
काठमाडौं । नेपालपे क्यूआर र स्मार्ट क्यूआर बीच क्यूआर भुक्तानीको लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी यी दुई संस्थाबीच अन्तरआबद्धताको घोषणा गरिएको हो ।
अन्तरआबद्धतासँगै नेपालपे क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी स्मार्ट क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताहरूले नेपालपे क्यूआर स्क्यानगरी भुक्तानी गर्न सक्नेछन् ।
एनसीएचएल र एससीटीको क्यूआर नेटवर्कबीच क्यूआर भुक्तानीलाई समर्थन र प्रवर्द्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको जनाइएको छ । यस अन्तरआबद्धता पश्चात ग्राहक र मर्चेन्टहरुले भुक्तानीका लागि निश्चित क्यूआर खोजिरहनु पर्दैन । दुवै नेटर्वकका इस्युइङ एप र मर्चेन्ट क्यूआरले काम गर्नेछ ।
नेपालपे क्यूआर र स्मार्ट क्यूआरको क्यूआर भुक्तानी हाल माच्छापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कामनासेवा विकास बैंक, गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स, आईएमई पे, खल्ती, प्रभु पे, हाम्रो पे, सेल पे, एन क्यास, आईक्यास, पेवेल लगायतका वालेट तथा कनेक्ट आईपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । साथै अन्य बैंक तथा वित्तीय संरथा र वालेटहरु पनि चाडैं थपिने छन् ।
कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया 4