+
+

प्रधानमन्त्रीको राजीनामामा एमाले सांसदको अडान कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १४:३५

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ ।

सभामुख देवराज घिमिरेलेको पहलमा भएको पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु पूर्ववत मागमा यथावत रहेको बताएका छन् ।

सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक संवादमा बसिसके । बिहानै आफ्नै निवासमा बोलाएर छलफल गरे । बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरुसँग बसे । साढे १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखे । कार्य व्यवस्था परामर्श समितिको बैठकपछि फेरि बोलाएर छलफल गरे । यी सबै छलफलमा एमालेले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएको छ । ‘हामी राजीनामै नीतिमा अडिग छौं । आज पनि प्रतिनिधिसभामा यही हुन्छ,’ एमाले नेता रघुजी पन्तले अनलाइनखबरसँग भने ।

बरु एमालेका नेताहरुले यो विषयमा शीर्ष नेताहरुले नै निकास दिनुपर्ने बताउन थालेका छन् । शीर्ष नेताहरुले समाधान निकाले सबैलाई स्वीकार्य हुने एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।

‘अध्यक्षज्यु (केपी शर्मा ओली)को निर्णयका आधारमा राजीनामा माग गर्ने तहमा उत्रिएका हौं । उहाँले यसबाट दायाँवायाँ गर्ने कुरा गर्नुभएको छैन,’ उनी भन्छन्, ‘राजीनामा मागिहालियो । अध्यक्षज्युको निर्देशन यही छ । यसबाट दायाँबायाँ हुन फेरि पनि उहाँकै निर्देशन आवश्यक छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक पनि चल्न नदिने नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?