
२५ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा डा. नेत्र तिम्सिना पक्षधरले छुट्टै अधिवेशन गरेर सर्वस्मत रुपमा नयाँ समिति घोषणा गरेको छ ।
निर्विरोध निर्वाचित भएको समितिको अध्यक्षमा तिम्सिना आफैं चुनिएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरुमा पनि उनकै तदर्थ समितिका दोहोरिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन गर्न रेडक्रसलाई निर्देशन दिएको थियो । प्रशासनको पत्र अनुसार कार्यकारी निर्देशक उमेश ढकालले २७ र २८ असारमा निर्वाचन हुने गरी मातहतलाई परिपत्र गरेका थिए । निर्वाचनको बिरुद्धमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै छ ।
प्रशासनले तोकेको निर्वाचनको मितिलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादी निकटले समर्थन जनाएका छन् । तर पूर्व अध्यक्ष डा. नेत्र तिम्सिना पक्षधरले त्यसलाई अस्वीकार गर्दै एकतर्फी रुपमा अधिवेशन गरेको हो ।
तिम्सिनाको तदर्थ समितिमा रहेका महामन्त्री दिपेन्द्र ढकाल यही पदमा दोहोरिएका छन् । अदालतले दिएको अन्तरिम आदेश अनुसार आफूहरुको कार्यसमिति वैधानिक रहेको दाबी उनले गर्दै आएका थिए ।
तत्कालीन नेकपा सरकारको समयमा अघिल्लो कार्यसमितिलाई भंग गरि तिम्सिना नेतृत्वको तदर्थ समिति बनाइएको थियो । उनले समयमा निर्वाचन गर्न नसकेको भनि कांग्रेस नेतृत्वको पूर्व सरकारले सुदर्शन नेपाल अध्यक्ष रहेको तदर्थ समिति बनाएको थियो । देउवा सरकारले गरेको निर्णय बिरुद्ध अदालत गएका तिम्सिनाले अन्तरिम आदेश पाएर पदमा कायम रहे ।
पछिल्लो कार्यकालमा पनि निर्वाचन गर्न नसकेको भनी दोस्रोपटक बर्खास्त परेका तिम्सिना पुन अदालत गएर अन्तरिम आदेश ल्याएका थिए । सरकारले नेपाल नेतृत्वको तदर्थ समितिलाई मान्यता दिने र अदालतले तिम्सिना पक्षलाई काम गर्न नरोकेपछि विवाद झनै बढेको थियो ।
प्रतिक्रिया 4