
२२ असार, काठमाडौं । असार लागेपछिको २१ दिनको अवधिमा सरकारले साढे २७ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ असारयता बिहीबारसम्म २७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । पूँजीगत खर्चमा सुस्त गति रहेकोमा असारपछि भने गति बढेको छ । जसले गर्दा यस पटक पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम खर्च हुने प्रवृत्ति दोहोरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल पूँजीगत खर्च १ खर्ब ८० अर्ब ४७ करोड पुगेको छ । ३२ जेठसम्म पूँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड रुपैयाँ मात्र भएको थियो । सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । बिहीबारसम्म भएको खर्च कुल लक्ष्यको मात्र ४७.४४ प्रतिशत हो ।
बिहीबारसम्म चालु खर्च भने ९ खर्ब ६१ अर्ब ६६ करोड पुगेको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ५९ अर्ब रुपैयाँ खर्च भएको छ । बिहीबारसम्म कुल बजेट खर्च १३ खर्ब २ अर्ब १३ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ७२.५३ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । बिहीबारसम्म राजस्व संकलन ८ खर्ब ७६ अर्ब २५ करोड रहेको छ । राजस्व, अनुदान र अन्य प्राप्तीबाट बिहीबारसम्म सरकारको खातामा ९ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ आएको देखिएको छ ।
प्रतिक्रिया 4