+
+
सहकारी संकट–१४ :

तुलसी सहकारी घोटाला प्रकरण : ३५ वर्ष पढाएर कमाएको सबै पैसा डुब्यो

हरि अधिकारी हरि अधिकारी
२०८० असार २५ गते १८:२०

२५ असार, विराटनगर । विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाईं चाँदनीचोकमा चियापसल चलाउँछन् । भारतमा केही वर्षको रोजगारीपछि फर्किएर उनले चियापसल सञ्चालन गरेको धेरै वर्ष भइसक्यो । दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा उनले घरजग्गा बेचेर पैसा राखे । घरजग्गा बेचेर सहकारीमा राख्नुको कारण थियो, राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन ।

गुरागाईंले सुनसरी सीतागञ्जको १० कठ्ठा खेत र विराटनगर महानगरपालिका– ५ मा १० धुर जग्गामा बनेको घर बिक्री गरेर ९३ लाख रुपैयाँ सहकारीमा राखेका थिए । बचत जम्मा गरेर सहकारी सञ्चालक भागेपछि अहिले उनी रुनु न हाँस्नुको अवस्थामा छन् ।

‘घर ६३ लाखमा बेचें, सीतागञ्जको खेती पनि बेचेर सहकारीमा ९३ लाख रुपैयाँ राखेको थिएँ’ गुरागाईंले भने, ‘अहिले मसँग केही छैन ।’ उनलाई सहकारीले १४.४ प्रतिशत ब्याज दिने आश्वासन दिएको थियो । सहकारीका कर्मचारीले बचत रकम पाँच वर्षमा डबल हुने आश्वासन पनि दिएका थिए । ‘करोडपति बन्ने आशमा पैसा राखेको थिएँ’ उनले भने, ‘अहिले रोडपति भएको छु ।’

तुलसी सहकारीबाट पीडित बचतकर्ता सन्तोष गुरागाईं ।

धेरै ब्याज पाउने लोभले घरजग्गा बेचेर राखेको आफ्नो पैसा डुबेको गुरागाईं बताउँछन् । ‘घर बेचेर एभरेष्ट बैंकमा राखेको ४८ लाख रुपैयाँको चेक तुलसी सहकारीको नाममा गएको छ’ उनले भने, ‘छोरी महेन्द्र मोरङ कलेजमा पढ्दैछिन्, भविष्य के हुन्छ थाहा छैन ।’ सहकारीको पैसा फिर्ता ल्याउन पहल गर्दागर्दै आफू थाकिसकेको भन्दै गुरागाईंले भने, ‘सहकारीबाट पैसा फर्कने आश छैन ।’ सहकारीमा पैसा राख्नका लागि ६३ लाख रुपैयाँमा पक्की घर बेचेका गुरागाईं अहिले विराटनगर कोचाखालको दुई कोठे टिनको घरमा बसिरहेका छन् ।

गुरागाईं जस्तै तुलसी सहकारीबाट पीडित अर्का बचतकर्ता हुन्, टोलनाथ भट्टराई । विराटनगर महानगरपालिका– ५ का ६८ वर्षीय भट्टराईले ३५ वर्ष शिक्षण पेशाबाट कमाएको पैसा तुलसी सहकारीमा राखेका थिए । आफूले पढाएको विद्यार्थीले जोडबल गरेपछि उनी सहकारीमा पैसा राख्न राजी भएका थिए । उनका छोरा सुभाषका साथी मन्दीप खवास पनि सोही सहकारीको व्यवस्थापक थिए । भट्टराईले दुई वर्षअघि पटक–पटक गरेर ७२ लाख २३ हजार रुपैयाँ आफूले जम्मा गरेको बताउँछन् । उनलाई पनि ब्याजको लोभ देखाइएको थियो । उनलाई आफ्नै पूर्व विद्यार्थी तथा सहकारीकी कर्मचारी सुरुचि पोखरेलले सहकारीमा जोडेकी थिइन् ।

‘सुरुचि, गोग्राहा स्कुलमा आफैंले पढाएको विद्यार्थी हुन्, उनले नै घरमा आएर आफैं ग्यारेन्टी बस्छु भनेपछि विश्वासमा परेर ७२ लाख २३ हजार रुपैयाँ जम्मा गरिदिएँ’ भट्टराईले भने, ‘अहिले कोही छैनन् सम्पर्कमा ।’ ३५ वर्ष शिक्षण पेशा गरेका उनी आफ्नो जीवनभरको कमाइ सहकारीमा डुबेको बताउँछन् ।

‘तपाईंको पैसा डुब्दैन, डुब्ने भयो भने म तपाईंलाई संकेत गर्छु, तपाईं झिक्नुहोला सुरुचि भन्थिन्’ भट्टराईले भने,‘ म विश्वासमा परें, छोराका साथी मन्दीपले पनि तपाईंको पैसा डुब्दैन भन्थे ।’

पैसा डुबेपछि उनी पैसा फर्कने आशमा विभिन्न स्थान धाइरहेका छन् । केही दिनअघि सहकारीका व्यवस्थापक मन्दीप खवासलाई भेटेका थिए । पैसा राख्ने बेला नडुब्ने ग्यारेन्टी गरेका खवास आफू त कर्मचारी मात्रै हो भन्दै अहिले पन्छिने गरेको भट्टराईको गुनासो छ ।

तुलसी सहकारीबाट पीडित बचतकर्ता टोलनाथ भट्टराई ।

खवास सहित सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना दाहाल ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । सहकारीका अध्यक्ष केदार शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी काठमाडौंमा राखेको छ ।

सरकार गुहार्दै पीडित बचतकर्ता

तुलसी बहुमुखी बचत तथा ऋण सहकारी संस्थामा रकम राखेर पीडित भएकाहरुले बचत फिर्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । सहकारीको जायजेथा र सम्पत्ति बेचेर बचत फिर्ताका लागि आग्रह गरेका हुन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले सहकारीका अध्यक्ष केदार शर्मालाई तुलसी सहकारीको ठगी प्रकरणको अनुसन्धान गर्न विराटनगर ल्याउन पनि माग गरे ।

पीडित रुद्रबहादुर अधिकारीले पहिलो उजुरी विराटनगरमा परेका कारण अध्यक्षलाई विराटनगर ल्याएर पनि अनुसन्धान गर्न माग गरिएको बताउँछन् । बचतकर्तालाई प्रभावित पार्ने कर्मचारीलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरुको माग छ ।

सचिव सविना न्यौपानेले सहकारीको ४ करोड रुपैयाँ आफ्नो छोराको नाममा खोलेको नटराज एग्रो प्रालिमा लगानी गरेका कारण उनको छोरा आरभ घिमिरेलाई पनि निगरानीमा राख्न बचतकर्ताहरुले माग गरेका छन् । आरभ अध्ययनका लागि क्यानडा जाने तयारीमा छन् । उनकाे भिसा आइसकेको छ । सहकारीको रकमबाट खरिद गरेको घर सानिमा बैंक कञ्चनबारी शाखामा राखेर क्यानडा जाने प्रोसेस मिलाएको भन्दै पीडितले उनलाई विदेश जानबाट रोक्नुपर्ने माग उनीहरुको छ ।

२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय खोलेका छन् । प्रहरीले गरेको अनुसन्धान अनुसार मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालय रहेको सहकारीले २१ हजार १५४ जना बचतकर्ताबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ बचत संकलन गरेको पाइएको छ ।

सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १७८ वटा निक्षेप खाता छन् । त्यस्तै दमक शाखामा ६ हजार ९६८, गाईघाट शाखामा ३ हजार ३३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता छ । मुख्य कार्यालय र सबै शाखा कार्यालय हाल बन्द छन् ।

तुलसीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन भएको थियो ।

सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।

आर्थिक रुपमा टाट पल्टिएपछि १ फागुनदेखि सहकारीको कार्यालय बन्द छ । ठगी मुद्दामा गत २४ चैतमा जिल्ला अदालत मोरङको आदेशपछि उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवास पुर्पक्षका लागि थुनामा छन् ।

सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष केदार शर्माको ६ वटा कम्पनीमा ऋण लगानी गरेको देखिन्छ ।

सहकारीको कुल पूँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब नभेटिएको प्रहरीको दाबी छ ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?