२२ असार, काठमाडौं । न्यू डाइमण्ड स्पोस्ट्र्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीले सातौं एनभीए प्रधानमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा टिमको कप्तानी गर्ने भएकी छिन् ।
उनले अनुभवी खेलाडी ललिता नाथको स्थानका टिमको कप्तानी सम्हाल्न लागेकी हुन् ।
न्यू डाइमण्डकी पूर्व कप्तान ललिताले घुँडाको समस्याका कारण खेल जीवनबाट सन्यास लिएकी हुन् । उनी अब न्यू डाइमण्डकै सहायक प्रशिक्षक रहने प्रमुख प्रशिक्षक कुमार राईले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।
‘ललिताको घुँडामा समस्या भएकाले उनले नखेल्ने निर्णय लिइन् । त्यसपछि टिमको जिम्मेवारी हामीले प्रतिभाालाई सुम्पिएका हौं’, राईले भने, ‘प्रतिभामा कप्तानमा हुनुपर्ने सबै गुण छ । उनी पहिला पनि टिमलाई अगाडिबाट लिड गर्ने, कार्यभार सम्हाल्ने गर्थिन् ।’
प्रतिभा भने कप्तानीको जिम्मेवारी केही नयाँ नभएको बताउँछिन् ।
‘मलाई कप्तानी लिन लागेको जस्तो अनुभव नै भएको छैन । हाम्रो टिममा पहिला पनि सिनियर दिदी कप्तान हुँदा कन्ट्रोल भन्ने थिएन । जिम्मेवारीको कुरा गर्दा म पहिला पनि टिममा गेम कप्तान भएर खेलेको हो । त्यसका कारण केही नयाँ जिम्मेवारी थपिएको महसुस भएको छैन’, प्रतिभाले भनिन् ।
नेपालमा भर्खरै सम्पन्न भएको काभा वुमन्स च्यालेन्स कपमा घुँडाको चोटका कारण प्रतियोगिता गुमाएकी प्रतिभा यस पटक कप्तानी सम्हाले पनि पूरा प्रतियोगिता नखेल्ने योजनामा छिन् ।
‘मेरो घुँडाको समस्याका कारण मलाई फिजियोबाट पनि पूरा प्रतियोगिता नखेल्न भनिएको छ । मैले आउँदो एसियन गेम्सलाई हेरेर पूरा खेलहरु खेल्दिन ।’
टिममा सुमित्रा रेग्मी भने नयाँ खेलाडी हुन् । उनी उचाइका कारण पनि मिडलब्लकरमा ललिताको पोजिसनमा खेल्नेछिन् ।
‘सुमित्राको उचाइ लगभग ६ फिट छ । उनले भलिबल सिकेको १ वर्ष पनि नहुँदा उचाइका फाइदाका कारण यसपालि उनी टिममा नयाँ छिन्’, प्रशिक्षक कुमार राईले भने ।
प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ बाघ ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
असार २३ गतेबाट ३० सम्म हुने यो प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
न्यू डायमण्डको टोली
खेलाडीहरू : प्रतिभा माली (कप्तान), सलिना श्रेष्ठ, रिमा कुँवर, प्रगति नाथ, वाल्मिका आचार्य, सुमित्रा रेग्मी, सलिना बुढा मगर, एञ्जिला प्रधान, एलिसा मानन्धर, जेनिशा विश्वकर्मा, भावना तामाङ र निशा महत
प्रमुख प्रशिक्षक : कुमार राई
सहायक प्रशिक्षक : ललिता नाथ
प्रतिक्रिया 4