाहका साथै गेहनाथ भण्डारीले पर्दापछाडि बसेर काम गरेको खुल्यो’ अख्तियार स्रोतले भन्यो, ‘निकै आश्चर्यमा परेका अख्तियार प्रमुखले आफ्ना पूर्वसहकर्मीहरूलाई मुद्दा चलाएनन् । जग्गा पाएका उनीहरूका पत्नी र नातेदारलाई मुद्दा चलाएर बाँकी ढाकछोप गरियो ।’

अहिले सीआईबीले त्यतिबेला अख्तियारबाट संरक्षण पाएका शाहका साथै भण्डारीमाथि समेत अनुसन्धान थालेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा किर्ते कागजात तयार गर्न उनको समेत पर्दापछाडिबाट भूमिका देखिएको ब्यूरोको प्रारम्भिक निष्कर्ष छ । तर, पूर्वसहसचिव शाहलाई पक्राउ गरेको सीआईबीले भण्डारीलाई भने अनुसन्धानमा तानेको छैन ।

‘काठमाडौं जिल्ला अदालतबाट गेहनाथ भण्डारीको हकमा समेत पक्राउ अनुमति लिइसकिएको हो’ ब्यूरो स्रोतले भन्यो, ‘सुधीरकुमार शाह र उनको अवस्था केलाउँदा उही भूमिका, उस्तै रवैयामा रहेका सुधीरकुमार पक्राउ पर्दा गेहनाथ भने अझै पक्राउ परिसकेका छैनन् ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?