
२२ असार, दाङ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको बताएका छन् ।
दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार दिउँसो उट्घाटन गर्दै उनले अहिलेसम्म अदालतमा रहेका मुद्दालाई ६ देखि १८ महिनाभित्र टुंग्याउने गरी काम भइरहेको बताएका छन् ।
उनले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ६ महिना भित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्ष भित्र र जटिल वा विशेष प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भैरहेको बताए ।
जिल्ला तहदेखि सर्वोच्च अदालतसम्म छिटो न्याय सम्पादन हुने प्रणाली लागू गर्न लागिएको बताए ।
उच्च अदालतमा दुई वर्षसम्मका पुराना मुद्दा शून्यमा झार्ने काम भएको बताए ।
प्रधानन्यायाधीश कार्कीले कुनै पनि बहानावाजीको कारण देखाएर न्याय सम्पादनमा ढिलाइ हुने कुरा क्षम्य नहुने बताए । ‘न्याय ढिला दिनु भनेको न्याय नदिनु सरह हो’ उनले भने, ‘न्याय सम्पादनमा कुनै पनि बहानावाजी हुन दिंदैनौं ।’
२५ करोड १९ लाख ८८ हजारको लागतमा ८७ कोठा र ५ तला भएको जिल्ला अदालतको भवन २०७४ पुसदेखि निर्माण सुरु भएर २०७७ चैतमा सम्पन्न भएको थियो ।
२०७७ चैतमा भवन निर्माण सम्पन्न भएको २ वर्षपछि आज उद्घाटन गरिएको हो । ६ इजलास सञ्चालनमा रहे पनि यो नयाँ भवनमा अब १० इजलास सञ्चालन गर्न सकिने जिल्ला अदालत दाङका मुख्य न्यायाधीश कृपासुर कार्कीले बताए ।
प्रतिक्रिया 4