+
+

संसद खुल्न दलहरुबीच नै समझदारी हुनुपर्छ, मैले त सहजीकरण गर्ने मात्र हो : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते २०:१५

२३ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्या समाधान राजनीतिक दलहरुले नै गर्नुपर्ने बताएका छन् । उनले आफूले सत्तापक्ष र प्रतिपक्ष दुबैलाई आपसमा सहमति खोज्न आग्रह गरिसकेको भन्दै उनले दलहरुले समस्या समाधान गरेपछि मात्र संसदको सञ्चालन हुने बताए ।

‘इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भुमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ । त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोशिसहरु गरिरहेको छु । …इस्युलाई समाधान गर्ने वा इस्युलाई थाँती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ’, न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘समझदारी गर्न नेता, पार्टीहरु पार्टीको बीचमा यी कुरा गराउन पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ’ उनले भने ।

सभामुख घिमिरेले समस्या समाधानका लागि आफूले सहजीकरण पनि गरिरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरेको उनले बताए ।

‘प्रधानमन्त्रीसँग सम्पर्क गरेर तपाईले प्रतिपक्ष दलका नेताहरुलाई बोलाउनुस्, पहल तपाईले गर्नुपर्ने देखेँ भनेर भनेको छु, प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि अब तपाई बोलाइएको ठाउँमा जान्न भन्ने, नजाने, बसेर समस्याको समाधान खोज्ने भन्दा पनि राजीनामा माग गर्नुहुन्छ के हो भनेर कुरा गरेको छु’ सभामुख घिमिरेले भने ।

एमाले अध्यक्ष ओलीले आफ्नो कुरा सत्तापक्षले गम्भीरतापूर्वक नलिएको भन्ने जवाफ दिएको भन्दै घिमिरेले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई सुनाइदिएको छु ।’

अघिल्लो हप्ता भारतीय नागरिक प्रितम सिंहको जीवनमा आधारित पुस्तक रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै राजीनामा गर्नुपर्ने अडान लिएको छ ।

सोही कारण प्रतिनिधिसभा बैठक गत बुधबारदेखि अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?