
२२ असार, बुटवल । बुटवलको योगिकुटीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय र सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर घरधनीले खाली गराएका छन ।
घरधनी इश्वर मल्लले सार्वजनिक सूचना प्रकाशित लगायत प्रक्रिया पूरा गरेर डिपार्टमेन्टल स्टोर खाली गराउन अनुरोध गर्दा समेत खाली नगराएपछि स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा खाली गराइएका हुन् ।
मल्लले मासिक ४ लाख भाडा पाउने गरी सहकारी र डिपार्टमेन्ट स्टोरका लागि २०७८ असार ४ गते १० वर्षका लागि सम्झौता गरेर शिव शिखरलाई घर दिएका थिए ।
सहकारीले २०७९ मंसिरदेखि घर भाडा, विद्युत पानीको शुल्क नदिएको र पछि सहकारीमा समस्या आएपछि आफूले घर खाली गर्न कानुनी प्रक्रियामा गएको उनले बताए ।
बुटवल १० का वडा अध्यक्ष बलु पुन मगरले घरधनीले निवेदन दिएको र अन्य प्रक्रिया पनि पूरा गरेकाले प्रहरी प्रशासन र जनप्रतिनिधिको सहयोगमा डिपार्टमेन्ट स्टोरका सामान सोही घरकै अन्डरग्राउन्ड तलामा भण्डारण गरी घर खाली गराएको बताए ।
शिव शिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो ।
२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो । यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो ।
तर सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर्स दुबै तीन महिनादेखि बन्द थिए । बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५–१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिव शिखर सहकारीको बुटवल शाखामा कति वचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए ।
शिव शिखर सहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन् ।
प्रतिक्रिया 4