
काठमाडौं । स्वस्तिमा खड्का र मुकुन भुसाल स्टारर फिल्म ‘ऐंचो पैंचो’को आधिकारिक टिजर शुक्रबार सार्वजनिक भएको छ । एक मिनेट लामो टिजरले फिल्मको सेटिङ, परिवेश, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे केही संकेत दिन्छ । पूर्वी मधेशमा छायांकन गरिएको फिल्मको टिजरले गाउँको चुनावी माहोल दर्शाएको छ ।
स्वस्तिमाले बाइक हाँकेको दृश्यसँगै टिजर सुरु हुन्छ र चुनावी माहोलमा रमाउँदै अनुहारमा रङ पोतेको दृश्यसँगै टिजर समाप्त हुन्छ । टिजरमा लिड एक्टर मुकुन कुनै कुराको लागि आक्रोशित र भागिरहेको देखिन्छ । तर ठ्याक्कै उनको पात्रको यही लक्ष्य हो भन्ने कुरा यकिन छैन । टिजरमा फिल्मका केही झलक देखाइएको छ ।
फिल्ममा सुशील सिटौला र वर्षा राउतको पनि अभिनय छ । कृषा चौलागाईं निर्देशित यो फिल्म भदौ १४ गते प्रदर्शनको तयारीमा छ । प्रितम लामिछाने र आध्या लामिछानेले केपी फिल्मको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4