+
+

प्रचण्ड सरकारको आयु कति ? संसदमा आफैंले गरे संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १८:२२

२५ साउन, काठमाडौं । आफ्नो विवादास्पद अभिव्यक्तिमाथि स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘म दिमागले मात्रै होइन, मनले पनि बोल्छु । म यस्तै छु त के गर्नुहुन्छ !’

यसो भन्दाभन्दै प्रधानमन्त्री प्रचण्डले फ्याट्ट एउटा कुरो फुस्काए, जो गत पुसमा प्रधानमन्त्री भएयता उनले बोलेका थिएनन् । प्रसंग थियो, उनको पदावधिको ।

यसअघि यो सरकार पाँचै वर्षसम्म टिक्ने दाबी गर्दै आएका प्रचण्डले प्रतिनिधिसभामा सोमबार भन्न पुगे, ‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने मलाई अहिले पनि छैन । त्यसैले जति समय बसिन्छ वार् फुटिङमा पहल लिनुपर्नेछ ।’

उनले यो पनि भने, ‘मैले १२–१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरुबारे पढ्थें । हाम्रोमा पनि ६ महिना, ९ महिना, १० महिना प्रधानमन्त्री भएको शृंखलाबद्ध अनुभव छँदैछ । लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने छ । मैले अरु बाँकी के नै गर्नु छ र ?’

अघिल्लो सातासम्म पनि प्रचण्ड आफू पाँचै वर्ष सरकारको नेतृत्वमा रहने दाबी गर्दै थिए । प्रचण्डले १६ असारमा पोखरामा आफू नेतृत्वको गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका थिए । प्रेस सेन्टर गण्डकी प्रदेशको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘कसैले हिलाएर हिल्ने सरकार होइन यो । कुनै भ्रम नराखे हुन्छ, तपाईं नोट गर्नुहोला मेरो नेतृत्वमा यो पाँचै वर्ष चल्छ ।’

उनले यही प्रकृतिका अभिव्यक्ति पटक पटक यस बीचमा बोलेका छन् ।

प्रचण्डको निरन्तरताबारे उनी या माओवादी केन्द्रका नेता मात्रै होइन, सत्ता गठबन्धनका अरु नेताले समेत यस्तै अभिव्यक्ति दिने गरेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही साताअघि सम्पादकहरुसँग कुरा गर्दै प्रचण्ड सरकार पाँचै वर्ष जाने दाबी गरेका थिए । ‘प्रचण्डजीको सरकारले पाँचै वर्षसम्म निरन्तरता पाउँछ, देशमा स्थिरता र विकास आउँछ’, एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले आयोजना गरेको उक्त भेलामा नेपालले भनेका थिए ।

कांग्रेस नेताहरुले पनि प्रचण्ड नेतृत्वको सरकार निर्धक्क अगाडि बढ्ने दाबी गर्दै रहे । १२ असारमा महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा नेता विमलेन्द्र निधिले भनेका थिए, ‘संविधानमार्फत संस्थागत भएको नयाँ प्रणालीलाई सही बाटोमा हिंडाउन अहिलेको गठबन्धन पाँचै वर्ष टिक्छ । सुरुवाती चरणलाई प्रचण्डजीले विना अवरोध नेतृत्व गर्नुभएको छ । त्यसपछि पनि हामी सहमतिका साथ गठबन्धनलाई निरन्तरता दिंदै अघि बढ्छौं ।’

एमालेसँगको गठबन्धन तोडेर प्रचण्डले कांग्रेस, जसपा, एकीकृत समाजवादीसँग सहकार्य गरेसँगै उनी कम्तीमा अढाइ, बढीमा तीन वर्ष प्रधानमन्त्री रहिरहने सूचनाहरु चुहिएका थिए ।

अरु केही प्रतिकूलता आए पनि कम्तीमा दुई वर्ष त नि:सन्देह उनी नै प्रधानमन्त्री रहने चर्चा हुने गर्थ्यो । उनी आफ्नो पदावधिबारे निर्धक्क पनि देखिन्थे । तर आज प्रतिनिधिसभामा बोल्ने क्रममा प्रचण्डले आफ्नो स्वभावजन्य तरिकाले भावनात्मक हुँदै ‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने मलाई अहिले पनि छैन’ भनी बोलेको कुराको अर्थ विस्तारै खुल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?