+
+

पशुपतिमा कहाँबाट आयो ५३ तोला सुन ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १५:०७

२२ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको भन्दै मुचुल्का गरिएको छ ।

‘जलहरी निर्माणमा प्रयोग भएको सुनका टुक्रा र धुलोहरु त्यतिबेला संकलन गरिएको थियो, अख्तियारले अनुसन्धान थालेपछि त्यसलाई नजोखी यत्तिकै राखिएको थियो’ पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले भने, ‘धुलोमा मिसिएको, टुक्राटाक्री र अरु सुनका कणहरु संकलन गरेर गाल्ने काम भइरहेको थियो । आज जोखेर हेर्दा ५३ तोला भएछ । हामीले आजै मुचुल्का गरेर राखेका छौं ।’

जलहरी निर्माणका क्रममा बाहिर छरिएको धुलो संकलन गरेर राखिएको र त्यसलाई मुचुल्का गरिएको कोषका कर्मचारीहरुको भनाइ छ । उनले भने, ‘गर्भगृहभित्रै जलहरीमुनी सुनका टुक्राहरु भेटिए भनेर हल्ला चलाइएको छ । त्यो सत्य होइन ।’

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सुनका बारेमा केही नभएको र आफूले थाह समेत नपाएको दाबी गरे । तर आजै मुचुल्का भएको भनी जिज्ञासा राखेपछि उनले भने, ‘तपाईंहरुलाई किन हतारो भएको, यसको पनि प्रक्रिया हुन्छ । प्रक्रिया पूरा भएपछि हामीले बोलाएर नै गुड न्यूजहरु दिइहाल्छौं । अहिले किन हतारो गर्नुभएको ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको थियो । दुई साताअघि तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जलहरी निर्माणमा प्रयोग भएको बाँकी सुन र टुक्रा र धुलोका कण संकलन गरेर राखिएको र जोख्न बाँकी रहेको दाबी गरेको थियो । ‘हो, त्यही सुन जोख्ने क्रममा चानचुन ५३ तोला भएपछि मुचुल्का गरिएको हो, गर्भगृहमा भेटिएको होइन’ ती कर्मचारीले भने, ‘त्यसक्रममा प्रयोग भएका चाँदी र अरु केही धातुका टुक्राहरु पनि छन् ।’

एक तोलामा ११.६६ ग्राम हुन्छ । कोषका कर्मचारीको दाबीलाई आधार मान्दा ६१७.९८ ग्राम सुन आज जोखेर मुचुल्का भएको हो । शुक्रबार मुचुल्का भएको र पशुपतिनाथ मन्दिरमा पेटी बनाई लगाइएको सुन समेत जोख्दा जलहरी निर्माणमा प्रयोग भएको १०८ किलो सुनको हिसाब करिब करिब मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?