
काठमाडौं । मेहनतसँगै भाग्य कति महत्वपूर्ण छ भन्ने बोध यतिबेला पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहलाई हुनुपर्छ । साइन गरेका तीनै फिल्म बन्ने निधो नभएपछि नीतिलाई फिल्म डेब्युमा चुनौती बनिरहेको छ । उनले साइन गरेको पछिल्लो फिल्म ‘क्यामिनो’ पनि छायांकनमा जाने टुंगो नभएपछि उनले प्रोजेक्टबाटै हात झिकिन् ।
साइनको हिसाबले उनको पहिलो फिल्म ‘हुतुतु’ र त्यसपछि ‘एक्स नाइन’ हो । पछिल्लो साइनिङ फिल्म ‘क्यामिनो’का लागि उनले वर्कसप पनि गरिन् । तर विविध कारणले फिल्म तत्काल नबन्ने भएपछि नीति अभिनय सिक्न र जीवनलाई थप ‘एक्सप्लोर’ गर्न भन्दै मुम्बई उडेकी छन् ।
नीतिले इन्स्टाग्राममा एक स्टोरी पोस्ट गर्दै पछिल्लो समय भनेजस्तो नभएको परिस्थिति र यसबीचमा मुम्बई जानुपर्ने कारण खुलाएकी छन् । उनी लेख्छिन्, ‘सन् २०२१ मा मैले फिल्मको शीर्ष भूमिकामा काम गर्ने मौका पाएकी थिएँ । मेरो लागि यो ठूलो कुरा थियो किनभने म आरामदायी र निजी जीवनबाट बाहिर आउने एक संक्रमणकालीन समयमा थिएँ । मैले सोचेजस्तो हुँदैन भन्ने कुरा समयसँगै मैले बुझें ।’
उनी अगाडि लेख्छिन्, ‘मैले साइन गरेका प्रोजेक्ट धकेलिंदै जान थाले र समय बर्बाद गर्दैछु भन्ने मलाई लाग्यो । मैले नेपाली फेसनमा काम गरेको १० वर्ष पूरा भएको छ । फिल्ममा काम गर्नु मेरा लागि त्यो भन्दा विशेष कुरा हो । यसकारण मैले सीप र आत्मविश्वास विकास वृद्धिका लागि काम गर्नुपर्छ भन्ने ठानें । मैले नेपालमा अभिनय कक्षा पनि लिएँ । यसले मलाई धेरै सघायो तर मैले धेरै कुरा सिक्नु र बुझ्नुपर्नेछ । यसकारण मैले अभिनय स्कुल ज्वाइन गरें र केही समय मुम्बईमा रहनेछु । भिन्न सहरमा जानु भनेको नयाँ चुनौती र उत्साहपूर्ण हुन्छ । यसतर्फ अघि बढ्छु ।’
नीति शाहले सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेकी थिइन् । उनी व्यावसायिक र्याम्प मोडल समेत हुन् ।
प्रतिक्रिया 4