
काठमाडौं । के टम क्रुजले यस यामको बक्स अफिसलाई जोगाउन सक्छन् ?
‘फ्ल्यास’, ‘इण्डियाना जोन्स डायल अफ डेस्टिनी’जस्ता ठूला फ्रेन्चाइजी फिल्मले अपेक्षाअनुसार कमाइ गर्न नसक्दा हलिउडको ग्रीष्मकालीन घरेलु बक्स अफिसको कमाइ २.१ बिलियन डलर मात्र पुगेको छ । यो तथ्यांक गत वर्षको मे १ देखि जुलाई ९ सम्मको भन्दा ६ प्रतिशतले कम हो ।
यतिबेला सबैको ध्यान फ्रेन्चाइजीमध्येमै सर्वोत्कृष्ट समीक्षा प्राप्त गरेको ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’तर्फ सोझिएको छ । आगामी शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको यो फिल्मले विश्वव्यापी २५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण डेडलाइन हलिउड म्यागजिनले गरेको छ ।
जसमा ९० मिलियन डलर घरेलु र १६० मिलियन डलर अष्ट्रेलिया, ब्राजिल, चीन, फ्रान्स, जर्मनी, इटाली, कोरिया, मेक्सिको, स्पेन, ताइवान र बेलायतसहितका ७० अन्तर्राष्ट्रिय बजारबाट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । विश्व फिल्मको बक्स अफिस सूचक मानिने रटन टम्याटोजमा कीर्तिमानी ९८ प्रतिशतको रेटिङ र अभिनेता क्रुजको अघिल्लो ब्लकबस्टर ‘टपगन माभेरिक’को प्रभावको कारण ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखलाले विश्वभर नै उत्कृष्ट ओपनिङ गर्ने अनुमान गरिएको हो ।
‘डेड रेकनिङ’ क्रुजको ओस्कार विजेता फिल्म निर्माता क्रिस्टोफर म्याक्वेरीसँगको चौथो फिल्म हो । यसअघि यी दुईले मिसन मिसन, रग नेसन र फलआउटमा पनि सहकार्य गरेका छन् । २५० मिलियन डलरको ओपनिङले पुनः एकपटक अभिनेता क्रुजलाई अर्को ब्लकबस्टरको रुपमा कीर्तिमान तय गर्ने काम गर्न सक्छ । टपगन माभेरिकले तीन दिनमा २५६.४ मिलियन डलरको ओपनिङ गरेको थियो ।
भारतमा पनि यो फिल्मले जबर्जस्त ओपनिङ गर्ने अपेक्षा गरिएको छ । हिन्दी, अंग्रेजी, तमिल र तेलुगूमा रिलिज हुन लागेको यो फिल्मले भारतमा मात्र पहिलो सप्ताहन्तमा ६० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण छ ।
प्रतिक्रिया 4