
काठमाडौं । मुलुकको ऐतिहासिक राजनीतिक घटना कोतपर्वमाथि निर्माण हुन लागेको फिल्मको शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।
‘कोतपर्व’ नाम तय गरिएको यो फिल्ममा सौगातको शीर्षमध्येको भूमिका हुने भए पनि उनको पात्रबारे खुलाइएको छैन । ‘उहाँ शीर्ष पात्रको लागि अनुबन्धित हुनुभयो । अन्य कलाकारहरु तय गर्ने क्रम बाँकी छ,’ निर्देशक रिमेश अधिकारीले अनलाइनखबरसँग भने । फिल्मको निर्माण नियन्त्रक पुष्कर लामाले पनि सौगातलाई अनुबन्धित गरिएको पुष्टि गरे ।
प्रमुख महिला पात्रमा अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ तर यसबारे टुंगो लागेको छैन । फिल्मको छायांकन आगामी चैतदेखि सुरु गर्ने तयारी छ । तीन वर्ष लगाएर लेखिएको भनिएको पटकथाले जंगबहादुर राणाको उदयको एक महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई चित्रण गर्ने जनाइएको छ ।
‘त्यतिबेलाको राजनीति र अहिलेको राजनीतिबीच लगभग समानता छ । त्यतिबेलाको राजनीतिले अहिलेको राजनीतिक घटनाक्रमलाई पनि सम्झाउँछ,’ निर्देशक अधिकारीले फिल्मबारे भने, ‘नालापानी फिल्मजस्तै इतिहासको नजिक रहेर यो फिल्म बन्नेछ ।’ उनले फिल्म काल्पनिक नहुने बताए । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुनेछ ।
‘इतिहासविद्सँग छलफल गरेर तथ्यहरु तयार पारिएको छ,’ उनले भने । फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । विक्रम सम्वत् १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर राणा शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।
रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिव चन्द्र छन् ।
सौगात मल्लको कुरा गर्दा उनी यतिबेला एक्सन थ्रिलर फिल्म ‘अगस्त्य’को छायांकनमा व्यस्त छन् ।
प्रतिक्रिया 4