२२ असार, काठमाडौं । अफगानिस्तान विरुद्धका बाँकी एक दिवसीय खेलमा बंगलादेशको कप्तानी लिटन दासले गर्ने भएका छन् ।
यसअघिका कप्तान तमिम इकवालले आकास्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिहीबार सन्यास घोषणा गरेपछि लिटन दासलाई बंगलादेशले कप्तान नियुक्त गरेको हो ।
बंगलादेशको लागि कार्यवाहक कप्तानी गरिसकेका लिटन अफगानिस्तान विरुद्धको शृखंलाअघि उपकप्तान थिए ।
तीन खेलको ओडीआई शृखंलाको पहिलो खेलमा बंगलादेश अफगानिस्तानसँग डीएलएस मेथडमा १७ रनले पराजित भएको थियो । त्यसको भोलिपल्टै तमिमले सन्यास घोषणा गरेका हुन् ।
बंगलादेशको क्रिकेट बोर्डले लिटनलाई अफगानिस्तानसँगको शृखंलाको बाँकी दुई खेलका लागि कप्तान दिइएको क्रिकइन्फोले उल्लेख गरेको छ ।
शकिब अल हसन ओडीआईमा नयाँ कप्तान बन्ने होडमा अगाडि छन् ।
विश्वकप सुरु हुनु तीन माहिना मात्र बाँकी रहेको अवस्थामा तमिमले बिहीबार तत्कालका लागि लागु हुनेगरी सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
गत डिसेम्बरमा तमिम चोटका कारण बाहिर रहेपछि भारत भ्रमणमा लिटनले कप्तानी गरेका थिए । जसमा तीन खेलको शृखंला बंगलादेशले २-१ ले जितेको थियो ।
यस्तै शकिब औंलाको चोटका कारण बाहिर हुँदा अफगानिस्तान विरुद्ध लिटनले टेष्ट टिमको समेत कप्तानी गरेका थिए । उक्त खेलमा बंगलादेश विजयी भएको थियो ।
बंगलादेश र अफगानिस्तानबीचको दोस्रो ओडीआई शनिबार हुनेछ ।
प्रतिक्रिया 4