+
+

असार २७ गतेदेखि गर्ने भनिएको रेडक्रस सोसाइटीको निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १७:३१

२६ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले निर्वाचनका कार्यक्रम रोकेको छ । असार २७ र २८ का लागि तोकिएको निर्वाचन अदालतको आदेश अनुसार रोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीलाई पत्र लेखेर निर्वाचन गर्न आदेश दिएको थियो । प्रशासनको पत्र अनुसार निर्वाचन गर्ने तयारीमा संस्था रहेको थियो ।

निर्वाचनको विरुद्धमा रेडक्रसका आजीवन सदस्य इश्वरीप्रसाद दाहालले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले २७ र २८ गते गर्ने भनिएको निर्वाचनका काम कारबाही हाल जुन अवस्थामा रहेको छ, यथास्थितिमा राख्न  सोमबार आदेश दिएको छ ।

अदालतको आदेश अनुसार कार्यकारी निर्देशक उमेश ढकालको नेतृत्वमा बसेको संस्थाको बैठकले निर्वाचन रोक्ने निर्णय गरेको छ । ‘अदालतले यथास्थानमा राख्न भनेकाले भोलि र पर्सिको लागि तोकिएको निर्वाचन स्थगित गरेका छौं,’ रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले भने ।

दुई पक्षका कारणले विवादमा परेको संस्थामा दुबै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा रेडक्रसको तदर्थ समितिको अध्यक्ष बनेका डा. नेत्र तिम्सिना पक्षधरले सोमबार छुट्टै निर्वाचन गरेको छ । तिम्सिनाको नेतृत्वमा सर्वसम्मत नयाँ समिति गठन गरिएको छ ।

तदर्थ समितिविहीन बनेको संस्थाले प्रशासनको पत्र अनुसार बुधबार र विहीबारका लागि निर्वाचन तोकेको थियो । संस्थाले गर्न लागेको निर्वाचनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?