
काठमाडौं । नेपाल-अफ्रिका फिल्म फेस्टिभल-२०२३ सम्पन्न भएको छ । नेपाली फिल्मतर्फको प्रतिस्पर्धामा दिनेश राउत निर्देशित ‘प्रकाश’ सर्वश्रेष्ठ बन्दा अफ्रिकी फिल्मतर्फको प्रतिस्पर्धामा लिसिनियो एजेभेदो निर्देशित मोजाम्बिकको ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ले सर्वश्रेष्ठ फिल्म घोषित भयो ।
विजयी फिल्मलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटासहितले अवार्ड प्रदान गरे । अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो फिल्म ‘या’बाट इसी ह्यामोहले जुरी अवार्ड प्राप्त गरिन् । उत्कृष्ट अफ्रिकी डकुमेन्ट्री विधामा जिम्बाबेको ‘कलिङ द डेड’ सर्वश्रेष्ठ बन्यो ।
नेपाली प्रतिस्पर्धातर्फ फिल्म ‘प्रकाश’बाट विकास सुवेदी सर्वश्रेष्ठ पटकथा लेखक, सोही फिल्मको पार्श्व गीत ‘मान्छे मान्छे’बाट एलिश कार्कीले सर्वश्रेष्ठ संगीतकारको अवार्ड प्राप्त गरे ।
सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘प्रेमगञ्ज’बाट तेज गिरीले जिते । अभिनेतृतर्फ नीता फिल्म ‘भाग्य’बाट नीता ढुंगानाले अवार्ड जितिन् । ‘भाग्य’बाटै रोशनकुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशक, अभिनेता यशराज गराचले जुरी अवार्ड, सुनिल कटुवालले सहअभिनेताको अवार्ड जिते ।
सहअभिनेत्रीतर्फ फिल्म ‘परिवार’बाट बसुन्धरा भुसाल, हुक्काबाट कृष्णबहादुर थापालाई छायांकन, फिल्म परिवर्तनबाट वीरेन्द्र भाटलाई सम्पादन, छोटो फिल्म विधातर्फ प्रद्युम्न मिश्र निर्देशित ‘दुविधा’, डकुमेन्ट्री विधातर्फ रोशनी केसी निर्देशित ‘समर्पण’, उत्कृष्ट विद्यार्थी फिल्म विधामा नेपाल फिल्म क्याम्पसका सामलकुमार बज्राचार्यले ‘हावाम्यान’बाट प्राप्त गरे ।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्ड र लक्षण क्रियसनको सहआयोजनामा फेस्टिभल भएको हो । यसपटकको संस्करणमा ११ अफ्रिकी मुलुकका १२ गरी कुल २२ फिल्मको स्क्रिनिङ गरियो । महोत्सवको दोस्रो दिन आयोजित सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको फिल्मकर्मीबीच अन्तरक्रिया समेत गरिएको थियो ।
समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा संगीतकार बास्कोटाले यस्तो अन्तर्राष्ट्रिय महोत्सवलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले एउटा फरक अन्तर्राष्ट्रिय फिल्म महोत्सवका रुपमा नेपाल-अफ्रिका फिल्म फेस्टिभल भएको बताए ।
आयोजक संस्था कलेज अफ जर्नालिजमकी प्रिन्सिपल तथा फेस्टिभल निर्देशक मञ्जु मिश्रले अफ्रिकाले आफूहरुलाई बेवास्ता गर्दा पनि नेपालमा महोत्सव गर्दै आइरहेको बताइन् । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिब सविन श्रेष्ठ, कोशी प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले नेपालमा बसेर फिल्मलाई प्रेमीलाई अफ्रिकी फिल्मको स्वाद यो महोत्सवले पस्किएको बताए ।
प्रतिक्रिया 4