+
+

देउवालाई सुदूरपश्चिमका सांसदको चेतावनी : संशोधन नभए बजेट पारित हुन दिन्नौं

जनक विष्ट जनक विष्ट
२०८० असार २२ गते १५:४२

२२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् ।

गत १ असारमा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका छन् ।

सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको एक प्रदेशसभा सदस्यले बताए । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।

सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको ती नेताले बताए । देउवालाई भेट्नु अगाडि असन्तुष्ट प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन् । केही प्रदेशसभा सदस्यले गत १२ असारमा पनि सभापति देउवालाई भेटेर बजेट संशोधन गरिनुपर्ने बताएका थिए ।

यसपटक भने प्रदेशका सभामुखसहितको टोली काठमाडौं आएको हो । प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको अन्तर प्रदेश भ्रमणका क्रममा यो टोली काठमाडौं आइपुगेको हो ।

‘भ्रमणको सिलसिलामा गएका बेला उहाँ(सांसद)हरु सँग शीर्ष नेताहरुसँग भेटघाट भएको हो । त्यही क्रममा बजेटका विषयमा पनि कुरा उठेको थियो’, सभामुुख भीमबहादुर भण्डारीले भने ।

घर्कदै समय

सत्तारुढकै सांसदहरुकै असन्तुष्टिका कारण आर्थिक वर्ष सकिन हप्ता दिन समय बाँकी रहँदा बजेटमाथि छलफल शुरु हुन सकेको छैन । अर्थमन्त्री शाहीले प्रस्तुत गरेको २९ अर्ब २६ करोडको बजेटको आकार र कार्यक्रमप्रति ती सांसदहरुको असन्तुष्टि छ ।

‘सिंगो सदनको विश्वास लिएर बजेटको पक्षमा उभ्याउने वातावरण बनाउने काम सरकारको हो, तर सरकारको भूमिकामा कमजोरी देखियो,’ माओवादी प्रदेशसभा दलका नेता खगराज भट्ट भन्छन्, ‘जसको हातमा पावर छ, उसैले दोहन गर्ने प्रवृत्ति सरकारमा देखियो ।’ उनी यथास्थितिमा बजेट पारित हुन नसक्ने बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टी दलका नेता घनश्याम चौधरी त अहिलेको बजेट संशोधन नभए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिन्छन् । ‘यो सरकार निर्माणमा हाम्रो पनि महत्वपूर्ण भूमिका छ । तर मन्त्रिपरिषद् विस्तारदेखि बजेटसम्म आइपुग्दा हामीलाई उपेक्षा गरिएको छ,’ उनी भन्छन् ‘बजेट संशोधन गर्नुको विकल्प छैन ।’

एकीकृत समाजवादी प्रदेश दलका नेता दीर्घ सोडारी भने आकार घटाएर बजेट ल्याउनु नै कमजोरी भएको बताउँछन् । ‘यो बजेटलाई लिएर सत्ता र प्रतिपक्ष दलका कोही माननीय पनि सन्तुष्ट छैनन् । आकार बृद्धि गरेर बजेट ल्याउँदा समस्या हुने थिएन’ सोडारी भन्छन् ‘शीर्ष तह र हाम्राबीच अब कसरी अघि बढ्न सकिन्छ भन्ने विषयबारे छलफल भइरहेको छ ।’ उनी प्रदेश सरकारले ३४ अर्बसम्मको बजेट ल्याउनुपर्ने अनुमान गर्छन् ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पनि बजेटप्रति असन्तुष्टि जनाएका छन् । तर आर्थिक मामिला मन्त्री शाही भने असन्तुष्टि सम्बोधन गरी अहिलेकै बजेट जस्ताको त्यस्तै पारित हुुने बताउँछन् । ‘माननीय ज्यूहरुको अन्तर प्रदेश भ्रमण भएका कारण उहाँहरुसँग खासै छलफल गर्न पाइएको छैन,’ मन्त्री शाहीले भने, ‘अब छलफल गछौँ । उहाँहरुका गुनासा सम्बोधन गरेर अहिलेकै बजेट पारित हुन्छ, उहाँहरुले सहयोग गर्नुहुन्छ ।’

शाही बजेटको आकार घट्दा केही समस्या भएको स्वीकार गर्छन् । तर खर्च व्यहोेर्ने स्रोतको अभाव भएकाले आकार घटेको र पुराना योजनालाई निरन्तरता दिनुुपर्ने भएकाले सबैको माग सम्बोधन गर्न नसकिएको तथ्य बुझिदिन मन्त्री शाही आग्रह गर्छन् ।

‘पहिले टुक्राटुक्री गरेर छ हजार योजना थिए । तर घटाएर २८ सयमा सीमित पारेका छौँ । त्यसमा नयाँ योजनाको संख्या २७८ मात्र छ’ मन्त्री शाहीले भने, ‘यो कारण पनि हामीलाई समस्या भएको हो । योजना हालेर मात्र भएन, खर्च व्यर्होने स्रोत चाहियो ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?