
विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी प्राप्त आस्था दाहालमाथि समकक्षताको नाममा भएको भनिएको भद्दा मजाकले प्राज्ञिक उत्कृष्टताको हुर्मत लिएको छ । पीएचडी औपचारिक अध्ययनको सबैभन्दा उपल्लो शैक्षिक उपाधि हो । मिलेसम्म यसप्रकारको मानक प्राप्त गर्ने चाहना स्वाभाविक नै हुन्छ ।
यद्यपि अहिलेसम्म कति जना नागरिक उक्त उपाधिबाट विभूषित छन् भन्ने प्रष्ट आँकडा छैन । पहिलो नेपाली को थिए भन्नेमा पनि मतैक्य देखिंदैन । नेपाल पीएचडी संघले जनाए अनुसार स्वदेश लगायत विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने नेपालीको संख्या भने निरन्तर बढ्दैछ ।
आजकाल विदेशबाट उपाधि हासिल गर्नेकोे संख्या समेत बाक्लो छ । विद्वत्वृत्तिमा विदेश गई उहीं बसी पीएचडी गर्नेहरूको बारेमा शंका गर्ने हतार किञ्चित स्वाभाविक हुँदैन । राम्रा विश्वविद्यालयबाट यस्तो उपाधि प्राप्त सबैप्रति नमन गर्नुपर्छ । उनीहरूलाई देशमा स्वागत गर्दै विना अवरोध सहर्ष स्वीकार्नुपर्छ ।
त्रिभुवन विश्वविद्यालयले सामान्य जानकारी र एक तहको प्रमाणीकरणपछि सविनय समकक्षता प्रमाणपत्र दिनुपर्छ । आस्थाजीहरू जस्ता जेहेनदार, मेधावी र मिहिनेती विद्यार्थी उत्साहित महसुस हुने वातावरण बनाउनुपर्छ । उनले अनावश्यक झन्झट पाएकोमा जो-कोहीलाई गहिरो दुःख अनुभूत हुनुपर्छ । तर यहाँ आस्थाजी जस्ता मेधावी विद्यार्थी थोरै र विदेशबाट अध्ययन गरेको नाममा पीएचडीको तस्करी गर्ने मानिस धेरै छन् । तीमाथि त्रिभुवन विश्वविद्यालय कठोर बन्नै पर्छ ।
अफसोस अधिकांश ती पैठारीकर्ता स्वयं त्रिभुवन विश्वविद्यालयकै सदस्यहरू छन् भनिन्छ । तसर्थ उनीहरूलाई क्याम्बि्रज जस्ता राम्रा विश्वविद्यालयहरूमा अध्ययन गरेका मानिसहरू त्यति हजम नलागेको हुनसक्छ । जति कागजात मागिन्छन् ती सबै पुर्याउनु भनेको समकक्षता नलिएस् नै भनेको हो भन्नेमा चाहिं यो पंक्तिकार पनि राम्ररी जानकार छ ।
त्यसो त, विदेश भन्ने बित्तिकै सबै विश्वसनीय छन् भन्नेचाहिं हुँदैन । छिमेकी वा तेस्रो देशका विभिन्न नामधारी विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता गरेको भन्दै यहीं बसेर विना कुनै आधारभूत प्राज्ञिक प्रयास सहजै ती उपाधि लिनेहरू धेरै छन् । त्यसरी प्राप्त उपाधिमाथि समाज विश्वस्त बन्न सकिरहेको छैन ।
अपवाद बाहेक अधिकांश दीक्षितहरूले उपाधिको मानमर्यादा कायम राख्ने गरी कार्यसम्पादन पनि गर्न सकेका छैनन् । त्यही भएर होला विश्वविद्यालय अनुदान आयोगले विद्यावारिधि शोधार्थीलाई दिने विद्वत्वृत्तिमा निवेदन दिन अनिवार्य रूपमा स्वदेशकै विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता भएको हुनुपर्ने नियम अंगीकार गरेको छ ।
मुख्यतः अहिले देखिएका आम पीएचडीहरूलाई तीन विभिन्न समूहमा राखेर हेर्न सकिन्छ । पहिलो, स्वदेश वा विदेश जहाँ भए पनि निकै परिश्रमसाथ अध्ययन, अनुसन्धान तथा आवश्यक शोध सहित विभूषित भएका हुन्छन् । गहिरो सुझबुझ निर्माण गर्छन् ।
समाजलाई आफ्ना खोज, अनुसन्धान मार्फत निरन्तर सुसूचित गराउने पवित्र कार्यमा दत्तचित्त रहन्छन् । स्वदेश तथा विदेशमा प्रख्याति र प्रशस्तिसाथ जिउँछन् । आफ्नो र समाजको शैक्षिक उन्नयनमा उभार ल्याउन तल्लीन रहन्छन् र आनन्द समेत अनुभव गर्छन् । उपाधिलाई एउटा जीवनपर्यन्त सफलताको रूपमा ग्रहण गर्छन् । बाँकी समाजले उनीहरूमा ओझ र ज्ञानको फराकिलो दायरा अनुभव गर्छ ।
दोस्रो, केही मानिस बजारमा मःम पसल खुले जस्तै खुलेका ‘यहाँ थेसिस लेखिन्छ’ भन्ने पसलको सहयोगमा उपाधि लिन्छन् र जागिरको बढुवामा प्रयोग गर्छन् । अनि केही समयपछि शोधको निष्कर्ष के थियो भन्ने मात्र हैन कतिले त शोधको विषय समेत बिर्सन्छन् । तेस्रो प्रकारचाहिं छिमेकी वा अन्य केही देशबाट तस्करीका उपाधि लिन्छन् ।
छापा पत्रिकामा कोटेश्वरमा, मध्यबानेश्वरमा, डिल्लीबजारमा पीएचडी भनेर विज्ञापन छापिन्छन् । के पीएचडी कुनै सांगीतिक/सांस्कृतिक कार्यक्रम हो, ठाउँविशेषमा आयोजना हुने ? त्यसरी पीएचडी दिलाउन यहाँ अध्ययन केन्द्रका नाममा दलाली गर्ने अखडा राखिएका हुन्छन् ।
तेस्रो खालका उपाधिहरू अपवाद बाहेक किनिएका छन् । स्वदेशी विश्वविद्यालयहरूले केही शोध लेखहरू माग्छन् । बेला/बेलामा प्रगतिको प्रतिवेदन सहित मौखिक परीक्षा सामना गर्नुपर्छ । शोध प्रस्ताव दर्ता भएपछि अन्तिम उपाधि प्राप्त गर्ने बेलासम्म कम्तीमा पनि पाँचपटक प्रस्तुतीकरण तथा दशौं पटक सुधार गर्नुपर्छ ।
शोध निरीक्षकदेखि अन्तिम भाइवा हुँदासम्म झन्डै दुई दर्जन विज्ञको सुझाव अनुसार शोधलाई निखार्नुपर्छ । तेस्रो प्रकारका उपाधि लिनेहरूले यस्ता चरणहरू अवलम्बन गरेको देखिंदैन । देश बाहिर पनि राम्रा विश्वविद्यालयबाट त्यहीं बसेर गहिरो अनुसन्धान गरी उपाधि लिएका केही संख्यालाई छाड्दा नेपालमै बसी विदेशको कुनै विश्वविद्यालयमा दर्ता भई यहींबाट उपाधि लिएकाहरू प्रति शंका हुनु स्वाभाविक देखिन्छ । ती उपाधि तस्करी पैठारी गरिएका अवैधानिक उपाधिहरू हुन् ।
अधिकांशमा उपाधिपछि आफ्ना निष्कर्षहरू पाठकसामु पुर्याउने र निरन्तर अनुसन्धान प्रकाशन गर्ने बानी समेत देखिंदैन । सम्बन्धित विषयमा कसैले केही प्रश्न गर्यो भने आफ्ना कुरा प्रष्ट्याउनु भन्दा पीएचडीका अगाडि स्फूर्ति लगाउने भनेर उल्टै जिज्ञासुको हुलहुज्जत लिने अभ्यास हुन्छ ।
शहरका मुख्य निजी शैक्षिक संस्थाका अधिकांश प्रमुख वा संचालकहरू त्रिभुवन विश्वविद्यालयका स्थायी वेतनधारी विभिन्न तहका प्राध्यापक छन् । पछिल्लो समय ती शिक्षकहरूले छिमेकका विभिन्न नामधारी विश्वविद्यालयबाट उपाधि लिने प्रचलन प्रचलित फेसन बन्दैछ । केही अलिक नाम चलेका संस्थाका पदाधिकारी चाहिं बंगलादेश, थाइल्याण्ड, मलेसिया लगायत सेनेगल भनेर चिनिने नर्वे, पोल्याण्ड, डेनमार्क जस्ता देशबाट पीएचडी ओसार्ने दौडाहामा देखिन्छन् ।
नेपालमा कार्यक्षेत्र भएर यहीं बसिरहँदा किन यहींबाट उपाधिका लागि प्रयत्न नगरेको भन्दा चाहिं उनीहरू यहाँ विभिन्न बहानामा दुःख दिने, एमफिल गरेको हुनुपर्ने, दर्ता गर्नु पहिले नै शोध लेखहरू प्रकाशित हुनुपर्ने जस्ता अप्ठ्यारा बताउँछन् । उनीहरूको नजरमा यहाँभन्दा विदेशका विश्वविद्यालयहरू गुणस्तरीय लाग्छन् । तर उनीहरूले नै कम गुणस्तरीय भनेकोमा समेत उपाधिका लागि दर्ता नै गर्न योग्यता नपुगेका वा उक्त प्रक्रियालाई अवलम्बन गर्ने साहस नभएकाहरू राम्रा भनिएका ती विश्वविद्यालयबाट कसरी उपाधियोग्य बन्छन् ? कि उनीहरू रातारात सुधारिएका हुनुपर्यो, कि उनीहरूले गुणस्तरीय भनेका ती विश्वविद्यालयचाहिं जसो/जसो शोधार्थी उसो/उसो स्वाहा हुनुपर्यो । यसमा अनुसन्धान र अनुगमन दुवै आवश्यक छ । समकक्षताको अभ्यासले ती बेथितिहरू निरुत्साहित हुनसक्छन् र गर्नै पर्छ ।
अध्ययन मात्र पूर्ण होइन, लेखन र यसको सार्वजनिकीकरणले मात्र ज्ञान जीवन्त रहन्छ । तर अधिकांश पीएचडी आफूहरूलाई स्थापित गराउन प्रयास गरेनन् वा सकेनन्, सोधखोज हुनुपर्छ ? पीएचडी प्रौढ शिक्षा त अवश्य होइन । पीएचडी नभए अलिक अवमूल्यन हुँदोरहेछ भनेर हलुका हिसाबमा पीएचडी प्राप्त गर्न लालायितहरूको बढ्दो समूहले यो जिम्मेवार र वजनदार उपाधिको धज्जी उडाउँदैछ । तसर्थ देशको शिक्षालाई व्यवस्थित र सार्थक बनाउन लागिरहेका नियामक संस्थाहरूले पीएचडी नाममा आएका अविश्वसनीय र शंकास्पद पैठारीको छानबिन गर्नुपर्छ ।
आस्थाजीलाई समकक्षतामा दुःख दिएको भए त्यो बदनियतकर्तालाई दण्ड-सजाय हुनुपर्छ । तर विदेशका भनेपछि जस्तालाई पनि समकक्षता दिने हैन, पैठारीका उपाधि खारेज गर्ने प्रणाली पनि विकसित गर्नुपर्छ । यहीं बसी-बसी विदेशबाट आयात गरिएका (माथि उल्लिखित तेस्रो प्रकारका पीएचडीहरू)बाट यो प्रक्रिया थालिनुपर्छ । विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगको ध्यान यतातिर अविलम्ब पुग्नुपर्छ ।
प्रतिक्रिया 4