+
+

एमालेको बटमलाइन : प्रधानमन्त्री प्रचण्ड अस्वीकार्य

माओवादीको जवाफ : राजीनामा कल्पना पनि गर्न सकिन्न

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असार २० गते २२:१२

२० असार, काठमाडौं । संघीय संसदको दुबै सदन अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई बटमलाइन बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

सोमबार ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको र नेपालको स्वाभिमान गिरेको एमालेको निष्कर्ष छ ।

राष्ट्रिय सभाको बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले दिल्लीको इशारामा बनेका प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले भने, ‘…भारतको इशारा, भारतको नेतृत्व र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं ।’

प्रतिनिधिसभा बैठकमा बोलेका एमाले सांसद रघुजी पन्तले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अघि एमालेले संसदीय दलको आकस्मिक बैठक राखेको थियो । संसद भवन नयाँ वानेश्वरमै बैठक करिब २५ मिनेट बसेको थियो, जहाँ ओलीले झण्डै २० मिनेट बोलेका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री प्रचण्डले विगतमा दिल्ली लक्षित दिएका अभिव्यक्तिहरु स्मरण गरे ।

पछिल्लो अभिव्यक्ति ‘भारतका लागि समेत कम्फर्टेबल सरकार’कै निरन्तरता भएको भन्दै उनले अब पनि प्रचण्डलाई प्रधानमन्त्रीमा निरन्तर रहन दिँदा नेपालको सरकार भारतले बनाउँदै आएको र बनाइरहन्छ भन्ने सन्देश देशभित्र र बाहिर स्थापित हुने बताए ।

एक सांसदका अनुसार अध्यक्ष ओलीले प्रष्ट रुपमा प्रधानमन्त्री प्रचण्डलाई स्वीकार गर्न नसक्ने बताएका छन् । त्यसका लागि आफूले समेत भूमिका खेल्ने भन्दै उनले संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक पास गरेर जाने जस्ता प्रस्ताव आउनसक्छन् । त्यतातिर अल्झियौं भने हामी कमजोर हुन्छौं ।’

एमाले अध्यक्ष ओलीले आफूहरुले राजीनामा माग गरेपछिको परिस्थिति कस्तो आउनसक्छ र त्यो बेला कसरी अगाडि जाने भन्ने समेत संकेत गरेको नेताहरु बताउँछन् । ‘राजीनामै भनिसकेपछि यो विषयमा ब्याक हुने, विषयान्तर गरेर जाने कुरा भएन’, ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक सांसदले अनलाइनखबरसित भने, ‘गठबन्धनबाटै जोसुकै प्रधानमन्त्री बनुन् । तर प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरिरहनु हुन्न ।’

ओलीले पार्टीका सांसदहरुलाई सञ्चारमाध्यममा समेत निर्णयअनुसार नै प्रस्तुत हुन निर्देशन दिएका छन् । ‘जोसुकै होस्, मौनता साँध्ने कुरा हुँदैन । कडा प्रतिवाद गर्नुस् । राजीनामा न्यूनतम बटमलाइन हो, यसका लागि भूमिका खेल्नुहोस्’, ओलीले भनेका छन् ।

प्रचण्डका लागि राष्ट्रहित जहिले पनि गौण भएको र भित्री मनसाय भारत खुसी पार्ने देखिएको उनले बताए । ‘संसदले बनाएको प्रधानमन्त्रीले नै प्रधानमन्त्री बनाउन दिल्ली जानुपर्छ भन्नुभयो’ ओलीले भने, ‘भारतले मात्रै सामथ्र्य राख्छ प्रधानमन्त्री बनाउने भनेर भन्न खोजेको के हो ? यस्ता प्रश्नहरु बाहिर पनि गर्नुहोस्, उठाउनुहोस् ।’

संसदीय दलका नेता ओलीको निर्देशन अनुसार नै प्रतिनिधिसभामा रघुजी पन्त र राष्ट्रिय सभामा देवेन्द्र दाहालले राजीनामा मागेका छन् । दुबै सदन एमालेले अवरुद्ध गर्‍यो ।

आधा घण्टाका लागि संसद स्थगित गरेका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख सचेतक र सचेतकहरु समेतको छलफल एकपक्षीय, दुई पक्षीय र सर्वपक्षीय बैठक पटक–पटक बस्यो । प्रमुख सचेतक र सचेतकहरुको छलफलमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी भए ।

नेताहरुका अनुसार सत्तारुढ दलका नेताहरुले संसदमा आएर प्रधानमन्त्री संसदमा जवाफ दिन तयार थिए । सचेतक र प्रमुख सचेतकहरुसँग भएको छलफलमा त्यो सन्देश दिइएको थियो, तर एमाले तयार भएन । एमालेले राजीनामा दिनुपर्ने अडान लियो ।

र सूचना टाँसेर संसदको अर्को बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय भएपछि एमाले अध्यक्ष ओली संसद भवनबाट बाहिरिए । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।

‘प्रधानमन्त्रीले स्पष्टीकरण दिन्छु भन्नुभएको छ नि’ भन्ने पत्रकारको प्रश्नमा ओलीले भनेका छन्, ‘हामीलाई स्पष्टीकरण होइन, राजीनामा चाहिन्छ ।’

राजीनामा कल्पना पनि गर्न सकिन्न : माओवादी

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले भने प्रधानमन्त्रीको राजीनामा कल्पना समेत गर्न नसकिने बताएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे सरकारले सुशासनमा सरकारले दिएको पहलबाट अतात्तिएर प्रधानमन्त्रीको राजीनामा मागिएको बताए ।

मिटरब्याज पीडितहरुका लागि ल्याएको अध्यादेशलाई प्रातिस्थापन गर्न ल्याएको विधेयक फेल गराउन एमालेले संसद अवरुद्ध गरेको उनको आरोप छ । प्रमुख सचेतक/सचेतकहरुसँग भएको छलफलमा सहभागी पाण्डेले भने, ‘एमालेका साथीहरुले राजीनामा भन्दा केही हुनुभएको छ । मैले राजीनामा कल्पना पनि गर्न सकिँदैन भनुको छु ।’

नेपालको संसदीय इतिहासमा बजेट अधिवेशनमा कहिल्यै पनि मत विभाजन भएको थिएन । तर यो पटक नियमावलीमा व्यवस्था छ भनेर प्रमुख प्रतिपक्षले मागेपछि मत विभाजन भएको भन्दै उनले भने, ‘त्यो बेलामा दस्तखत गरेर १४७ जनाले मत दिनुभएको छ । प्रतिपक्षको १०८ छ । यसको एक साता पनि नबित्दा केको राजीनामा ।’

प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिलाई लिएर सांसदहरुले संसदमा प्रश्न सोध्न सक्ने र प्रधानमन्त्रीले पनि यो विषयवस्तु के हो भनेर जवाफ दिन पाउनुपर्ने उनले बताए । माओवादी प्रमुख सचेतक पाण्डेले अगाडि भने, ‘मिडियामा के आयो भनेर राजीनामा हुन्न ।’

एमालेले भने अन्य कुनै शर्तमा संसदको काम कारबाही अघि बढ्न नसक्ने बताएको छ । सचेतक महेश बर्तौला भन्छन्, ‘निकास भनेको प्रधानमन्त्रीको राजीनामा हो, यसको विकल्प देखिन्न ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?