+
+

जिल्ला सभापतिहरूको सम्मेलनबाट उत्साहित कांग्रेस नेता

लिलु डुम्रे लिलु डुम्रे
२०८० असार २१ गते २०:५४

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा बिहीबार जिल्ला सभापतिहरूको भेला भएको छ । कांग्रेस इतिहासमा क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न जिल्ला सभापतिको भेला भएको पहिलो पटक हो ।

यसपटक भेला मार्फत सदस्यता वितरणबारे छलफल भएको छ । भेलामा उपस्थित हुन क्रियाशील सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण लगायत तथ्यांक ल्याउन निर्देशन दिइएको थियो ।

सदस्यताको अतिरिक्त भेलाको अर्को एजेण्डा विधान बमोजिम गर्नुपर्ने विभिन्न तहका सम्मेलन छ । विधानमा सबै तहको प्रत्येक वर्ष सम्मेलन हुनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन भएको छैन । वैशाखमा दुई महामन्त्रीले परिपत्र गरेर सम्मेलन गर्न निर्देशन दिएका थिए । वडा, पालिका, प्रदेश÷संघ निर्वाचन क्षेत्र, जिल्लाको सम्मेलन जारी रहेको छ । डेढ दर्जन जिल्लाले सम्मेलन सकेका छन् । विधानमा सम्मेलनको व्यवस्था भए पनि कार्यान्वयन भएको थिएन । विगतमा विधान अनुसार सम्मेलन नगरिएकाले हाल भइरहेको सम्मेलन ‘पहिलो’ छ ।

भेलामा ४१ जिल्लाका सभापति सहभागी भएका छन् । सभापतिहरू उपस्थित हुन नसकेका जिल्लाबाट प्रतिनिधि पठाइएको थियो । सभापति र प्रतिनिधि गरी ५८ जना उपस्थित भएका थिए । केही जिल्लाका सभापतिहरू जुम मार्फत जोडिने व्यवस्था मिलाइएको थियो । भेलामा प्रविधिको उच्चतम प्रयोग गरेर समयानुकूल कांग्रेसलाई बनाउन सभापतिहरूलाई प्रशिक्षित गरिएको थियो ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता वितरण तथा तहगत सम्मेलनलाई विशेष जोड दिएर सभापतिहरूको क्रियाशीलताको अपेक्षा राखे । केन्द्रमा महासमिति जस्तै तल्लो तहमा सम्मेलन भएको उनले बताए । ‘तपाईंहरू केन्द्रमा महासमिति बैठकको अपेक्षा गरे जस्तै हामीले तल्लो संरचनाको सम्मेलन विधान अनुसार होस् भन्ने चाहन्छौं’ थापाले जिल्ला सभापतिहरूलाई भने । सम्मेलनका लागि केन्द्रले पठाएको प्रारूप अनुसार गर्न उनले सुझाव दिए ।

खुला र बन्द सत्र गरेर सम्मेलन गर्न थापाको आग्रह थियो । खुला सत्रमा नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रम हुनुपर्ने थापाको जिल्ला सभापतिहरूसँग आग्रह थियो । ‘एनजिओ वा आईएनजिओले गरेका जनतासँग जोडिने कार्यक्रममा जान्छौं भने हामीले नै त्यस्ता कार्यक्रममा किन गर्न सक्दैनौं ?’ थापाको प्रश्न थियो ।

कांग्रेसले महाधिवेशनपछि ६ महिनामा गर्ने निर्णय गरेको नीति महाधिवेशन हालसम्म हुनसकेको छैन । नीति महाधिवेशन हुने÷नहुने अन्योलमा पार्टीभित्र व्याप्त छ । नीति महाधिवेशनका दशैं अघि हुने महामन्त्री विश्वप्रकाश शर्माले भेलामा जानकारी गराए ।

२७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने बताए । केन्द्रीय समिति बैठक अघि बसेको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने शर्माको जिकिर थियो । विधानलाई कार्यान्वयन गर्ने गरी यस प्रकृतिको भेलाले निरन्तरता पाउने शर्माले बताए ।

मूलतः भेला पार्टी संगठनलाई प्रभावकारी बनाउनका लागि बोलाइएको हो । सहभागीहरूले विकास निर्माणका मुद्दा तथा बजेटमा गरिएको विभेदलाई पनि उठाए । धादिङका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सांसद रामनाथ अधिकारीले बजेटमा विभेद गरिएको गुनासो राखे ।

उनले भेलामा भने, ‘९० किलोमिटर बाटोका लागि ५ लाख बजेट छुट्याइएको छ । म कुन मुख लिएर जिल्ला जाउँ ?’ बजेटमा असमानता भएको धेरै सभापतिले उठाएको अधिकारीले बताए । साथै, कांग्रेसका मन्त्रीहरूको प्रभावकारिता कमजोर रहेको कुरा सहभागीका अधिकांशले उठाएको एक जिल्ला सभापतिले जानकारी दिए ।

कांग्रेसमा उपल्लो तहदेखि तलसम्म निराशा छ । सरकारमा हुँदा समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, पार्टीको आन्तरिक गुटबन्दी, टिकट वितरण, विधानको उल्लंघन, भरोसा दिन नसक्नु लगायतलाई कांग्रेसभित्रको असन्तुष्टिको कारण रहेको नेताहरू बताउँदै आएका छन् । जिल्लामा कांग्रेसको अवस्था बारे केही जिल्ला सभापतिले अनलाइनखबरसँग आफ्नो अनुभव साटेका छन् ।

भेलामा सहभागी केही प्रतिनिधिहरूको धारणा उनीहरूकै शब्दमाः

 

पार्टीप्रति युवा आकर्षित हुन सकेनन्

निर्मला खड्का (प्रतिनिधि, भोजपुर)

दुई महामन्त्रीले कांग्रेस सुधारका लागि नीतिगत अवधारणा ल्याउनुभएको छ । हिजोको कांग्रेस होइन, अब रूपान्तरित कांग्रेस बनाउनुपर्दछ । यसका लागि महामन्त्रीहरू पनि लागिरहनुभएको छ ।

कांग्रेसमा पुस्ता हस्तान्तरण नहुँदा पनि रूपान्तरणमा समस्या देखिए जस्तो लाग्छ । त्यसकारण, युवाहरूको आकर्षण घट्दै गएको छ । शिक्षा, स्वास्थ्य, रोजगारदेखि आयआर्जनमा युवाहरूलाई कांग्रेसले जोड्न नसक्दा युवाहरूको आकर्षण घटे जस्तो लाग्छ ।

विधान केन्द्रदेखि वडासम्म लागू हुनुपर्दछ । तल्लो तहमा विधान कार्यान्वयन विस्तारै हुने क्रम बढेको छ ।

 

२०८४ को चुनाव देखेर अहिले आत्तिनुपर्ने छैन

नामगेल जाङ्वु शेर्पा (सभापति, सोलुखुम्बु)

जिल्ला सभापतिहरूको भेलाले वडा तहसम्म विधानको कार्यान्वयन र कार्यकर्तामा उत्प्रेरणा जगाउन सहयोग पुर्‍याएको छ ।

कांग्रेस पटक–पटक देशको पहिलो र दोस्रो पार्टी हुँदै आएको हो । नयाँ पार्टीहरूको कारणले केही समस्या हाम्रोमा पनि देखिएको छ । आगामी दिन चुनौतीपूर्ण हुने महसुस गरेका छौं । चुनौती पार गर्ने र निकास दिने दल पनि कांग्रेस नै हो । यो कुरा बुझाउनलाई तल्लो तहसम्म कार्यक्रम भइरहेको छ ।

 

सांगठनिक अवस्था अलि चुस्तदुरुस्त हुँदै गएको छ । सोलुखुम्बुमा कांग्रेसको अवस्था निराशाजनक छैन, बलियो छ ।

कांग्रेसमा अलिकति बढेको निराशालाई केन्द्रदेखि तलसम्म चिर्दै लैजानुपर्ने आवश्यकता छ । २०८४ को चुनाव देखेर अहिले आत्तिनुपर्ने कारण छैन ।

 

जिल्लाबाट आएका आवाज केन्द्रमा सुनियोस्

रामदेव साह (सभापति, सप्तरी)

संगठनलाई मजबुत बनाउनका लागि महामन्त्रीले गरेको कार्य सराहनीय छ । पहिले कहिल्यै पनि नभएको काम यसपटक संगठनको ढाँचाको लागि भएको छ । खुला सदस्यता वितरण सजिलो हुँदा अब वडाले दिंदैन भन्नु परेन ।

गुट-उपगुटले दिंदैन भन्नुपर्दैन । केन्द्रको परिपत्र अनुसार जिल्लामा पनि विधान अनुसार काम गर्छौं । परिपत्रको अनुकरण गरेर अघि बढ्छौं ।

सत्तामा कांग्रेस भए पनि कता–कता कमी–कमजोरी भए जस्तो लाग्छ । जिल्लाबाट आएका आवाज केन्द्रमा सुनियोस् भन्ने हाम्रो कुरा हो ।

 

जिल्ला सभापतिलाई डाकेर कसरी काम गरिरहनुभएको भन्ने प्रचलन विगतमा थिएन

नन्दप्रसाद न्यौपाने (सभापति, गोरखा)

चुनाव जितिसकेपछि आफ्नो नीतिको आधारमा नागरिकको सबै समस्या समाधान गर्ने सबै पार्टीको उद्देश्य हुन्छ । अधिकार र नागरिकको जीवनलाई समुन्नत बनाउन पार्टीको जन्म भएको हुन्छ ।

कतिपय ठाउँमा हामीले राम्रो काम गर्न सकेनौं होला । कांग्रेसले केही नगरेको होइन, धेरै गरेको हो । आफूले गरेको काम समयसापेक्ष नागरिकलाई बुझाउन कांग्रेसले सकेन । अहिले १८-२० वर्ष भएका युवाहरूलाई हिजोको नेपाल कस्तो थियो, के थाहा ? त्यो कुरा हामीले बुझाउनुपर्‍यो ।

निराशा हुनुपर्ने जस्तो मलाई लाग्दैन । सकियौं कि भन्ने आफैंमा हीनताबोध हो ।

जिल्ला विधान अनुसार हिंडेको छ । केन्द्र पनि हिंडेकै होला । अहिले सदस्यता वितरण सुरु भइसकेको छ । पहिले महाधिवेशन हुने वर्षमा हुने थियो । जिल्ला सभापतिहरूलाई डाकेर कसरी काम गरिरहनुभएको छ ? भन्ने विगतमा थिएन ।

 

पहिलो स्वयं व्यक्ति आफू सुध्रिनुपर्दछ

रामसिंह रावल (सभापति, बाजुरा)

कांग्रेस किन चुक्यो ? कांग्रेसका कार्यकर्ता अरूतिर किन डाइर्भट भए ? भन्ने कुरामा नेतृत्वमा बसेकाहरूबाट केही गल्ती भएको छ । कमजोरीलाई सुधार्न सक्ने खुबी नेतृत्वमा पनि अलि देखिएन ।

नेतृत्वले कमजोरी गरेन भने युवाहरूलाई पनि गल्ती गर्नुहुँदैन भन्ने आश पलाउँछ । पार्टी सिद्धान्तभित्र रहिरहन्छ । गल्ती स्वीकार्न सक्ने नेतृत्वमा बसेकाले हिम्मत गर्दैनन् ।

अधिवेशनको बेलामा भएका कुरा मिलाउन नसकेका कारणले पनि पार्टीमा केही बिग्रेको छ । केन्द्रदेखि तलसम्म सुधार सबैले गर्नुपर्दछ । स्वयं आफैं सुध्रिनुपर्दछ । म सुध्रिन भने अरूलाई सुधार्ने खालको वातावरण हुँदैन ।

 

कांग्रेस सिद्धियो भन्ने राजनीति नबुझेकाहरू हुन्

बुद्ध लामा (सभापति, मकवानपुर)

माथिदेखि तलसम्म निराशा छ भन्नु अल्छीको कारणले भनिएको हो । राजनीतिमा ज्ञान नभएका मानिसहरूले कांग्रेसभित्र निराशा छ भन्छन् ।

पार्टी कहिले बलियो हुन्छ, कहिले कमजोर । कति पार्टी टुक्रा–टुक्रा पनि भएका छन् । व्यक्तिपिच्छेका पनि पार्टी छन् । हामी एउटा उपनिर्वाचनमा हार्‍यौं भनेर सिद्धियौं भनेर चर्चा गर्नु राजनीति नबुझेको मान्छेले गर्ने कुरा हो ।

कांग्रेसमा बोल्ने छुट छ । गैरजिम्मेवार बोल्नेहरू छन् । क्रियाशील बन्यो, पद खायो । तर, राजनीति बुझेका हुँदैनन् । कुनैले अवसर पाएका हुँदैनन् । अनि कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् ।

जनताको मन त पटक–पटक फेरिएको छ । त्यो बुझ्नुपर्दछ । गणेशमानजीले भन्नुभएकै थियो नि– ‘प्रजातन्त्र आए नि बत्ती बाल्ने नै हो, प्रजातन्त्र जाँदा पनि बत्ती बाल्ने नै हो !’ जनता कसैको पेवा हुँदैन ।

 

फोटोहरू : आर्यन धिमाल

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?