
काठमाडौं । सौगात मल्लपछि फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । निर्माता र अभिनेता उप्रेतीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्ममा कन्फर्म भएपछि अनलाइनखबरसँग कुरा गर्दै रमेशले आफू शीर्षमध्येको एक भूमिकामा जोडिएको बताए ।
चार वर्षअघि रिलिज भएको ‘ऐश्वर्य’पछि रमेशको यो कमब्याक फिल्म हो । ‘मैले कोतपर्वको इतिहासबारे पढेको छु । मैले गर्न लागेको भूमिका निकै महत्वपूर्ण छ,’ रमेशले चरित्र चित्रणबारे भने, ‘पक्कै पनि यो रोल चुनौतीपूर्ण हो । यसका लागि हामी गृहकार्य गर्नेछौं ।’
रमेशले हालै सविन तोलांगीले निर्देशन गर्न लागेको एक अनटाइटल एक्सन फिल्म समेत साइन गरेका छन् ।
गत साता अभिनेता मल्ल पनि फिल्ममा अनुबन्धित भएका थिए । प्रमुख महिला पात्रमा अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ तर यसबारे टुंगो लागेको छैन । फिल्मको छायांकन आगामी चैतदेखि सुरु गर्ने तयारी छ । तीन वर्ष लगाएर लेखिएको भनिएको पटकथाले जंगबहादुर राणाको उदयको एक महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई चित्रण गर्ने जनाइएको छ ।
रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । छोटेलाल रौनियार र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिवचन्द्र छन् । फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामा हुन् ।
प्रतिक्रिया 4